बाजुरा : नेकपा एमाले बाजुराको बैठक बस्न लागेको छ । आठौं जिल्ला अधिवेशनको तयारी र मिति तोक्ने तयारीका साथ बैठक बस्न लागेको हो । यस अघि २ पटक मिति तोकिदाँ पनि अधिवेशन हुन नसकेपछि तेस्रो पटकका लागि अर्को मिति तोक्ने तयारी गरिएको छ ।
पहिलो मिति घि पौष २६, २७ र २८ गते कोल्टीमा अधिवेशन गर्ने गरि तोकिएको थियो । दोस्रो मिति चैत्र १६ र १७ गते मार्तडीमा गर्ने गरि तोकिएको थियो । तर ती दुबै मितिमा अधिवेशनका कुनै तयारी समेत नगरि टारिएको छ ।
पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि पदाधिकारी मध्येबाट सचिवलाई संयोजक बनाउने कि पहिलेकै अध्यक्षबाट अधिवेशन गर्ने भन्नेमा सुरुदेखि विवाद भएको थियो । सुरुमा पहिलेकै कमिटीले अधिवेशन गर्ने निर्णय गरिएको थियो । पछि त्यो विधान विपरित भन्दै संगठन विभागमा उजुरी परेको थियो ।
उजुरी पछि प्रदेश कमिटीले पुरानै कमिटीको अध्यक्षतामा बैठक बसेर नयाँ व्यक्तिलाई जिम्मेवारी दिएर अधिवेशन गर्न पत्राचार गरेको थियो । सोही पत्रका आधारमा जिल्ला कमिटीको बैठक बसेर सचिव भरत थापालाई अध्यक्ष, उपसचिव जनक कुमार बोहरालाई उपाध्यक्ष र कार्यालय सचिव काशी विकलाई सचिवको जिम्मेवारी दिएर अधिवेशन गर्ने कमिटी घोषणा गरिएको थियो ।
पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला इन्चार्ज भैरवबहादुर सिंह सहीतका नेताहरु बीचको सहमति पछि जिल्ला कमिटी घोषणासँगै चैत्रको १६ र १७ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो । त्यो निर्णय समेत कार्यान्वयन हुन सकेन । अधिवेशनकै तयारीका लागि चैत्र १ गते बोलाइएको बैठक गणपुरक संख्या नै नपुगेर स्थगीत गरिएको गर्नु परेको थियो ।
त्यस पछि एमाले बाजुराको बैठक चैत्र २१ गते बस्न लागेको हो । अधिवेशनको तयारी, मिति तय र पार्टी सदस्यता नविकरणका विषयमा छलफल हुने अध्यक्ष भरत थापाले बताएका छन् । प्रदेश कमिटीले अनुमोदन नगरेको, एइइ पनि चलिरहेको र तयारीका लागि समय अपुग भएकोले चैत्र १६ र १७ गते हुन नसकेका अधिवेशन अब बैशाख अन्तिम र जेष्ठको पहिलो हप्ता भित्र हुने गरि तयारी थाल्ने अध्यक्ष थापाले जानकारी दिएका छन् ।
पार्टीको आठौं जिल्ला अधिवेशनकै मिति तय गरेर तयारीका काम थालनी गर्न बैठक बस्न लागेको पार्टी सचिव काशी विकले जानकारी दिएका छन् । यस अघिका मितिमा विविध कारण अधिवेशन हुन नसकेपनि अब हुने गरि मिति तोकिने र जेष्ठ भित्र गरिसक्नु पर्ने बाध्यकारी व्यवस्था भएकाले पनि त्यस अगाडि नै गर्ने गरि आफुहरु लागि परेको सचिव विकको भनाई छ ।
नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन बैशाख अन्तिम साता वा जेष्ठ पहिलो साता तोक्ने नेताहरुले आन्तरिक गृहकार्य थालेका छन् । जेष्ठ ३ गते मदनआश्रीत स्मृति दिवसको दिन पारेर जिल्ला अधिवेशन गर्ने र पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थित गराउने गृहकार्य एमाले बाजुराले थालेको छ ।
भोलिको बैठकमा पनि गणपुरक संख्या पुग्ने नपुग्ने अनिश्चित देखिन्छ । तर पार्टी अध्यक्ष भरत थापाले कमिटीको सदस्य बैठकमा नआउने कुरा नैतिकताको प्रश्न पनि भएकोले लगातार तीन बैठकसम्म नआए विदाइ गरेर बाँकी सदस्य बीचको बैठकले निर्णय गर्ने नीति लिने तयारी गरिएको बताएका छन् ।
भोलिकै बैठकले प्रतिनिधी छनोट मापदण्ड पनि निर्धारण गर्ने छ । भने प्रतिनिधी छनोटको तालिका र केन्द्रीय निर्वाचन समितिलाई पत्राचार गर्ने निर्णय गरिने सचिव काशी विकले जानकारी दिएका छन् । बैठक विहान ११ बजे पार्टी कार्यालयमा बस्ने तय गरिएको छ ।
बैठकका लागि जिल्ला इन्र्चाज भैरवबहादुर सिंह बाजुरा आइसक्नु भएको छ । भने पार्टी केन्द्रीय सदस्य लालबहादुर थापा सहीतका केन्द्रीय नेताहरु पनि बाजुरा आइपुगेका छन् । पार्टी जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु पनि मार्तडी आउनेक्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस