बिहिबार, ०३ असोज २०८१

कमिशनको सेटिङमा सेतीका डाक्टर, चिकित्सकबाटै ठगिन्छन् बिरामी

धनगढी :  सेती प्रादेशिक अस्पतालमा हाडजोर्नीका बिरामी चिकित्सकबाटै ठगिन थालेका छन्। चिकित्सकहरूले आफ्ना निकटका व्यक्तिबाट रड, किला र पाता चर्को मूल्यमा किन्न लगाएर ठग्ने गरेको पाइएको हो।

सेती अस्पतालको फार्मेसीमा हाडजोर्नीको शल्यक्रियामा आवश्यक पर्ने रड लगायतका सामान पाइने भए पनि चिकित्सकले बाहिरबाट किन्न बाध्य पार्ने गरेका छन्। चिकित्सकले भनेको नमान्दा शल्यक्रिया गर्ने पालो नपाउने डर देखाएर चिकित्सकले सिफारिस गरेको व्यक्तिबाट रड किन्न बाध्य पारिँदै आएको छ। साथै शल्यक्रिया गर्नुपर्ने बिरामीसँग रडको मूल्य असुल्ने काम समेत हुँदै आएको छ। 

सेतीका डाक्टरको यस्तो हर्कत

सेती प्रादेशिक अस्पतालमा असार ५ गते स्पाइनल इन्जुरी भएका एक बिरामी आए। ती बिरामीलाई आकस्मिक कक्षमा हाडजोर्नी विभागका चिकित्सक डाक्टर उत्सव श्रेष्ठले हेरे। उनको मेरुदण्डमा चोट लागेको भन्दै डाक्टर श्रेष्ठले तुरुन्त शल्यक्रिया गर्न सिफारिस गरे। तर, डाक्टर श्रेष्ठले शल्यक्रिया गर्न सिफारिस गरेका बिरामीको शल्यक्रिया तुरुन्तै हुन सकेन।

सेतीमै कार्यरत अर्का हाडजोर्नी विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशी र डाक्टर उत्सव श्रेष्ठबिच कसले शल्यक्रिया गर्ने भन्ने प्रतिस्पर्धा चल्दा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रिया असार १६ गते मात्रै भयो। डाक्टर श्रेष्ठ र डाक्टर जोशीबिच शल्यक्रिया गर्दा बिरामीलाई आवश्यक पर्ने रड, किला र पाता खरिदबाट हुने मोटो आम्दानीका लागि तछाडमछाड चलेको हो।

सेतीमा शल्यक्रिया गर्नुपर्ने अवस्थामा हाडजोर्नी विभागमा कार्यरत चिकित्सकले भनेकै व्यक्तिबाट रड, किला र पाता किन्नुपर्ने बाध्यता आइलाग्ने गरेको छ। हाडजोर्नी विभागमा कार्यरत डाक्टर जोशी र श्रेष्ठले कमिसनकै लागि बिरामीको तानातान गर्दा ढिलो शल्यक्रिया भएर आइसियूमा राख्नु परेको हो। सेतीका चिकित्सक माझ बिरामीलाई अस्पताल फार्मेसीभन्दा बाहिरबाट रड लगायतका सामान खरिद गराउन प्रतिस्पर्धा नै चल्ने गरेको छ।

सेती अस्पतालमा हाडजोर्नीको शल्यक्रिया गराउने अधिकांश बिरामीले चिकित्सकले भनेकै व्यक्तिबाट सामान किन्नुपर्ने अघोषित नियम मान्नुपर्छ। चिकित्सकले भनेको नमाने शल्यक्रिया गर्ने पालो नआउने डर समेत देखाइने गरेको छ।  अस्पताल फार्मेसीमा सुपथ मूल्यमा सामान पाइने भए पनि बिक्रेताबाट मोटो रकम कमिसन खान चिकित्सकहरूले आफूले भनेअनुसार सामान खरिद गर्न लगाउने गरेको पाइएको छ।

अस्पताल फार्मेसीमा सामान नभएको मौका छोपेर चिकित्सकहरूले आफूले भनेको व्यक्तिसँग स्पाइनल इन्जुरीका बिरामीलाई सामान खरिद गर्न लगाउने गरेका छन्। तर, अस्पताल फार्मेसीमा भने सुपथ मूल्यमा सामान पाइने गरेको प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर शेरबहादुर कमरले बताए। उनले स्पाइनल इन्जुरीको शल्यक्रिया गर्न चाहिने सामान आगामी आर्थिक वर्षबाट अस्पताल फार्मेसीमै उपलब्ध हुने बताए। ‘यो वर्षका लागि अगाडि नै टेण्डर गरिएको थियो। आगामी आर्थिक वर्षका लागि टेण्डरमा सबै सामान राखिहाल्छौँ। अस्पताल फार्मेसीमा बाहिरभन्दा सस्तो र गुणस्तरीय सामान पाइन्छ।’

कमिसनका लागि सेटिङ

सेती प्रादेशिक अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूले अस्पताललाई आर्थिक कारोबार गर्ने थलो बनाएका छन्। बिरामी तथा बिरामीका आफन्तले चिकित्सकले भने बमोजिम सामान किन्नुपर्ने अवस्था रहेको गुनासो गर्दै आएका छन्। अस्पताल फार्मेसीमा नभएको सामान मात्रै बाहिरको आधिकारिक बिक्रेताबाट ल्याउन मिल्ने भए पनि चिकित्सकहरूले बिरामीका आफन्तसँग सामानका लागि आफैले डिल गर्ने गरेका छन्।

चिकित्सककै सेटिङमा रड, किला र पाताका बिक्रेता सोझै बिरामीका आफन्तकहाँ पुग्ने गरेका छन्। अस्पताल फार्मेसीबाट कमिसन नमिल्ने तर बाहिरका बिक्रेताले चिकित्सकलाई मोटो कमिसन दिने भएकाले व्यक्ति हेरेर सामानको अन्धाधुन्ध मूल्य असुल्ने गरिएको छ।  तर, बाहिरको कुनै पनि व्यक्तिले सोझै अस्पतालमा आएर कारोबार गर्न नमिल्ने प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डाक्टर कमले बताए।

उनले बिल बिना कुनै पनि सामान खरिद बिक्री गर्न नहुने बताएका छन्। हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूले बिरामीसँग तेस्रो व्यक्तिमार्फत लेनदेन गर्ने गरेका छन्। तर, अस्पतालमा चिकित्सकहरूले नै रडको कारोबार गर्ने गरेको गुनासो आफूकहाँ आएको प्रमुख मेसु कमरले स्वीकार गरेका छन्। कुन चिकित्सकले कारोबार गर्यो त्यो नाम नआए पनि सार्वजनिक रुपमा गुनासो आएपछि त्यसो नगर्न सबै चिकित्सकलाई आग्रह गरिएको बताए।

उनले सर्वसाधारणको गुनासो आएपछि त्यसो नगर्न बैठक नै बोलाएर भनिएको बताए। ‘बाहिरबाट सामान खरिद गर्न लगाउने गरेको गुनासो म कहाँ पनि आएको छ। तर कसले ग¥यो भन्ने नाम आएको छैन। हामीले बैठक नै बसेर बाहिरबाट सामान खरिद गर्न लगाउने काम नगर्न भनेका छौँ’, डाक्टर कमरले भने। सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी विभागका चिकित्सकहरूले पैसाको लोभमा बिरामीलाई अस्पताल फार्मेसीभन्दा आफ्ना निकटका सप्लायर्सबाट रड, किला र प्लेट खरिद गराउन प्रतिस्पर्धा गर्ने गरेको पाइएको छ। साभार दिनेश खबर 

प्रतिक्रिया दिनुहोस