बिहिबार, ०३ असोज २०८१

बडीमालिकाको नीति कार्यक्रम : विकासका लागि लगानी सम्मेलन, समृद्धिका लागि विकास कचहरी

२०८१ लाई कोदो वर्षका रुपमा मनाउने

बाजुरा : बडीमालिका नगरपालिकाले कृषि क्षेत्रको प्रवद्र्धन, स्थानीय रैथाने बालीको संरक्षण गर्ने गरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा १५ औं अधिवेशनबाट जनताको जीवन स्तरसँग जोडिएको र उत्पादनमुखि कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्ने गरि नीति लिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

पालिकाले यो २०८१ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको छ । हरेक वर्षको मंसिर १ गतेको दिनलाई कोदो वर्षको रुपमा औपचारिक कार्यक्रम सहीत मनाउने र वर्षभरि कोदो बालीको संरक्षण र परिकारको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने नीति दिएको छ । 

पालिकाले यसैवर्ष भित्र कोदोको विस्कुट उत्पादन गर्ने मेसिन खरिद गरि उत्पादन सुरु गर्ने नीति लिएको छ । पालिकाको विकास र समृद्धिका सवाललाई बहसको रुपमा अघि सार्न बडीमालिका विकास कचहरी गर्ने र लगानी सम्मेलनको निर्णय गरेको छ । सबै क्षेत्रका लगानी दाताहरुलाई बोलाएर पालिकाको विकास र समृद्धिमा सहकार्यका लागि लगानी सम्मेलन गर्ने नीति लिएको नगर प्रमुख अमर खड्काले बताएका छन् । 

यो वर्ष नै पालिकाले आफ्नो लगानीमा डोजर खरिद गर्ने निर्णय गरेको छ । आर्थिक विकास सम्बन्धि नीति तथा कार्यक्रममा कृषि विकासतर्फ आर्थिक समृद्धिको पहिलो आधार, कृषि नै हो पहिलो पुर्वाधार भन्ने अभियान मार्फत नगरपालिका र स्थानीय कृषकहरुको साझेदारीमा बडीमालिका कोदो बिष्कुट उद्योगको रुपमा पालिका गौरवको आयोजना सञ्चालन गरिने, “किसानको लगानीः किसानकै आम्दानी” भन्ने अभियान मार्फत कृषि उपजहरुको संकलन, प्रशोधन, ग्रेडिङ, ब्रान्डीङ र बजारीकरण गर्न   जिल्ला भित्र र जिल्ला बाहिर निर्यातका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

“रैथाने उपहार गाउँको ः भान्सामा लहर शहरको” योजना अनुरुप सार्वजानिक, नीजि,साझेदारी) मा उद्योग स्थापना गरी अन्तरपािलका, संघ, प्रदेश र अन्य निकायहरुसंग भगिनी सम्बन्ध स्थापित गरी उत्पादित वस्तुको बजारिकरण गरिने भएको छ । ‘‘तपाईको गर्नुस् उत्पादनः हाम्रो खोज्छौं बजार” भन्ने नारालाई आत्मसाथ गर्दै कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजार सुनिश्चतताका लागि नगरपालिकाले खरिद, विक्री र ढुवानीको व्यवस्था गर्ने नीति लिईने भएको छ । ‘

किसानको पहिचान ः बारीमै अनुदान’ कार्यक्रम मार्फत ढुवानी,उत्पादन र प्रविधिमा विशेष अनुदानको व्यवस्था गरिने नीति अघि सारिएको छ । पशुपन्छी सम्बन्धि नीति तथा कार्यक्रमतर्फ “गोठ देखि ओठ सम्म ः बधशाला देखि भान्सा सम्म” नारालाई साकार पार्न पशुपंक्षी व्यवसाय प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । संस्कृति तथा पर्यटन प्रर्वद्धनतर्फ “पर्यटकको नियमितता ः बडीमालिका तीर्थयात्रा” भन्ने नारालाई साकार पार्न थर पर्यटकको लागि बडीमालिका पाटन क्षेत्रलाई बाह्रै महिना संचालन गर्न आवश्यक आधारभूत पूर्वाधारहरु निर्माण गर्दै बडीमालिका यात्रा वर्षलाई निरन्तरता दिइने भएको छ ।

स्थानीय पर्यटन प्रर्वद्धनतका लागि मार्तडी बजारमा संस्कृति झल्किने साँस्कृतिक संग्रहालय निर्माणको कामलाई सुरुवात गरिन, बडीमालिका जाने बाटोलाई सोता पाटन सम्म नियमित र सहज रुपमा यातायात चल्ने बनाउने, पर्यटकलाई वास बस्नका लागि होटलको सट्टा खर्क स्टेलाई नयाँ विकास मोडलको रुपमा अगाडी बढाईने भएको छ । 

बडीमालिका नगरपालिकाका महत्वपुर्ण पर्यटकीय स्थानहरु वीरेखोला झरना, त्रिवेणी पाटन, बडीमालिका मन्दिर, उपरकोट, कालाजग्रा, दहडाँडा, जाल्पादेवि मन्दिर क्षेत्र, चल्लेसैन दह, शेरसुङ्क गुम्बा लगायत सुन्दर तथा धार्मिक स्थानको संरक्षण र प्रर्वद्धन गर्नुका साथै रानीवनलाई हरित पार्कका रुपमा विकास गरिने र कालाजाग्रा मन्दिर क्षेत्रमा जाने बाटोका अग्ला चट्टानहरुमा देवीदेवताका कलात्मक मूर्तिहरु निर्माण गरि आवश्यक रंगरोगन गरिने भएको छ । 

उद्योग क्षेत्रतर्फ स्थानीय कच्चा पदार्थम आधारित साना तथा घरेलु उद्योगहरुको स्थापना विकास एवम् विस्तार गर्न विभिन्न किसिमका व्यवसायिक, सीपमूलक तालिमहरुको व्यवस्था मिलाईने र नेपाल सरकार, प्रदेश सरकारको औद्योगिक ग्रामको स्थापना गर्ने नीति अनुसार बडीमालिका नगरपालिकामा औधोगिक ग्राम स्थापनाका लागि संघ तथा प्रदेश सरकारसँग पहल गरिनेछ । 

बडीमालिका नगरपालिका भित्र दर्ता नगरी व्यवसाय गर्ने व्यवसायीलाई अनिवार्य रुपमा दर्ता प्रक्रियामा ल्याइनेछ । कालो बजारीको नियमन गरी कानून विपरित व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याइने भएको छ ।

पूर्वाधार विकासतर्फ निर्माणाधिन बडीमालिका चक्रपथको स्तरोन्नती एवम विस्तार कार्यलाई निरन्तरता दिन संघ तथा प्रदेश सरकार सँगको समन्वय मार्फत थप पहल गरिने भएको छ । नगरका सवै वडा केन्द्र तथा विभिन्न बस्तीहरुसम्म जोड्ने नगर सडकहरुको स्तरोन्नती तथा विस्तार लाई निरन्तरता दिईने छ । 

उपभोक्ता समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि बाह्य निर्माण सामाग्री नगरपालिकाले खरिद गर्ने नीति लिईने बुझिएको छ । दक्ष महिला कामदारको उत्पादन गरी रोजगारी सँग आवद्व गराई आत्मनिर्भर गराउने उद्देश्यले महिला डकर्मी तालिम सञ्चालन गरिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधितर्फ प्रविधिमैत्री प्रशासन,विकास समृद्धि र सुशासन नारालाई साकार पार्न पेपरलेस बडीमालिका सरकारको अवधारणा निरन्तरता दिन एकिकृत सुचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउँदै लगिने भएको छ ।  

बडीमालिका नगरपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारिता सेवामा आवद्ध पत्रकारहरुको सेवा प्रर्वद्धनका लागि पत्रकार क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखिने, लोक कल्याणकारी विज्ञापनको नीति यसै वर्षबाट लागु गरी कार्यान्वयन गरिने तथा बडीमालिका नगरपालिकाको विकास तथा सुशासनका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई बडीमालिका पत्रकारिता पुरस्कार मार्फत पुरस्कृत गरि प्रोत्साहन गरिने भएको छ ।

सामाजिक विकास सम्बन्धि नीतिमा शिक्षा नगर प्रमुखसँग विश्वास अभियान कार्यक्रम मार्फत नगरपालिका क्षेत्रभित्रका शैक्षिक संस्थाहरुमा विद्यालयको स्वास्थ्य (भौतिक अवस्था, शिक्षकको ईमान्दारीता, व्यवस्थापन समितिको प्रतिवद्धता, अभिभावकहरुको संलग्नता र विद्यार्थीको लगनशिलता) को आधारमा मुल्यांकन र नक्सांकन गरी भुगोल र न्यूनतम विद्यार्थी संख्याको आधारमा विद्यालयलाई समायोजन गरिने नीति लिइने भएको छ । पालिका अन्तर्गतका माद्यामिक विद्यालयहरुमा एक विद्यालय एक परियोना मार्फत पढ्दै कमाउँदै, रमाउँदै, सजाउदै अभियान सञ्चालन गरिने भएको छ ।

एमबीबीएस अध्ययन गर्ने कुनै एक जना विद्यार्थीलाई र विद्यावारिधी गर्ने नगरपालिका भित्रका एक जना महिला र एक पुरुषलाई विशेष आर्थिक सहयोग उपलब्ध गरिने भएको छ । स्वास्थ्यतर्फ गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, असहाय र विपन्न नागरिकहरुका लागि पालिकाभित्र निशुल्क एम्बुलेन्स सेवा र विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई निरन्तरता दिईनुका साथै अति गरिव, विपन्न असाहाय नागरिकहरुलाई प्रिमियममा बढीमा ५०% अनुदान प्रदान गरी बिमा कार्यक्रमा आवद्ध गर्दै लगिने भएको छ  ।

युवा तथा खेलकुदतर्फ युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि युवा लक्षित कार्यक्रम तथा नगर स्तरीय खेलकुद विकास समिति मार्फत खेलकुद प्रशिक्षण, नगर स्तरीय तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड कार्यक्रमलाई प्रभावकारी व्यवस्थित खेलडीको उच्च मनोबल बढाउने गरी प्रोत्साहन गर्ने तथा नगर स्तरीय अन्य खेलकुदका प्रतियोगितागत कार्यक्रम सञ्चालन गरिने, ‘‘बडीमालिका नगरपालिकाको सान, महिनाको १ दिन अनिवार्य श्रमदान’’ अभियान  नगरपालिका भरि सञ्चालन गरिने भएको छ ।

लैङ्गिक समान्ता तथा समाजिक समावेशीकरण महिला विकास सम्बन्धि नीतिमा बालबालिकातर्फ बालविवाह र बालश्रम मुक्त वडा घोषणा गर्दै क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिईने, स्नातक तह उत्तिर्ण गरी विवाह गर्ने किशोरीलाई नगद सहित सम्मान गर्ने नीति लिईने, ४५ वर्ष पुरा भएका एकल महिला तथा ५० वर्षका एकल पुरुषहरु तथा (ग) वर्गका लागि उपलब्ध गराउँदै आएको सामाजिक पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिईन उल्लेख गरिएको छ ।

सामाजिक कुरीतिको रुपमा रहेको हानिकारक अभ्यासतर्फ वडाहरुलाई छाउपडी गोठमुक्त घोषणा गर्ने कार्यलाई निरन्तरता दिईने भएको छ । अपाङ्गतातर्फ अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि सचेतनामुलक कार्यक्रम निरन्तरता दिईने भएको छ । ज्येष्ठ नागरिकतर्फ सामाजिक सुरक्षा भत्ता फिर्ता गर्ने तथा नलिने स्वघोषणा गर्ने कुनै पनि नागरिकलाई पालिकाको तर्फबाट पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ ।

समावेशी दलित÷आदिवासी÷जनजाती र पिछडा वर्ग सम्बन्धि भेदभावको अन्त्य एवं विकास निर्माण प्रक्रियामा समावेशीपूर्ण सहभागीता सुनिश्चित गर्न संस्थागत सञ्जाल निर्माण गरिने भएको छ । 

यस्तै भूमि व्यवस्थापनमा बाउली क्षेत्र हिमाली नमुना सहरका लागि टाउन पलानिङ्ग गरी यसै वर्षदेखि नमुना बस्ती विस्तारका लागि पहल गरिन् भूमिहिन सुकुम्बासीलाई हाल बसोवास गरी लामो समयसम्म चलनभोग गर्दै आएको ऐलानी जग्गालाई लालपुर्जा प्रदानका लागि  पहल गरी उनीहरुको अन्य पुर्वाधारमा पहुँच पुर्याउन सहयोग गरिने भएको छ ।

नगर प्रमुख अमर खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख नन्दा कुमारी थापाले प्रस्तुत गरेको आगामी वर्षको प्रस्तावित बजेट सर्वसम्मत पारित गरिएको छ । नगरपालिकाका सभा हलमा सञ्चालन भएको गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, नगर सभा सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो । नीति कार्यक्रम र बजेट नगर सभापछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया दिनुहोस