सोमबार, १० कार्तिक २०८२

डीआइजी बढुवामा जेनजी आन्दोलनको प्रभाव : आइजी नियुक्तिमा होला यही अभ्यास ?

काठमाडौं : गृह मन्त्रालयले ५ एसएसपीलाई डीआईजी बढुवा सिफारिस गर्दा भदौ २३(२४ को जेनजी आन्दोलनमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका विश्व अधिकारीलाई बाहिर राखेको छ ।

२०८० वैशाख २४ मा भएको बढुवा नियुक्तिमा पहिलो नम्बरमा रहेका अधिकारी छुट्दा दोस्रो नम्बरका भुपेन्द्र खत्रीदेखि छैटौं नम्बरका अविनारायण काफ्लेसम्म डीआईजी सिफारिसमा परेका छन् । यो सिफारिसले जेन९जी आन्दोलनमा उपत्यकाको सुरक्षा जिम्मेवारीमा रहेका अन्य प्रहरी पनि झस्किएका छन् ।

आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २७ मा अनिवार्य अवकाश हुँदैछन् । वरियताकै आधारमा खापुङपछि आईजीपीका पहिलो दावेदार एआईजी दानबहादुर कार्की हुन् । उनी पनि जेनजी आन्दोलन सर्वाधिक अराजक भएको भदौ २४ मा काठमाडौं उपत्यका प्रहरी प्रमुखका रूपमा हाजिर भएका थिए ।

उनी हाजिर भएको केही घण्टामै प्रहरीले जिम्मेवारी छोडेको थियोे । फलतः अत्यधिक आगजनी, तोडफोडसहित उपत्यकाभित्रै ३ प्रहरीले ज्यान गुमाएका थिए ।

आज भएको डीआईजी बढुवामा एसएसपी बढुवाको वरियतालाई आधार मान्दा कमाण्ड कन्ट्रोल र व्यवसायीक प्रहरीकार्यका निम्ति कहलिएका सोमेन्द्रसिंह राठौर, तारादेवी थापा, दीपसमशेर जबराजस्ता अधिकृत डीआईजी बढुवामा छुटेका छन् ।

यद्यपि, कात्तिक २७ मा आईजीपी खापुङ अवकाश भएपछि एक डीआईजी रिक्त हुन्छ । त्यसमा राठौर स्वतस् बढुवा हुने संकेत यो बढुवाले दिएको छ ।

वरियताका दृष्टिले राठौरपछि क्रमशः मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, प्रज्वल महर्जन २०८० वैशाख २४ को एसएसपी हुन् । उनीहरू डीआईजीका दावेदार थिए ।

यी सबै २०५६ असार ३ मा इन्स्पेक्टरमा भर्ना भएका हुन् । यो टोलीलाई ११२ भनिन्छ । डीआईजी सिफारिस काफ्ले भने २०५४ चैत १६ मा असईमा भर्ना भई २०५६ असार ३ मा इन्स्पेक्टर प्रतिस्पर्धामा सफल भएका थिए । उनका असई व्याचीमध्येका केही अधिकृत भर्खरै डीएसपी बढुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस