बिहिबार, ०३ असोज २०८१

सुदूरपश्चिम सरकारको ६३ प्रतिशत बजेट खर्च, असारमा मात्रै ६ अर्ब बढीको भुक्तानी

बाजुरा : चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेश सरकारले ६३ प्रतिशत बजेटमात्र खर्च गरेको छ । सरकारले चालु आवको लागि विनियोजन गरेको २९ अर्ब २८ करोडको १८ अर्ब ६२ करोड २५ लाख अर्थात् ६३.५९ प्रतिशत खर्च गरेको हो ।

सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीका अनुसार चालुतर्फ ११ अर्ब ९६ करोड विनियोजन गरेकोमा ८ अर्ब ५१ करोड खर्च भएको छ । पुँजीगत तर्फको १७ अर्ब २५ करोडमध्ये १० अर्ब ५७ करोड बजेट खर्च भएको जोशीले बताएका छन् । 

प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा कुल बजेटको ६६ प्रतिशत बजेट खर्च गरेको थियो । जेठ मसान्तसम्म सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ४४ प्रतिशतको हाराहारीमा थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ महिनामा चालु र पुँजीगततर्फ गरेर १२ अर्ब ९८ करोड बजेट खर्च भएको थियो ।

एक महिनाको अवधिमा खर्च प्रतिशत ४४ बाट बढेर ६३.५९ प्रतिशत पुगेको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा मात्र ६ अर्ब बढी खर्च भएको छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २९ अर्ब २८ करोड मध्ये १२ अर्ब ७० करोड भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि छुट्याएको थियो । आर्थिक वर्षको अन्तमा आइपुग्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले आठ अर्ब ९९ करोड खर्च गर्दै ७०.७८ प्रतिशत प्रगति गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयपछि ५ अर्ब ३७ करोड कुल बजेट रहेको सामाजिक विकास मन्त्रालयले ७२.८४ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले चालुतर्फ २ अर्ब ८७ करोड र पुँजीगत १ अर्ब ३५ करोड गरेर ३ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको छ ।

२ अर्ब ४३ करोड कुल बजेट रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६७.४३ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड खर्च गरेको छ । १ अर्ब ७७ करोड बजेट रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १ अर्ब २५ करोड अर्थात् ७०.८२ प्रतिशत खर्च गरेको छ ।

यस्तै ३९ करोड वार्षिक बजेट रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रायले १२ करोड खर्च गरेको छ । यो कुल विनियोजित बजेटको ६७.९५ प्रतिशत हो । 

२० करोड बजेट रहेको आर्थिक मामिला मन्त्रालयले ९ करोड ३१ लाख खर्च गर्दै ४६ प्रतशत प्रगति गरेको छ । १ अर्ब २९ करोड बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ करोड मात्र खर्च गरेको छ । यो कुल बजेटको १७ प्रतिशत मात्रै हो ।
 

प्रतिक्रिया दिनुहोस