बिहिबार, ०३ असोज २०८१

तीन कार्यकाल बानेश्वरको बसाईपछि बद्री पाण्डेको सिंहदरबार प्रवेश

तीनदशकको राजनीतिक यात्रा विद्यार्थी नेता देखि मन्त्रीसम्म

बाजुरा : जतिबेला नेपालीमा व्यवस्था परिर्वतनको आन्दोलन चल्दै थियो । त्यति बेला वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई समिति सदस्य थिए, बद्री पाण्डे । उमेर मात्रै १८ वर्ष पुगेको थियो । त्यो बेला देखि नै राजनीतिमा खरो स्वभावका साथ प्रस्तुत हुने शैली र संघर्षले विद्यार्थी माझ जमिसकेका थिए, पाण्डे । 

२०४७ को परिर्वतन पछि २०४८ साल बैशाख २९ गते प्रतिनिधी सभाको निर्वाचन तोकियो । त्यो बेला पार्टीको चुनाव केन्द्रीत हुने निर्देशनसँगै पाण्डेपनि प्रचारका लागि खटिए बाजुरा । नेपालगन्जसम्म जहाजमा । त्यहाँबाट पैद लै । झोला, पर्चा बोकेर हिँडेको पाण्डेलाई अझै सम्झना छ । नेपालगञ्ज हुँदै सुर्खेतको बाटो भएर पाण्डे, बाजुरा पुगे । 

जुन बेला २७ वर्षको उमेरमा नेपाली काँग्रेसको तर्फबाट देवराज जोशी उम्मेदवार थिए । र चुनाव जोशीले नै जिते । पाण्डेको जन्मघर नै बाजुराको सर्वाधिक विकट मानिने रुगीनको फैती, हालको हिमाली गाउँपालिका ५ मा हो । देशकै दुर्गम गाउँबाट सुरु गरेको राजनीतिक जीवनको तीन दशक पछि तीनै पाण्डे देशको मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । 

२०७० सालको दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सांसद बनेका पाण्डे, र २०७४ मा राष्ट्रिय सभाका सदस्य थिए । २०७९ मा भने प्रत्यक्ष तर्फको निर्वाचन जितेका हुन् । तीन पटक सांसद बनेर पनि मन्त्री बन्न नसकेको आरोपबाट पाण्डे यो पटक मुक्त भएका छन् । 

नेपाली काँग्रेसको सहमहामन्त्री र शेखर गगन समूहको प्रभावशाली नेता भएर पनि मन्त्री नै बन्न नपाएकोमा आफै खिन्न जस्तै थिए । अब त्यो सपना पुरा भएको छ । पार्टीमा पनि प्रभावशाली पद, तीन÷तीन पटक सांसद सबैलाई प्रश्न नै थियो, काँग्रेस पटक पटक सरकारमा जाँदा पनि किन मन्त्री बन्दैनन् । यो पटकपनि मिडिया सुरुमा पाण्डेको चर्चा नै थिएन्, जब सपथ ग्रहण समारोह सुरु हुन थाल्यो, पाण्डेपनि मन्त्री हुने गरि सिफारिस भए । 

पाण्डेले यो पटक केपी ओली नेतृत्वको सरकारमा सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको सपथ ग्रहण गरेका छन् । जुन सरकार काँग्रेस एमालेको गठनबन्धमा बनेको हो । तीन कार्यकालको बानेश्वर बसाइलाई विट मार्दै पाण्डेले सिंहदरबारको यात्रा प्रारम्भ गरेपनि लामो समय निराश बनेका कार्यकर्ता खुसी भएका छन् । 

बाजुराले जित्ने, तर मन्त्री नपाउने निराशा पनि आश जगाएका छन्, पाण्डेले । पाण्डेले सुरुमा राजनीतिसँगै क्यासिनोमा जागिर खाए । २०४८ सालको निर्वाचनमा काँग्रेसले बहुमत ल्यायो । हालका काँग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री भए । तस्नै देउवाले पाण्डेलाई कलेज पढ्दै गर्दा खर्च व्यवस्थापन गर्ने गरि क्यासिनोमा जागिर लगाए । तालिम पनि गरे, तर राजनीतिकै व्यवस्तताले जागिर खान पाएनन् । बीचमा मिडियासँग पनि पाण्डे आवद्ध भए । 

२०४९ तिर फेरि देउवाले नै रेडियो नेपालको घटना र विचारमा जान सुझाए । जतिबेला कार्यक्रम सञ्चालक थिए– कृष्ण कँडेल । तर रेडियो नेपाल पनि जान पाएनन् ।  समयमै राजनीतिमै दिए । लामो समयपछि २०५९ मा भने मिडियामा काम गर्ने इच्छा पाण्डेको इच्छा पुरा भयो । इमेज रेडियोमा दुई वर्ष र इमेज टिभीमा ६ महिना काम समेत गरे । त्यतिबेला पाण्डे नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका थिए ।

२०६१ माघ १९ मा राजाले शासन सत्ता हातमा लिएपछि मिडियामा हस्तक्षेप गरे । त्यसपछि पाण्डेले चलाउने आजको सन्दर्भ कार्यक्रम नै बन्द गरे । पढाइ र राजनीतिलाई सँगसँगै बढाए पाण्डेले गाउँको शैलेश्वरी प्राविबाट शैक्षिक यात्रा सुरु भयो । ५ कक्षासम्म त्यही पढे पढाइ । त्यसपछि उनी ठूला बुवाका छोरा दाजु लालकेशर पाण्डेसँग लागे र मुगुको सदरमुकाम गमगढी गए । 

लालकेशरको जागिर मालपोतमा थियो । गमगढीमै महाकाली माविमा भर्ना भए र ८ कक्षासम्म पढे । त्यसपछि दाजुको सरुवा भयो । अनि बाजुराको जनप्रकाश मावि कोल्टीमा केही समय पढे । लालकेशरले नै उनलाई तीनधारास्थित संस्कृत छात्रावासमा पढाइको व्यवस्था गरिदिए र संस्कृत मावि रानीपोखरीमा भर्ना भए । त्यहीँबाट एसएलसी पुरा गरे । प्रवीणता र स्नातक वाल्मिकी क्याम्पसबाट पुरा गरे । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पाण्डे हाल पिएचडीका विद्यार्थी हुन् ।

बहुदलपछि फूल मन्त्री बन्ने पाण्डे बाजुराको दोस्रो 

पञ्चालयती व्यवस्थापन बाजुराबाट फूलमन्त्री पहिलो पटक प्रकाशबहादुर सिंह बनेका हुन् । सिंह राजाको पालामा गृह मन्त्री समेत भए । उनी बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाका हुन् । बाजुराबाटै निर्वाचन लड्ने गरेका थिए । पछि २०५६ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला जनकराज गिरी भूमि सुधार सहायक मन्त्री भए । निर्वाचन जितेर पहिलो पटक गएका गिरी, सुरुमै मन्त्री बन्ने पहिलो बाजुराली हुन् ।

त्यो पछि बाजुराले लामो समय कुनै पनि क्याविनेट मन्त्री पाएन् । मन्त्रीका लागि २०७१ सालसम्म कुर्नु पर्ने भयो । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेका नेता कर्णबहादुर थापा विजयी भए । थापा पनि पहिलो पटक संसद भवनमा प्रवेश गरे । सोही पटक मन्त्री बन्न सफल भए । त्यो बेला पनि काँग्रेस एमालेकै सयुक्त सहकार्यको सरकार बनेको थियो । काँग्रेस पहिलो र एमाले दोस्रो दल थियो । शुशिल कोइराला प्रधानमन्त्री भएको बेला थापा उद्योग मन्त्री भए । 

त्यसपछि बाजुराबाट नेकपा माओवादी केन्द्रका नेता कर्णबहादुर विक वाणिज्य तथा आपूर्ति राज्य मन्त्री भए । बीचमा फेरि बाजुराले मन्त्री पाएनन् । यो पटक केपी शर्मा ओली नेतृत्वको काँग्रेस एमाले सहीतका दलको सयुक्त सरकारमा पाण्डे फूल मन्त्री बने । बहुदलपछि क्याविनेटमै फूल मन्त्री पाउनेमा कर्णबहादुर थापा र बद्री पाण्डे हुन् । थापा अहिले एमाले स्थायी कमिटी सदस्य हुन्, भने पाण्डे सहमहामन्त्री हुन् । 

विद्यार्थी राजनीतिले स्थापीत बद्रीको व्यक्तित्व 

पार्टी राजनीतिमा पाण्डेले जिल्ला तहको कुनै पदको लोभ गरेनन् । २०५०।५१ तिर बाजुरा नेविसंघको नेतृत्व सम्हाले पछि काठमाडौं, केन्द्रीत बनेपछि उतै विद्यार्थी राजनीतिमा प्रभाव जमाए । २०५६ मा नेविसंघको केन्द्रीय सदस्य बनेका हुन्, पाण्डे । त्यो पनि गाउँ छेउमै पर्ने कर्णाली नदीको किनारामा गाईबस्तु चराउदैं गरेको बेला घटना र विचारमा नाम आयो, नेता बन्यो भनेर भन्ने कुरा अरुले सुनाएको स्मरण पाण्डेसँग छ । 

राम्रो वाक क्षमता । धेरै जना बोल्दा पनि आवाज सुनेर प्रभावित हुने शैली पाण्डेसँग छ । निरन्तर सक्रिय भएर विद्यार्थी आन्दोलनमा खटिनु अर्को सबल पक्ष हो, पाण्डेको । जुन सक्रियताकै परिणाम स्वरुप २०५९ मा नेविसंघको उपाध्यक्ष भए । पाण्डेको रहर नेविसंघ हाँक्ने थियो । तर त्यो रहर भने पूरा भएन । २०६४ को नेविसंघको १० औं महाधिवेशनमा उनी प्रदीप पौडेलसँग पराजित भए ।

आज प्रदीप पौडेल र पाण्डे एउटै क्याविनेटमा सँगै सपथ लिएका छन् । उ बेलाका प्रतिस्पर्धी पौडेल र पाण्डे यो बेला भने एउटै खेमाबाट मन्त्रीमा सिफारिस भएका हुन् । पाण्डे पहिलो पटक २०६७ सालमा पार्टी राजनीतिमा प्रत्यक्ष प्रवेश गरेका हुन् । त्यो बेला उनी कांग्रेसको महासमिति सदस्य बने ।

त्यही वर्ष नेपाली कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । कांग्रेसको १३ औं महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए । हाल सहमहामन्त्री छन् । तीन दशकदेखिको राजनीतिक यात्रा, तीन कार्यकाल सांसद बनेको अनुभवलाई पाण्डेले मन्त्री बनेर प्रयोगमा ल्याउन सके थप चर्चा बलुल्ने छन् । 

बद्रीका लागि बाजुरा बदल्ने अवसर 

पाण्डे सामु चुनौतिका पहाड नै छन् । भोक, गरिबी, अभाव र विकटता के हो, त्यो सबकुरा आफै भोगेका पात्र हुन्, पाण्डे । पाण्डे जन्मेको पालिका, अर्थात गाउँ नै बाजुराको सर्वाधिक विकट मध्येकै एक हो । जहाँ अहिलेपनि विजुली छैन् । सडक बाटो पुगेको छैन् । विद्यालय देखिका संरचनाहरु सुविधायुक्त बन्न बाँकी छ । स्वास्थ्य सेवाको अवस्था त्यस्तै छ । टेलिफोन र इन्टरनेटको समस्या सुनाएर साध्य नै छैन् । सदरमुकामसम्मको पहुँच समेत नपुगेको क्षेत्रका नेता हुन् । 

आफूले बुझेको, भोगेको र अनुभव गरेको कुरालाई आत्मसाथ गरि जिल्लाको विकासमा योगदान पुर्याउन सक्ने पाण्डेका लागि यो भन्दा अर्को अवसर नै हुदैन् । दुई कार्यकाल सांसदकै पदमा अल्झिए, बल्ल पाण्डेले मन्त्री पद पाएका छन् । बाजुराका समस्या सुनाइ साध्य छैन् । अर्को जिल्लाको भूगोल जस्तै लाग्ने कोल्टी क्षेत्रमा इलाका प्रशासन समेत राख्न सकिएको अवस्था छैन् ।

नुन चामलको अभावले बेला बेला चर्चा पाउने गरेकै छ । सदरमुकाम देखि कोल्टी कवाडीसम्मको बाटो तीन अढाइ दशक देखि अधुरै छ । करिब दुई तिहाइको सरकारका मन्त्री, त्यो पनि संसदमा पक्ष विपक्षमा जुहारि खेल्ने ठूला दलको सहकार्यमा बनेको सरकारका बलिया मन्त्री हुन्, पाण्डे । 


पाण्डेले २०७९ को निर्वाचन लड्ने बेला नै बिशिष्ठ श्रेणीमा पास हुने गरि विकास गर्ने बाचा गरेका थिए । सांसद हुँदा पाण्डेको धेरै आलोचना भयो, कामै गर्न सकेनन्, भन्ने कुराले पार्टी भित्र र बाहिर नै आलोचना गरियो, अब मन्त्री बनेपछि त्यो कुराको संवोधन हुनेमा नेता कार्यकर्ता भने आशावादी देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस