बिहिबार, ०३ असोज २०८१

मिसन ८४ सफल पार्न पार्टी कमिटी र जनसंगठन दुबै सक्रिय बनाउनु पर्छ : थापा

बाजुरा : नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टीका जनसंगठनको सक्रियता बढाउनु पर्नेमा जोड दिएका छन् । नेपाल किसान महासंघ बाजुराको दोस्रो जिल्ला अधिवेशनलाई संवोधन गर्दै थापाले पार्टीले वैधानिकता दिएका २३ वटै जनसंगठनलाई सक्रिय र कामयापी बनाउनुको विकल्प नरहेको बताएका छन् । 

संगठनका नाममा पद लिने, काम नगर्ने, संगठन बारे जानकारी नै नराख्ने अवस्था देखिएकोले अब त्यो नहुने धारणा राखेका हुन् । थापाले पार्टीले मिसन ८४ सफल पार्न निर्मम निर्णयका साथ पार्टी कमिटी लाग्नु पर्ने बताएका छन् । बाजुरा जिल्ला कमिटीको नवनिर्वाचित टिम पढाइ, लेखाइ, योग्यता क्षमता हरेक दृष्टीकोणबाट सफल र सक्षम भएकोले त्यसको योजना सहीत कार्यान्वयन गर्न सुझाव दिएका छन् । 

पार्टीका सबै अंग सक्रिय बनाएर, जनताका जीवनसँग जोडिएर मिसन ८४ सफल पार्नु बाहेक एमालेसँग अर्को विकल्प नरहेको बताएका छन् । अछाम जिल्ला इन्चार्ज र पूर्व सांसद समेत रहेका थापाले पार्टी बनाए र पार्टी बद्नाम गराउने खेलको प्रतिस्प्रर्धा रोकिनु पर्ने बताएका छन् । 

उहाँले किसान महासंघले किसानका मुद्दा मात्रै होइन आफै उत्पादनमा सक्रिय रहनु पर्ने बताएका छन् । किसान महासंघका केन्द्रीय सचिव तारा खातीले किसान महासंघका कार्यकर्ता नै आत्मनिर्भर हुने गरि खेती किसानीमा सक्रिय हुनु पर्ने सुझाव दिएकी छन् ।

उद्घाटन समारोहमा पार्टी प्रदेश कमिटी सदस्य गगन रावल, अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, किसान महासंघका प्रदेश अध्यक्ष मदन रेग्मी, बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले शुभकामना मन्तव्य राख्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस