बिहिबार, ०३ असोज २०८१

बुढीगंगामा बेहालको शैक्षिक नतिजा, कक्षा ५ मा ८ र ८ मा १७ प्रतिशत विद्यार्थी  उत्तीर्ण

नेता शिक्षक भएकै विद्यालयमा बढी समस्या, माथिल्ला कक्षा बन्द गर्नु पर्ने बाध्यता

बाजुरा : बुढीगंगा नगरपालिकाको शैक्षिक नतिजा निकै कमजोर देखिएको छ । पालिकाले लिएको कक्षा ५ र ८ को पालिका स्तरीय परीक्षाफल नतिजा हेर्दा शैक्षिक उपलब्धी निकै कमजोर देखिएको हो । तथ्याकं हेर्दा कक्षा ५ मा ८.५३ र ८ मा १७.७६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । 

पालिका भरिका कक्षा ५ को परीक्षामा सहभागि ५ सय ७४ जना विद्यार्थी मध्ये ४९ जना मात्रै उत्र्तीण भएका छन् । भने कक्षा ८ को परीक्षामा सहभागि ६ सय ८१ जना विद्यार्थी मध्ये १ सय २१ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । अन्य विद्यालय स्तरीय परीक्षामा पनि अवस्था दयनीय नै देखिएको छ । 

अघिल्लो शैक्षिक सत्रको अवस्थामा केही सुधार आएको भएपनि नतिजा देखाउन मिल्ने अवस्थामै नरहेको देखिन्छ । गएको वर्ष कक्षा ५ को ३ र ८ को ८ प्रतिशत नतिजा थियो । यो वर्ष केही हदसम्म सुधार भएको छ । प्रतिशतमा सुधार भएपनि समग्र अवस्थामा अझै चिन्ताजनक र लाजमर्दो अवस्था देखिएको पालिकाका जनप्रतिनिधीले बताएका छन् । 

नेता शिक्षकहरु कार्यरत विद्यालयमै बढी समस्या देखिएको छ । परीक्षामा सहभागि कक्षा ८ सम्मका १३ वटा विद्यालय मध्ये २ र कक्षा ५ सम्मका २१ वटा मध्ये ६ वटा विद्यालय नतिजा शुन्य देखिएको छ । कक्षा ८ मा भगवती मावि र बजेडी माविको नजिता शुन्य आएको छ । 

यस्तै दरबन्दी भएका र नेता शिक्षकहरु नै कार्यरत भानुदय माविमा १ सय ३ जना मध्ये ५० जना, पशुपति माविमा ६२ जना मध्ये १ जना, त्रिशक्ती माविमा ६२ जना मध्ये ८ जना, थुमा माविमा ४० जना मध्ये ६ जना, सिंगाडा माविमा ८४ जना मध्ये ९ जना मात्रै उत्र्तीण भएका छन् । यी विद्यालयमा दरबन्दी र नेताशिक्षकहरु कार्यरत छन् । 

कक्षा ८ को परीक्षामा दुधिर आधारभुत विद्यालय र धुरालसैन माविले अरुको तुलनामा राम्रो नतिजा ल्याएका छन् । दुधीरमा ३२ मध्ये १४ जना उत्तीर्ण भएका छन् । भने धुरालसैनमा ४३ जना मध्ये १५ जना उत्र्तीण भएका छन् । लगातार दुई वर्ष विद्यार्थी उत्तीर्ण गराउन नसकेपछि केही विद्यालयका माथिल्ला कक्षा बन्द गर्नु पर्ने अवस्था आएको छ ।

कक्षा ५ को नतिजा पनि झनै दयालाग्दो देखिएको छ । १३ जना विद्यार्थी भएको बसन्त बालमैत्री आधारभुत विद्यालयले ११ जना उत्तीर्ण गराउन सफल भएपनि अन्य विद्यालयले ५ जना भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सकेका छैनन् । 

सारदा मावि, कुणी आधारभुत विद्यालय, कुणीकोट आधारभुत विद्यालय, बजेडी आधारभुत विद्यालय र राजेन्द्र आधारभुत विद्यालयले शुन्य नतिजा ल्याएका छन् । यी मध्येले केहीले अघिल्लो वर्षपनि शुन्य नतिजा ल्याएका थिए । त्रिशक्तीले ६८ जनामा ३, सिंगाडाले ५९ जनामा ३, भगवती माविले ५६ मा १, पशुपतिले ७ जनामा १, भानुदयले ३४ जनामा १ जनालाई उत्तीर्ण गराउन सफल भएका छन् । 

बुढीगंगा र खप्तड छेडेदह गाउँपालिकाको कक्षा ८ को शैक्षिक उत्तीर्ण प्रतिशत समान देखिएको छ । बुढीगंगा नगरपालिकालाई जिल्लाकै शिक्षा विकासमा अग्रभागको पालिकाका रुपमा लिने गरिएको छ । तर बार्षिक परीक्षाफलको नतिजाले बुढीगंगाले लाजमर्दो अवस्था देखाएको छ । 

कम्तीमा पास अंक ल्याउन पनि फलामकै चिउरा चपाउनु पर्ने अवस्थामा बुढीगंगा नगरपालिका देखिएको छ । पालिकाको शिक्षा शाखासँग शिक्षकहरुले वास्तविकता नतिजा सार्वजनिक नगरिदिन समेत अनुरोध गरेको श्रोतको दाबी छ । विद्यालय चलाउन मुस्कील हुने भएकोले लाज ढाक्न शिक्षकहरुले अनुरोध गर्ने गरेको खबर प्राप्त भएको छ । 

अधिकांश समय विद्यालय नजाने गएपनि गफगाफमै सीमित हुने, राजनीति र आस्थागत संगठनकै काममा लाग्ने र विद्यालयमा चिन्ता र चासो कम राख्ने शिक्षकहरुकै हाबी भएकोले समस्या देखिएको निष्कर्ष अभिभावकको छ । यता अभिभावकले समेत सन्तानको शिक्षा अवस्था बारे घरमा कुनै चासो र सरोकार नराख्दा यो स्थिति आएको बुझाई शिक्षकहरुको छ । 

पालिकाहरुले भने लगानी सामथ्र्यले भ्याएसम्म गरिएको, पालिका स्तरमा अपुग शिक्षक भएको विद्यालयमा स्वयम सेवक शिक्षक राखिएको र भौतिक विकासमा समेत बिशेष ध्यान दिने गर्दापनि सुधार नहुनु दुखत विषय भएकोले गम्भीर समीक्षा गर्ने तयारीमा देखिएका छन् । पछिल्लो समय शैक्षिक गुणस्तर झन खस्कीदै गएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस