शुक्रबार, ०२ कार्तिक २०८१

गठबन्धनबाटै घेराबन्दीमा सुदूरपश्चिम सरकार

आन्तरिक खटपटको संकेत

बाजुरा : सत्ता गठबन्धन धर्मराउने चर्चा चलिरहेका बेला सुदूरपश्चिममा पनि गठबन्धन खटपट देखिएको छ । सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले नै सरकारको प्रतिनिधित्व गरिरहेको दल नेपाली काँग्रेसविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । जसअनुरुप गठबन्धन दलहरु नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तयारी थालेका हुन् ।

तयारीमात्र होइन, भोलि धनगढीमा काँग्रेसबाहेकका गठबन्धन दलको गोप्य बैठक बसेर अब सरकार र सरकार प्रमुखसँग निर्णायक वार्ता गर्ने बताइएको छ । स्रोतका अनुसार भोलि अनौपचारिक बैठक बसेर सो निर्णय हुने छ ।

यसैक्रममा आजै सत्तारुढ दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सांसद ओमविक्रम भाट (सरलले) सरकारले सरकारको समिक्षा गर्ने बेला आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले प्रदेश सरकार दिशा विहीन र कुहिरो भित्र हराएको कागजस्तो भौतारिरहेको भन्दै आफूहरू निर्णायक छलफलमा जुट्ने सङ्केत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको छ। यहाँ माओवादीका दुई मन्त्री र एक राज्य मन्त्री छन् । तर, माओवादीकै सांसद भाटले सरकारले गति दिन नसकेको भन्दै आलोचना गरेका हुन् ।

‘सुदूरपश्चिम प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भइसकेको छ । यो एक बर्ष सरकार दिशा विहीन र कुहिरो भित्र हराएको कागजस्तो भौतारिरहेको छर्लङ्ग छ । त्यसकारण सरकारबारे गम्भीर समीक्षा आजको आवश्यकता हो’ उनले लेखेका छन्, ‘यदि सुदूरपश्चिमेली जनताको हकहित, विकास, समृद्धि, सुशासन र सङ्घीयता कार्यान्वयनको पक्षमा काम गर्न सकिँदैन भने हामीहरूले निर्णायक कदम चाल्ने अवस्था सृजना हुँदै छ ।’

उनले सत्ता गठबन्धनभित्रै पनि सरकारमा कांग्रेस एकलौटी हाबी भएको भन्दै त्यस विषयमा अन्य दलहरूबिच छलफल गरिने बताएका छन् । ‘समयमा गठबन्धनभित्र छलफल गरेर उपयुक्त र सही समाधान निकाल्न सकिँदैन र सरकार त्यसका लागि तयार हुँदैन भने सरकारबारे हामी गम्भीरतापूर्वक सोच्न बाध्य हुनेछौँ । 

त्यसका लागी हामी गठबन्धन भित्र गम्भीर विमर्श एवं समीक्षा गरिरहेका छौँ ’ उनले लेखेका छन्, ‘केहि समयभित्रै गठबन्धन सरकार भित्र रहेका दलहरूको सामूहिक धारणा सार्वजनिक गरिनेछ । हाम्रो प्राथमिकता सरकार होइन सुशासन समृद्धि सामाजिक न्याय सहितको सुन्दर र समृद्ध सुदूरपश्चिम हो ।’

भाट सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र प्रभावशाली नेता मानिन्छन्। उनले सामाजिक सञ्जालमा लेखेको विषयले सुदूरपश्चिम प्रदेशमा सत्ता सहकार्यमा खटपट भएको सङ्केत दिएका छन् । 

केन्द्रमा गठबन्धनमा विभिन्न प्रश्न उठिरहेका बेला प्रदेशमा माओवादी सांसदले सरकारका विषयमा निर्णायक कदम चाल्ने अवस्था आउने भन्दै दिएको अभिव्यक्ति अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । 

प्रतिक्रिया दिनुहोस