बिहिबार, ०३ असोज २०८१

मत माग्न जनताको घरदैलोमा एमाले नेताहरु

बझाङ : बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन नजिकिदै गर्दा चुनावी रौनक बढेको छ । राजनीतिक दलका नेताहरु चुनावी प्रचार सहीत गाउँ केन्द्रीत बनेका छन् । प्रचारकै क्रममा नेकपा एमालेका नेता कार्यकर्ता उम्मेदवार सहित चुनाव प्रचार प्रसारका लागि गाउँ पसेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनको गतिविधि गर्दै आएको नेकपा एमालेले मनोनयन दर्तापछि घरदैलो अभियानलाई तीव्रता दिएको छ । नेकपा एमालेले मनोनयन दर्ता गरेपछी चैत २५ गतेबाट नै चुनावी सभाको आयोजना गर्न थालेको छ । 

एमालेले चैत २५ गतेबाट तलकोट गाउँपालिका देखिसुरु गरेको चुनावी अभियान बैशाख १२ गते थलारा गाउँपालिका–९ को मालुमेलामा गएर टुंग्याउने भएको छ । १२ गते थलारा गाउँपालिका–९ का सबै टोलमा घरदैलो, भेटघाट गर्ने जिल्ला कमिटिको निर्णय अनुसार प्रचार प्रसारमा हिँडेको नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले बताए । 

अन्य दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् । बझाङमा उपनिर्वाचनका लागि ११ दलले मनोनयन दर्ता गरेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ । 

कांग्रेसको तर्फबाट मृतक सिंहकै जेठा छोरा अभिषेकबहादुर सिंहले उम्मेदवारी दिएका छन् भने सत्तारुढ गठबन्धन आबद्ध दलहरुले पनि प्रदेशसभा उपनिर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । 

गठबन्धनको ठूलो दल एमालेका तर्फबाट दमन भण्डारी र माओवादी केन्द्रका जनक बुढाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंहले उम्मेदवार भएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट किशोर खड्का, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र शाही र नेसनल रिपब्लिक पार्टीका तर्फबाट कमल घर्तीमगरको उम्मेदवारी कायम छ । 

जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्टले पनि प्रदेशसभा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस