बिहिबार, ०३ असोज २०८१

१८ महिनामा ढल्यो प्रचण्ड सत्ता : ९९ प्रतिशतबाट २४ मा सीमित !

अब सत्ताको प्राप्तिको बाटो सिधा छैन, सडकमा जान एजेन्डा छैन

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौँ पटकमा संसदबाट विश्वासको मत गुमाएका छन् । सरकारमा सहभागी दल एमालेले असार १९ गते समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

प्रचण्डले संविधानको धारा १००९२० बमोजिम शुक्रबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । संसदमा कुल उपस्थित सांसदमध्ये विश्वासको मतको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीका गरी ६३ जना सांसदले मत दिएका थिए । यो कुल खसेको मतमध्ये २४।४१ प्रतिशत मत हो ।

विश्वासको मतको विपक्षमा उपस्थित २५८ मध्ये १९४ जनाले मतदान गरे । तटस्थमा जम्मा १ मत परेको थियो । प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै प्रचण्डको सत्ता यात्रा टुङ्गिएको छ ।

असार १७ गते मध्यराति कांग्रेस र एमालेबिच संविधान संशोधनसहित आलोपालो सरकार बनाउने सहमति भएपछि सत्ताको खेलबाट प्रचण्ड बाहिरिएका हुन् ।

२०७९ साल पुस ११ गते एमालेसहित ६ दलको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री भएका उनले साढे १८ महिनामा पाँचौँपटक विश्वासको मत लिएर रेकर्ड राखेका छन् । यस अवधिमा प्रचण्डले सबैभन्दा ठुलो दल कांग्रेससँग एक पटक र दोस्रो ठुलो दल एमालेसँग दुई पटक सत्ता सहकार्य गरेका थिए । पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा उनले संसदका कुल उपस्थित सांसदमध्ये ९९।२५ प्रतिशत मत पाएर रेकर्ड राखेका थिए । पाँचौँ पटकमा आइपुग्दा ७५।५२ प्रतिशत मत गुमाएर सत्ताबाट बर्हिगमन भएका छन् ।

प्रचण्डले पहिलोपटक विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दा पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।

त्यसबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।

तर राष्ट्रपतिको निर्वाचनपूर्व फागुन १२ गते दुई महिनामै एमालेसँग सहकार्य तोडेका उनी पुरानै गठबन्धनमा फर्किएका थिएँ । त्यतिबेला एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित सङ्ख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४।१८ प्रतिशत मत पाए ।

दोस्रो पटक प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।

फेरि एमालेसँग मिलेर २०८० फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेपछि तेस्रो पटक फागुन ३० गते प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई संसदमा १५७ जनाले मत दिए । तत्काल उपस्थित सङ्ख्या २६८ मध्ये उनले ५८।५८ प्रतिशत मत पाएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा उनले पहिलो पटकको तुलनामा ४०।६७ प्रतिशत र दोस्रो पटकको तुलनामा ५।६ प्रतिशत कम मत पाएका थिए ।

उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका थिए ।

प्रमुख विपक्षी दल कांग्रेस, लोसपा, जनमत पार्टी, नेमकिपाले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय जनमोर्चा मत विभाजन प्रक्रियामा सहभागी भएन ।

त्यसअघि प्रचण्डलाई साथ दिएका नाउपाबाहेक लोसपा, राजमो, जनमत पार्टीले तेस्रो पटकको विश्वासको मतमा साथ दिएका थिएनन् ।

सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि जेठ ७ गते चौथो पटक प्रचण्डले विश्वासको मत पाएका थिए । त्यतिबेला उनले १५७ मत पाएका थिए । उनलाई त्यतिबेला एमाले, माओवादी, रास्वपा, जसपा, नाउपा, जनमत पार्टी लगायतले समर्थन गरेका थिए । सबैभन्दा ठुलो दल कांग्रेसले विश्वासको मतसम्बन्धी प्रस्ताव बहिस्कार गरेको थियो । रातोपाटी 

प्रतिक्रिया दिनुहोस