शुक्रबार, ०२ कार्तिक २०८१

शैक्षिकसत्र अगावै आइपुगे बाजुरामा पाठ्यपुस्तक

बाजुरा : शैक्षिकसत्र सुरु हुनु अगावै पाठ्यपुस्तक आइपुगेका छन् । शैक्षिक सत्रको लामो समयसम्म पनि पाठ्यपुस्तक नपुग्दा आलोचना हुदै आएकोमा यो वर्ष भने शैक्षिक सत्र अगावै आइपुगेका छन् । 

हिमाली तथा पहाडी जिल्लाका विद्यार्थीले बर्षेनी यो समस्या भोग्दै आएका थिए । यस वर्षको नयाँ शैक्षिक शत्र ०८१ का लागि भने चैतको तेस्रो सातामै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको डेल्टा स्टोर तथा करुणा पुस्तक पसल मार्तडीका विक्रेता नृप खातीले बताएका छन् ।

आफ्ले जिम्मेवारी लिएका गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा किताब पुगिसकेको बताएका छन् ।

जनक शिक्षा सामाग्री केन्द्र धनगढीले चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट किताब वितरण सुरु गरेको थियो । बाजुरा जिल्लामा १ लाख १० हजार ३७ सेट बाजुरामा पुगिसकेको जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख रामबहादुर कुँवरले बताएका छन् । बाजुरामा ८ जना विक्रेतामध्ये ७ जनाले लिइसकेको एक जना लिने क्रममा रहेको कुँवरले बताएका छन् ।

बाजुरामा ०८१ का लागि अनुमानित १ लाख २७ हजार ८ सय ६ सेट रहेको जसमा ८६ प्रतिशत किताब बाजुरा पुगिसकेको र बाँकी किताब केही दिनमा बाजुरा पुग्ने बुझिएको छ । जनक शिक्षा सामाग्री केन्द्र धनगढीले सुदूरपश्चिम प्रदेशका विकट जिल्लामा किताब विक्री तथा वितरण सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस