बिहिबार, ०३ असोज २०८१

बुढीगंगाको बार्षिक प्रगती समीक्षा : ९१ प्रतिशत बजेट खर्च, खेल क्षेत्रमा सफलता

बाजुरा : बुढीगंगा नगरपालिकाले गएको आर्थिक वर्षमा ९१ प्रतिशत बजेट खर्च गरेको प्रगती देखाएको छ । पालिकाले आयोजना गरेको बार्षिक प्रगति समीक्षा तथा सम्मान कार्यक्रममा पालिकाले गएको वर्ष चालु तर्फ ९१ र पुजिँगत तर्फ ९० प्रतिशत बढी बजेट खर्च गरेको देखाएको छ । 

पालिकाका कर्मचारी र सीमित सरोकारवालाको सहभागितामा प्रगति समीक्षा आयोजना गरिएको हो । ०८०/०८१ मा पालिकाले १ सय ३३ वटा आयोजना सञ्चालन गरेको थियो । जसमा २ लाख भन्दा रकमका ५२ वटा, २ देखि ५ लाख सम्मका ६३ वटा, ५ देखि १० लाख सम्मका १३ वटा र १० देखि ५० लाख सम्मका ५ वटा आयोजना सञ्चालन समीक्षा कार्यक्रममा जानकारी गराइएको छ ।

कुल ६२ करोड १२ लाख ४८ हजार बजेटमा खर्च ५५ करोड ५१ लाख ३१ हजार जुन कुल बजेटको ८९.३५ प्रतिशत खर्च भएको देखाएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ मा शिक्षा तथा युवा खेलकुदमा बढी खर्च देखाएको छ । र खेलकुद क्षेत्रमा उल्लेख्य उपलब्धी भएको देखाएको छ । 

पालिकाले गएको वर्ष ७ वटा विद्यालयको तह घटुवा गरी शिक्षक दरबन्दी र विद्यालय समायोजन समेत गरेको छ । पालिका भित्रका सबै सामुदायिक विद्यालयमा कक्षा ३, ५, ८ र १० मा अंग्रेजी, गणित, विज्ञान विषयहरूको उपचारात्मक कक्षा सञ्चालन गर्दा शैक्षिक उपलब्धी वृद्धि भएको बताएको छ । 
राष्ट्रिय खेलकुद परिषद्सँगको सहकार्यमा १५ दिने खेल प्रशिक्षण तालिम सञ्चालन गरेको, एक विद्यालय एक खेलकूद शिक्षक उत्पादन गरिएको, जसका कारण रनिग शिल्डमा बुढीगंगाले १३ वटा पदकहरू जित्न सफल भएको प्रगतीमा राखिएको छ । पालिकामा स्थानीय स्काउट गठन गरिएको समेत प्रगती विवरणमा उल्लेख छ । 

बुढीगंगाले ५ सय ६८ जना बालबालिकालाई शैक्षिक सामाग्री र विद्यालय पोशाक तथा ७७ जनालाई नगद सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।  १९ वटा विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिएको छ । ५ सय जना युवाहरूलाई लागु औषध नियन्त्रणको अभियानहरूमा सहभागि तथा प्रशिक्षण गरिएको बताएको छ । 

विद्यालय तथा नगरस्तरीय परीक्षा व्यवस्थापन गरिएको, विद्यालयको शैक्षिक तथ्याङ्क अद्यावधिक गरिएको र ८४ जना शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गरिएको विषयलाई पनि प्रगति समीक्षामा राखिएको छ । 

शैक्षिक क्यालेण्डर, शिक्षक डायरी, विद्यार्थी गृहकार्य डायरी, निरन्तर मूल्याङ्कन अभिलेख पुस्तिका प्रकाशन गरी कार्यान्वयन गरिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् । बाजुरा स्वास्थ्य चौकी टाँटेमा एमबिबिएस डाक्टरको व्यवस्थापन गरिएको, जटिल रोगहरू निदानको लागि बिरामीहरूलाई स्वास्थ्य उपचारमा सहयोग र आर्थिक रूपमा विपन्न बिरामीहरूलाई आर्थिक सहयोग गरिएको छ । 

देवलसैन स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सुचारू गरिएको छ भने धुरालसैनमा बर्थिङ सेन्टर सुचारू गरिएको छ । पालिकाका ५ वटा ठाँउबाट टेलिमेडिसिन सेवा संचालन गरिएको छ । स्वास्थ्य र आँखा शिविरबाट हजार बढीले सेवा लिएको प्रगतीमा देखाइएको छ । 

कृषि, सहकारी र पशुपालनका क्षेत्रमा नगरपालिकाले २ हजार ५ सय जना कृषकलाई मल, ५ सय जनालाई मौसमी बिउँबिजन, १ हजार ५ सय जनालाई हाइब्रिड बिउँ, ६ सय ४२ जनालाई आलु तथा गहुँको बिउँ, ६ जना किसानलाई साना सिँचाइका सामाग्रीहरू अनुदान स्वरूप प्रदान गरिएको बताएको छ । १८ जना उत्कृष्ट कृषकलाई पुरस्कार र करिव १५ हजार कागती, एभोगार्डो लगायतका विरुवा पनि वितरण गरिएको छ । 

एक वडा दुई प्राविधिक कार्यक्रम लागु गरी प्रत्येक वडामा २ जना कृषि र पशु प्राविधिक परिचालन गरिएको र विभिन्न ४ ठाउँमा कृषि पाठशाला सञ्चालन गरी १ सय कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोडिएको छ भने ९ सय ५० जना कृषकहरूलाई सूचीकरण गरिएको नगरपालिकाले जनाएको छ ।
सिँचाइ, विद्युत तथा खानेपानी तर्फ साझेदार संस्थाहरूको साझेदारीमा सिँगाडा र बानेगाउँमा लिफ्ट सिँचाइ सञ्चालन गरिएको छ भने सराप्लामा लिफ्टिङ खानेपानीको व्यवस्थापन गरिएको छ । विभिन्न ६ ठाउँमा साना सिँचाइ प्रवद्र्धन गरिएको छ भने सिँगाडा र नुवाघरमा सिँचाइ कुलो निर्माण गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको सहयोगमा बुढीगंगा–५, नुवाघरमा १ घर १ धारा कार्यक्रम सुचारु गरिएको नगरपालिकाले जनाएको छ ।

महिला, बालबालिका तथा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, अन्तराष्ट्रिय महिला दिवस जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकहरूको आरोग्यताका लागि ३६ जना ज्येष्ठ नागरिकहरूलाई वैद्यनाथ धाम तीर्थयात्रा, १० वटा वडाहरूमा सामुदायिक मनोसामाजिक विमर्शकर्ता खटाई लैंगिक हिंसा रोकथाम सम्बन्धी ८ हजार ५ सय ७६ जनालाई अभिमुखीकरण गरिएको विषयलाई समेत पालिकाले प्रगतीमा उल्लेख गरेको छ । 
 
२ सय ३६ वटा लैङ्गिक हिंसा प्रभावितहरूको पहिचान गरी ४२ जनालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत सेवा प्रदान गरिएको र बुढीगंगा नगरपालिकाका १० जना हिंसा पीडित महिलाहरुलाई प्रति महिला २० हजार बरावरका बाख्रा सहयोग गरिएको, उपप्रमुख महिला लक्षित कार्यक्रम अन्तर्गत २० जना हिंसा पीडित महिलाहरूलाई आयआर्जनका लागि उन्नत जातका बाख्रा सहयोग गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ सय २ जना बेरोजगारहरूलाई सय दिनको न्यूनतम रोजगारी सुनिश्चित गरी राज्यले तोकेको न्युनतम ज्याला प्रदान गरिएको छ । २० वटा श्रममा आधारित आयोजनाहरूको निर्माण गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । उनका अनुसार भुकम्पबाट क्षतिग्रस्त घरधूरीका लागि ४ सय १ वटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ । भने मनसुनजन्य विपदबाट प्रभावित १९ घरपरिवारको बासस्थान निर्माण कार्य जारी रहेको जनाएको छ ।

नगर प्रमुख रामबहादुर बाँनीयाको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य हिक्मत थापा, उपप्रमुख माया कुँवर सहीत सहभागि थिए । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले प्रगति विवरण पेश गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस