बिहिबार, ०३ असोज २०८१

खप्तड छेडेदहले ५२ करोड २१ को बजेट प्रस्ताव : प्रथमिकतामा शिक्षा, पर्यटन र पूर्वाधार विकास

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि ५२ करोड २१ लाख बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेको छ । १५ औं गाउँसभा तथा बजेट अधिवेशनबाट उपाध्यक्ष बिशुदेवी नाथले आगामी आर्थिक बर्षका लागि ५२ करोड २१ लाख ७७ हजार ८ सय २८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को अनुमानित बजेट ५० करोड ५९ लाख ३२ हजार ८ सय ३१ रुपैयाँ प्रस्ताव गरेको थियो । प्रस्तावित बजेटको वास्तविक आय ४१ करोड २ लाख ८१ हजार ५ सय ८४ रुपैयाँ मध्ये गाउँपालिकाले हालसम्म ३३ करोड ६ हजार ९ सय ६१ रुपैयाँ अर्थात चालुगत ७१ दशमलव ७ प्रतिशत र पुजीगत गरेर कुल ६५ दशमलव २२ प्रतिशत बजेट खर्च भएको गाउँपालिका उपाध्यक्ष नाथले बताएकी छन् ।

गाउँपालिकाले आगामी आर्थिक बर्षको प्रस्तावित बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको उपाध्यक्ष नाथले बताइन् । बजेट अधिवेशनबाट कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्चका लागि ९ करोड १६ लाख ८७ हजार, शिक्षा युवा तथा खेलकुद २ करोड, स्वास्थ्य सेवा ९० लाख, क्रमागत योजनातर्फ २ करोड, कृषि विकासतर्फ ३० लाख बजेट अनुमान गरेको छ ।

त्यस्तै सुशासन तथा संस्थागत विकासमा ४५ लाख, पशु सेवा शाखा १० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन १० लाख, पूर्वाधार विकासमा ४ करोड ७३ लाख, सामाजिक विकास १ करोड, आर्थिक विकास तर्फ १ करोड बजेट प्रस्ताव गरेको प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले बताए । त्यस्तै गाउँपालिकाको १५ औं गाउँसभाबाट आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।

पालिकाले शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायले जानकारी दिएका छन् । खप्तड छेडेदहको नीति तथा कार्यक्रममा आगामी वर्षभित्र सबै वडामा केन्द्रीय विद्युत र फाइबर नेट जडान गरिसक्ने निर्णय गरेको अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । 

सुशासन तथा संस्थागत विकास तर्फ गाउँपालिकाको एकीकृत विकास योजनालाई अध्यावधिक तथा परिमार्जन, सार्वजनिक प्रशासनलाई परिमाणमुखी बनाउन कार्यसम्पादन करार गरि नतिजामुखि कार्यसम्पादन सम्झौतामा जोड दिइने जनाएको छ । 

गाउँपालिका भित्र रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन पत्रिका स्थापित हुन आएमा कानुनी दायरामा ल्याइ दर्ता गरिने, अध्यक्ष र उपाध्यक्षसँग जनताको गुनासो सुनुवाइ कार्यक्रममा जोड दिई जनताको घरदैलोमा कार्यक्रमलाई जोड दिइने नीति लिएको छ ।

सामाजिक विकासतर्फ समुदायको साझा पहिचान भएका बाजागाजा, पोशाक तथा मौलिक देउडा खेलको संरक्षणका लागि आवश्यक व्यवस्था, आगामी आर्थिक बर्षभित्र विद्यालयलाई अनिवार्य मर्ज गर्ने,कक्षा १२ सम्म निःशुल्क शिक्षा सञ्चालनको लागि आवश्यक पहल गरिने, संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थी मध्ये जेहेन्दार १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान, कक्षा ८ र १० मा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरिने नीति लिएको छ । 

आर्थिक विकास तर्फ घरेलु उद्योगको क्षमता वृद्धि गर्न अल्लो तथा भाँगोको धागो उत्पादनमा किसानलाई प्रोत्साहन गरिने, अध्यक्षसँग युवा कार्यक्रम सञ्चालन गरि क्षमता विकास तथा सीप विकास कार्यक्रम सञ्चालनमा जोड, पालिकाभित्र खाद्य डिपो तथा नुन डिपो सञ्चालनका लागि आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ भुकम्प प्रतिरोधी घर निर्माणका लागि सचेतनामूलक कार्यक्रममा जोड, आफ्नो एम्बुलेन्स सेवा सञ्चालन गरि सोको सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि बनाइने, पहिरोको जोखिममा रहेका गुम्लागाउँ, धनाल्त, लिसाना,तल्लो लिसाना, नाइना, डोगडी वस्तिको रुपान्तरणको लागि सुरक्षित खुल्ला र सार्वजनिक जग्गाको व्यवस्था गरि पहिरो नियन्त्रण गर्न तत्काल सम्भाव्यता अध्ययन गरि घाँस तथा बास रोप्ने कार्यलाई जोड, यसै बर्ष भित्र सबै वडामा राष्ट्रिय प्रशारण लाइनको विद्युत पु¥याउन पहल गरिने जनाएको छ ।

पूर्वाधार विकासतर्फ खप्तड देखि छेडेदहसम्म रेलिङ सहितको पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिई आगामी आवमा काम सम्पन्न, पालिका सञ्चालन भएको सवारी साधनको भाडा जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड अनुरुप सञ्चालन, पालिकामा फाइबर नेट जडानका लागि नेपाल टेलिकमसँग समन्वय गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै वडा नम्बर ३ र ५ को वडा कार्यालय भवन निर्माण गरि आगामी बर्षसम्म सबै वडामा काम सम्पन्न र पालिकाको प्रशासकीय भवनको तेस्रो र चौथो तला निर्माणको लागि विशेष व्यवस्था, संघिय र प्रादेशिक सरकार सँग समन्वय गरि आटीचौर सुर्का खोला र घट्टेखोलामा मोटररेवल पुल निर्माणका लागि आवश्यक समन्वय गरिने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस