बिहिबार, ०३ असोज २०८१

छैटौं प्रयासमा पूरा भयो यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना

सुर्खेत  : अन्ततः यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना साकार भएको छ । गठबन्धनमा रहेका दलहरू नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

२०७४ सालको निर्वाचनमा २० सीटसहित नेकपा एमाले पहिलो पार्टी बनेको थियो । त्यसबेला एमालेबाट यामलाल कँडेल मुख्यमन्त्री बन्छन् भन्ने धेरैको अनुमान थियो । तर, उक्त अनुमान फेल खायो ।

नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादीका महेन्द्रबहादुर शाही २०७४ फागुन ३ गते मुख्यमन्त्री बने । त्यसबेला एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने सहमति थियो । तर, एमाले र माओवादी नै छुट्टिएपछि सहमति कार्यान्वयन हुन पाएन । जसअनुसार २०७७ असोज २४ गते कँडेलले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याए । तर, उक्त प्रस्ताव पनि फेल खायो ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालते एमाले र माओवादी केन्द्र ब्युँताएपछि फेरि कँडेलले २०७८ वैशाख १ गते शाही नेतृत्वको सरकारविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव ल्याएका थिए ।

तर, एमालेबाट माधव नेपाल समूहका प्रकाश ज्वालालगायतका चार प्रदेश सांसदले फ्लो क्रस गरेपछि कँडेलको मुख्यमन्त्री बन्ने तेस्रो प्रयास पनि खेर गयो ।

मुख्यमन्त्री बन्ने सपना देखेका कँडेलले २०७९ सालको आमनिर्वाचनमा फेरि प्रदेश नै रोजे । चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गर्दै उनी विजयी भए ।

त्यसबेला एमालेबाट कँडेल, कांग्रेसबाट जीवनबहादुर शाही र माओवादीबाट राजकुमार शर्मालाई मुख्यमन्त्रीको दाबेदार मानिएको थियो । विडम्बना नै मान्नुपर्छ, पुस २४ गते भएको केन्द्रीय सहमतिले कँडेलको मुख्यमन्त्री बन्ने सपनामा फेरि ‘ब्रेक’ लाग्यो । झिनो आशाका साथ पुस २७ गते फेरि कर्णाली सरकारको नेतृत्व माओवादी र एमालेबीच आलोपालो गर्ने सहमति भयो ।

तर, बीचैमा फेरि केन्द्रीय सत्ताको समीकरण बदलियो । कँडेलको मुख्यमन्त्री बन्ने सपना फेरि पर धकेलियो । २०८० बैशाख २ गते एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिनुपर्‍यो ।

एमाले र माओवादीको केन्द्रीय सत्ता समीकरण फेरि व्युँतिएपछि अब भने कँडेलले मुख्यमन्त्रीमा गरेको संघर्षको फल पाएका छन् । प्रदेश प्रमुख परियारले मंगलबार मुख्यमन्त्री नियुक्त गरेपछि कँडेलको सत्तायात्रा सुरू भएको छ । साभार नेपाल प्रेस 

प्रतिक्रिया दिनुहोस