शुक्रबार, ०२ कार्तिक २०८१

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा बाजुरा ४ सहीत ६ जना पक्राउ

पुर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत, काठमाडौंको आदेश

काठमाडौँ : १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् ।

बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक–पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्। जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख छ ।

तीनै बालिकामाथि गत २१ माघमा मूलपानीस्थित लभ टू लभ होटेल एन्ड लजमा सामूहिक बलात्कार गरेको अभियोगमा अर्को मुद्दा दायर भएको छ । जसमा दार्चुलाका शुभराज पन्त र बाजुराका चेतराज दानी प्रतिवादी छन् । प्रहरी वृत्त बौद्धले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै, २५ माघमा भण्डारखालनजिकै पनि बालिकामाथि पटक–पटक बलात्कार भएकोमा अर्को मुद्दा दायर भएको छ । जसमा रुकुम पश्चिमका खडकप्रसाद गिरी पक्राउ परेका छन् । यो घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश किशोर घिमिरेको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । दैनिक नेपाल 
 

प्रतिक्रिया दिनुहोस