शुक्रबार, ०२ कार्तिक २०८१

बिनालाई बहिष्कार गर्ने माओवादी नेतालाई कारबाहीको संकेत

धनगढी : नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद बल्झिएको छ । बिना मगर (दाहाल) लाई प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिएपछि माओवादीमा विवाद सुरु भएको हो । विना मगर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । 

सिनियर नेतालाई जिम्मेवारी विहिन गराएर आफ्नै बुहारीलाई सहइन्चार्जको जिम्मेवारी दिएको, पार्टी भित्रका इमान्दार कार्यकर्ता माथि अन्याय गरिएको आक्रोश सहीत खगराज भट्ट निकट नेताहरुले छलफल, बैठक समेत बहिष्कार गर्दै आएका छन् ।

प्रदेशको पार्टी सहइन्चार्ज बनाइएपछि पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले बिनालाई नस्वीकारेको बताइन्छ । सिनियर नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बिनालाई माओवादी सुदूरपश्चिममा सहइन्चार्ज बनाएको पार्टीको प्रदेश कमिटीको बैठकमै कुरा उठेको बुझिएको छ । त्यतिमात्र होइन, हालै केही केन्द्रिय सदस्यहरुले बिनालाई बैठकबाटै बहिष्कार गरेका थिए ।

प्रदेशस्तरको बैठकमा कैलालीका माओवादी नेता वीरमान चौधरी, हरि ज्ञवाली, भगत बडुवाल, हेमराज भट्टराई, नेपबहादुर चौधरी लगायतले बिनालाई बहिष्कार गरेका हुन् । फागुन १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले उपमहासचिव गिरिराजमणि पोखरेललाई सुदूरपश्चिमको इन्चार्ज र बिनालाई सहइन्चार्जको जिम्मेवारी दिएको थियो ।  

उक्त निर्णयमा असहमति जनाउँदै तत्काल स्थायी समिति सदस्य खगराज भट्ट बैठकबाट बाहिरिएका थिए । त्यसपछि विवाद सुरु भएकोमा फागुन १६ देखि चर्किएको विवाद अझै चर्किँदै गएको छ। यता इन्चार्ज पोखरेलले भने बहिष्कार गर्नेहरुलाई कारबाही गर्ने सवालमा कुनै स्पष्ट धारणा दिएका छैनन् ।

पोखरेलले बहिष्कार र कारबाहीको सवालमा पार्टीको आन्तरिक कुरा भन्दै बहिष्कार गर्नेहरुसँग संवाद भैरहेको जनाएका छन् । तर विना मगरलाई जिम्मेवारी दिएको विषयलाई लिएर बहिष्कार गर्नेलाई कारवाही हुन सक्ने दाबी श्रोतको छ । 

पार्टी विधान नमान्ने र केन्द्रीय कमिटीको निर्णय विरुद्ध जाने कुरा पार्टी हित र विधी विपरित भएकोले बहिष्कार गर्नेहरुले जानुन भन्ने एक केन्द्रीय सदस्यले बताए । पार्टी विपरित जाने छुट कसैलाई नभएकोले त्यसमा पार्टी नेतृत्व स्पष्ट हुनु पर्ने धारणा ती केन्द्रीय सदस्यको छ । 

माओवादी भित्र प्रचण्डले आफू अनुकुल र परिवारवादलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ । तर विना मगर निकट केन्द्रीय सदस्यहरुले विना मगरको पार्टी निर्माणमा योगदान प्रचण्डकै कारण मात्रै नभएकोले परिवारसँग जोड्न नहुने तर्क गर्छन् । 

प्रतिक्रिया दिनुहोस