शुक्रबार, ०२ कार्तिक २०८१

खप्तड छेडेदहले पारित गर्यो मर्यादीत महिनावारी व्यवस्थापन कार्यविधी

७ महिनामा २९ प्रतिशत बजेट खर्च

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले मर्यादीत महिनावारी व्यवस्थापन कार्यविधी २०८० पारित गरेको छ । पालिका भित्र सामाजिक समस्याको रुपमा रहेको छाउ कुप्रथाको उचित निवारणका लागि मर्यादीत महिनावारी व्यवस्थापन कार्यविधी २०८० पारित गरेको हो । छाउकुप्रथालाई कार्यविधी पारित भएसँगै मर्यादीत महिनावारी शब्दले संवोधन गर्ने र निवारणका लागि कार्यविधी बमोजिम नै काम गर्ने निर्णय गरेको छ । 

पालिकाको गाउँ सभाले मर्यादीत महिनावारी सहीत अन्य ६ वटा कार्यविधी पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायले बताएका छन् । जसमा बिषयगत समिति कार्यसंचालन कार्यबिधी २०८०, टोलबिकास संस्था गठन तथा परिचालन निर्देशिका २०८०, प्रशासकिय कार्यबिधी नियमित गर्ने ऐन २०८०, गाउँपालिका कार्यसंचालन  निर्देशीका २०८० र कार्यस्थलमा हुने यौनजन्य दुब्र्यबाहार आचारसंहिता २०८० रहेका छन् ।

महत्वपूर्ण मानिएको र सामाजिक रुपमा प्रतिष्ठाकै रुपमा हेरिएको मर्यादित महिनावारी र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवाहार आचारसंहिता कार्यविधी २०८० पनि पारित गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् । 

खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पुर्वाधार निर्माणमा सुस्तता र स्रोत साधनको प्रयोगमा निकै पछाडि रहेकाले स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन रातदिन प्रतिबद्ध भएर पालिकाको बिकाशका लागि सबैले सहयोग गर्नुपर्ने गाउँपालिका अध्यक्ष  रावतले बताएका छन् । 

गाउँपालिकामा आर्थिक बर्ष २०८०÷८१ को साढे ७ महिनामा कुल बजेटको २९.४ प्रतिशत बजेट खर्च भएको छ । गाउँ सभाले नागरिकका जनजिविकाका सवालमा आधारित भएर पालिकामा नीति निर्माण गरेर कार्यान्वयनमा जोड दिएको उपाध्यक्ष बिशुदेवि नाथ बताएका छन् । 

गाउँपालिकामा थुप्रै नीति नियम निर्माण गर्न बाँकी रहेकाले आगामी दिनमा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर नीति निर्माण गरेर कार्यान्वयनको बाटोमा लाग्नुपर्नेमा गरि निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले बताएका छन् । 

गाउँसभामा स्वागत मन्तव्य राख्दै गाउँपालिकाको मुहार फेर्न नीति निर्माण र कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने वडा नंः ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।  सभा पालिकाको सभा हलमा आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस