बाजुरा : गौमुल गाउँपालिकामा पहिलो पटक ‘प्रथम खुला गौमुल कप सेभन ए–साइड फुटबल प्रतियोगिता’ सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिता क्रियटिभ युथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।
गाउँपालिकाको केन्द्र घट्मुना स्थित खेलमैदानमा भएको उद्घाटन समारोह क्रियटिभ युथ क्लबका अध्यक्ष जीवनकुमार रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया प्रमुख अतिथी रहेका थिए ।
उक्त अवसरमा उपाध्यक्ष सीता थापा, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी विक, वडा नं. ६ का वडा अध्यक्ष प्रकाश रोकाया लगायत विशिष्ट अतिथिको रुपमा उपस्थिति थिए ।
साथै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली, एमाले जिल्ला सदस्य राजिव रोकाया, गणेश थापा, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, बाजुरा क्याम्पस स्ववियु सभापति लक्ष्मण रोकाया, युवा संघ जिल्ला संयोजक विष्णु कार्की, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रमित विक लगायत अतिथिहरु पनि सहभागी भएका थिए ।
उद्घाटनका अवसरमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले रु. ५१,००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु. ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता (टप स्कोरर) लाई पनि सम्मान गरिने आयोजकले जानकारी दिएको छ । खेलमा वी लभ केपी बा लेखिएका जर्सी सहीत उद्घाटन मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । खेल कर्मचारी र दल बीच भएको हो ।
‘देशभरिकै नमूना कप’ आयोजना गर्ने पालिका अध्यक्ष रोकायाको घोषणा
गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले आगामी वर्षदेखि गाउँपालिकामा “देशभरिकै नमूना कप” आयोजना गर्ने घोषणा गरेका छन् । गाउँपालिकामा सुरु गरिएको प्रथम ‘पालिका कप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष रोकायाले भूगोल र पूर्वाधारका चुनौतीबीच पनि स्थानीय सरकारले योजनाबद्ध रूपमा खेलकुदको विकासमा जोड दिइरहेको बताएका छन् ।
उनका अनुसार गाउँपालिकाले खेलमैदानको व्यवस्थापन गर्दै बृहत्तर खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । “हाम्रो उद्देश्य गाउँभित्र लुकेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्नु र उनीहरूलाई अवसर प्रदान गर्नु हो,” अध्यक्ष रोकायाले भने ।
गौमुल गाउँपालिकाद्वारा आयोजना गरिएको प्रथम खुला सेभेन ए–साइड गौमुल कप फुटबल प्रतियोगिताले गाउँपालिकाको गौरव बढाएको उल्लेख गर्दै उनले खेलकुदले युवामा ऊर्जा, अनुशासन र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले खेलकुद युवालाई सिर्जनात्मक तथा सकारात्मक कार्यमा प्रेरित गर्ने प्रभावकारी माध्यम भएको बताउँदै भने, “खेलकुदमार्फत सामाजिक एकता, भाइचाराको भावना र स्वस्थ समाज निर्माणको सन्देश फैलियोस् भन्ने हाम्रो चाहना हो ।”
जेन–जीदेखि सबै पुस्ता मिलेर देश विकासमा लाग्नुपर्नेमा जोड
गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जेन–जी पुस्तादेखि सबै पुस्ता एकताबद्ध भएर देशको विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष रोकायाले खेलकुद मात्र नभई युवा पुस्ताले देशको संविधान, राजनीतिक परिस्थिति, कानून र विधिको शासनबारे समेत गहिरो ज्ञान हासिल गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार विधि र कानूनको पालना गर्दै अघि बढेमा कुनै पनि प्रकारको विध्वंसकारी अवस्था सिर्जना हुँदैन । “देशको विकासका लागि सबै पुस्ताको सहभागिता आवश्यक छ । युवा पुस्ताले खेलकुदसँगै सामाजिक र बौद्धिक क्षेत्रमा पनि योगदान दिनुपर्छ,” उनले भने ।
अध्यक्ष रोकायाले एउटा खेल खेल्नका लागि पनि नियम आवश्यक हुने जस्तै देश सञ्चालनका लागि संविधान र कानून अपरिहार्य हुने बताए । उनले हरेक पुस्ताले यी आधारभूत कुराहरू बुझेर सकारात्मक परिवर्तनको भावना विकास गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार खेलकुदले शारीरिक स्फूर्ति मात्र होइन, सामाजिक एकता र अनुशासन पनि सिकाउँछ, जसले विकास र सुशासनको आधार तयार पार्न सहयोग पु¥याउँछ ।
प्रतिक्रिया दिनुहोस