आइतबार, २३ भदौ २०८१

फ्रान्सकै ठूलो पत्रिका लेख्छ : राजनीतिक अस्थिरतामा नेपाल ‘विश्व च्याम्पियन’

‘नेपालको पछिल्लो इतिहासमा चिजहरू जति धेरै बदलिन्छन्, उति नै धेरै उस्तै रहन्छन्,’ ‘ले मोन्डे’ ले लेखेको छ ।

काठमाडौं  : ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भन्ने शीर्षकमा फ्रान्सको सबैभन्दा ठूलो दैनिक पत्रिका ‘लि मोन्ड’ ले समाचार प्रकाशित गरेको छ ।

मंगलबार प्रकाशित उक्त समाचारको ‘लिडलाइन’ मै पत्रिकाले ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ,’ भन्ने उल्लेख छ ।

प्रधानमन्त्रीका रूपमा आइतबार सपथ खाएका केपी शर्मा ओली विगत १५ वर्षमा बनेका चौधौं प्रधानमन्त्री रहेको ‘लि मोन्ड’ ले लेखेको छ ।

नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछिका उनी ३०औं प्रधानमन्त्री हुन् । यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिन्छ भन्ने हो । ३ करोड जनसंख्या भएको सानो हिमाली गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको भन्दै पत्रिकाले व्यंग्यवाण समेत प्रहार गरेको छ ।

‘नेपालको पछिल्लो इतिहासमा चिजहरू जति धेरै बदलिन्छन्, उति नै धेरै उस्तै रहन्छन्,’ लि मोन्डले लेखेको छ । युरोपेली शैलीको सामाजिक प्रजातान्त्रिक सिद्धान्तमा विश्वास गर्ने पार्टी एमाले नेता ओली सन् २०१५ पछि चौथोपटक देशको नेतृत्वमा फर्किएको उसले उल्लेख गरेको छ ।

‘उनले प्रतिस्थापन गरेका पूर्वमाओवादी गुरिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल सन् २००९ पछि तेस्रोपटक प्रधानमन्त्री भएका थिए,’ समाचारमा छ ।

नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात चक्मा दिने खालको रहेको समाचारमा उल्लेख छ ।

‘उदाहरणका लागि कम्युनिस्टहरू कहिले वर्षौंदेखिका शत्रुतापूर्ण सम्बन्ध रहेको चरम राजतन्त्रवादीसँग गठबन्धन गर्छन्,’ ले मोन्डेको समाचारमा छ, ‘पूर्वप्रधानमन्त्री दाहालले यसअघि दशकौंदेखि सबैभन्दा भयंकर विरोधी रहेको नेपाली कांग्रेससँग गठबन्धन गरेका थिए ।’ अनलाइनखबर

प्रतिक्रिया दिनुहोस