बिहिबार, ०३ असोज २०८१

बाजुरामै ६० जना महिलाले लिए निशुल्क लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा

बाजुरा : बाजुराका ६० जनाले निशुल्क तयारी कक्षा लिएका छन् । लोकसेवा र शिक्षक सेवा अन्र्तगतको निशुल्क तयारी कक्षा लिएका हुन् । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय जिल्ला सामाजिक विकास कार्यालय अन्र्तगत कक्षा सञ्चालन गरिएको हो ।

अति विपन्न र गरिब परिवारलाई लक्षित कार्यक्रम अन्र्तगत ६० जना महिलाहरुले कक्षा लिएका हुन् । ३० जनाले शिक्षक सेवा र ३० जना लोक सेवा तर्फको कक्षा लिएको सामाजिक विकास कार्यालय बाजुराका कार्यालय प्रमुख मिन लामिछानेले जानकारी दिएका छन् ।

मार्तडीमा सञ्चालन भएको तयारी कक्षामा लगातार एक महिनासम्म दैनिक २ घण्टा तयारी कक्षा सञ्चालन गरिएको थियो । शिक्षक सेवा तर्फको आधारभुत तह र लोक सेवा तर्फको पाँचौ तहका लागि तयारी कक्षा सञ्चालन गरिएको हो । 

लोकसेवा तर्फ महिलाहरुको आकर्षण बढाउने र जिल्ला बाहिर गएर तयारी गर्न संभव नभएका र घरयासी काममा सक्रिय महिलाहरुलाई लक्षित कार्यक्रम सञ्चालन गरिएको हो । सामाजिक विकास कार्यालयले हरेक वर्ष विपन्न तथा गरिब जेहेन्दार परिवारका महिलाहरुलाई लक्षित गरेर तयारी कक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । 

सामाजिक विकास कार्यालयले नै सञ्चालन गरेको तयारी कक्षाबाट केहीले लोकसेवा र धेरै जसोले शिक्षक सेवामा लिखित र मौखिममा नाम समेत निकाल्ने गरेका छन् । तयारी कक्षामा रंगमल विक, नरेन्द्र साउँद, दिपेन्द्र पाण्डे, नरेन्द्र भट्ट सहीतले प्रशिक्षण दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस