आइतबार, ०७ पुष २०८१

मालपोत कार्यालय बाजुरामा फागुनमा मात्रै घरजग्गा कारोबारबाट ४२ लाख राजश्व संकलन

बाजुरा : मालपोत कार्यालय बाजुराले फागुन महिनामा मात्रै ४२ लाख राजश्व संकलन गरेको छ । घरजग्गा कारोबारबाट मात्रै कार्यालयले एक महिनाको अवधीमा ४२ लाख राजश्व संकलन गरेको कार्यालय प्रमुख लक्ष्मण देव पाण्डेले जानकारी दिएका छन् । 

यो वर्षको साउनदेखि माघ मसान्तसम्म भने बाजुरामा घरजग्गा कारोबार न्यून रहेको छ । ७ महिनाको अवधीमा ३७ लाख ३९ हजार ९ सय १५ रुपैया राजश्व संकलन भएको थियो । भने फागुनको एक महिनामा मात्रै ४२ लाख बढी राजश्व संकलन गरिएको छ । 

संकलन भएको राजश्व पनि २० दिनसम्मको मात्रै रहेको र बाँकी १० दिन अझै रहेकोले थप संकलन हुने कार्यालयले अनुमान गरेको छ । फागुन २० गतेसम्म भने मालपोत कार्यालयले ७९ लाख ३९ हजार ९ सय १५ रुपैया बढी राजश्व संकलन गरेको छ । 

हालसम्म ३ सय ७ वटा जग्गा किनबेच रजिष्टेशन गरिएको छ । गत बर्षहरुको तुलनामा यो बर्ष धेरै जग्गा कारोबार गरिएको र असारसम्म अझै बढ्ने कार्यालयले अनुमान गरेको छ । संघियता पछिको यो वर्ष नै अत्याधिक जग्गा कारोबार गरिएको छ । कारोबार बजार क्षेत्रभन्दा बढी गाउँमै देखिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठमा सबै स्थानीय तहलाई मंसिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । स्थानीय तहले नीतिगत निर्णय सहीत कार्यान्वयन गरेपनि कारोबार बढी देखिएको कार्यालय प्रमुख लक्ष्मणदेव पाण्डेले बताएका छन् ।

फागुन महिनाको राजश्व संकलनको अनुपातमा यो आर्थिक बर्षको अन्त्य सम्म एक करोड भन्दा माथि राजश्व संकलन हुने मालपोत कार्यालयको अनुमान छ । यो आर्थिक वर्षको फागुनसम्म मरुवाको सरुवा सम्बन्धी कारोबार ७२ वटा रहेका छन भने ८८ वटा धितो रोक्का गरिएको मालपोत कार्यालय बाजुराको तथ्याकंमा उल्लेख छ । 

बैक तथा बित्तिय संस्थाबाट हुने रोक्का, भोक बन्दकी, ठाडो रोक्का, तमसुक रोक्का गरि ८८ वटा कित्ता रोक्काको कारोबार भएको उल्लेख छ । व्यावसायिक रूपमा परियोजना बनाउनेले सडकको मापदण्डअनुसार साढे २ आनाको कित्ताकाट गर्न पाउने ब्यबस्था रहेको छ । 

अंशबण्डामा पनि साढे २ आनासम्मको कित्ताकाट गर्न पाउने व्यवस्था संशोधित नियमावलीले गरेको छ । तर, अन्यको हकमा द्विविधा भएकाले सर्वसाधारणले जग्गा खरिद बिक्री गर्न समस्या देखिएको छ । 

प्रतिक्रिया दिनुहोस