बिहिबार, ०३ असोज २०८१

मुख्यमन्त्री पाए सुदूरपश्चिममा नाउपा सरकारमा जाने

बाजुरा : नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वसहित सरकारमा जाने निष्कर्षमा पुगेको छ । गठबन्धनका विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेदबीच बुधबार धनगढीमा भएको छलफलमा नाउपा सांसदहरू नाउपाकै नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगेका छन् ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कैलाश चौधरीले सुदूरपश्चिममा नेतृत्वसहित नाउपा सरकारमा जाने निष्कर्षमा पुगेको बताएका छन् ।नाउपाभित्रको विवादपछि पहिलो पटक नाउपाका सांसद एकैठाउँमा उभिएका हुन् । यो छलफलमा संरक्षक रेशम पनि उपस्थित थिए ।

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। समानुपातिक सांसद इन्द्रिरा गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन् । यस्तै, उनले घनश्याम चौधरीलाई दल नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।

गठबन्धनका विषयमा रेशम र रञ्जिताबीच मतभेद थियो। रञ्जिता नयाँ गठबन्धनमा सामेल हुने पक्षमा छिन् । रेशम त्यसको विपक्षमा उभिँदा एक महिना नाउपाभित्रै भाँडभैलो नै मच्चिएको थियो ।

बुधबारको छलफलपछि पार्टीभित्रको विवाद मत्थर भएर आफ्नै नेतृत्वमा सरकार बनाउने निष्कर्षमा पुगेको दल नेता चौधरीको दाबी छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि बैशाख २ गते बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय दिएका छन् । नाउपामा विवाद चलिरहँदा सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस