शुक्रबार, ०२ कार्तिक २०८१

नागरिक उन्मुक्ती भित्र चर्कियो रेशम र रञ्जीताको द्वन्द्ध : रञ्जीताले समर्थन फिर्ताको निर्देशन दिँदा रेशमको असहमति

बाजुरा : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका चार मन्त्रीलाई राम्रो काम गर्न निर्देशन दिएका छन् । आज आफ्नो बर्दियास्थित घरमा सुदूरपश्चिम प्रदेशका चार मन्त्रीहरूलाई नेता चौधरीले जनतालाई प्रधान मानेर काम गर्न निर्देशन दिएका हुन् ।

रेशम चौधरी भेट्न सुदूरपश्चिम प्रदेशबाट शुक्रवार मन्त्रीको शपथ खाएका तीन जना र यस अघि नै मन्त्री रहेको एक जना गुलरिया गएका थिए । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका विभा विभागीय मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए ।

उनीहरूलाई बधाई दिँदै राम्रो काम गर्न रेशमले निर्देशन दिएका हुन् । ‘सरकारमा समर्थन रहन्छ । राम्रो काम गर्नुहोला उहाँले हामीलाई भन्नु भयो’ भेटमा रहेका एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । उक्त भेटमा सम्भावित राजनैतिक परिस्थितका विषयमा पनि कुराकानी भएको थियो ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिइसकेकी छन् । समर्थन फिर्ता लिन समेत उनले संसदीय दलको नेतालाई निर्देशन दिइसकेकी छन् । नभए कारबाही गर्न सम्मको चेतावनी दिएकी हुन् । 

यता समर्थन फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको संसदीय दलका नेता घनश्याम चौधरीले बताएका छन् । ‘आज दलको बैठक बसेको छैन समर्थन फिर्ता गर्ने भन्ने विषयमा त्यही बैठकमा छलफल हुन्छ ’‘अहिले सम्म हाम्रो समर्थन यो सरकारलाई रहेको चौधरीले बताएका छन् । 

उसोत एक जना स्वतन्त्र र एक जना राप्रपाका सांसदले साथ नदिएसम्म सुदूरपश्चिम प्रदेश सरकार अल्पमलमा हुने निश्चित नै छ । नागरिक उन्मक्तीले साथ दिएपनि १८ जना काँग्रेसका सांसद र ७ जना उन्मुक्तीका सांसदले मात्रै बहुमत पुग्ने छैन् । सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छ । अध्यक्ष रञ्जीता श्रेष्ठले आफू केन्द्रमा मन्त्री हुन पनि प्रदेशमा सत्ता समिकरणकै पक्षमा निर्णय गर्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस