शुक्रबार, ०४ असोज २०८१

बाजुरामा उद्यम विकास गर्न घरेलुद्धारा साना उद्यमीलाई औजार उपकरण सहयोग

बाजुरा : साना उद्योगलाई प्रवद्र्धन तथा विकास गर्न घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराले उद्यमीलाई औजार उपकरण सहयोग गरेको छ । ८० प्रतिशत लगानीमा सफल उद्यम सञ्चालन गरिरहेका ७ जना उद्यमीलाई मेसिन सहीतको उपकरण सहयोग गरिएको कार्यालय प्रमुख मानबहादुर चाडले बताएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय बाजुराले उद्यमीहरुलाई कार्यालयमै बोलाएर उपकरण हस्तान्त्रण गरेको छ । प्रत्येक उपकरणको २० प्रतिशत मूल्य भने स्वयम उद्यमीले नै बेहोरेका छन् । उद्यमीलाई लगानी प्रति अपनत्व बढाउन ८० प्रतिशत कार्यालयको र २० प्रतिशत स्वयम व्यक्तिको लगानी गराइएको कार्यालयले बताएको छ । 

बडीमालिकाका २ र त्रिवेणी, खप्तड छेडेदह, बुढीनन्दा, जगन्नाथ, स्वामिकात्र्तिक खापरबा १।१ जना गरि ७ जनालाई औजार उपकरण हस्तान्त्रण गरिएको छ । प्रत्येक पालिकाको एक जनालाई सहयोग गर्ने कार्यालयको योजना रहेपनि बुढीगंगा, हिमाली र गौमुलबाट कसैको पनि निवेदन नै नपरेको कार्यालयले बताएको छ । 

उद्यमीको २० प्रतिशत आफ्नै लगानी बाहेका ८ लाख बराबरका मेसिन, औजार र उपकरण स्थानीय उद्यमीलाई सहयोग गरिएको छ । स्थानीय उद्यम विकास र उत्पादनका लागि घरेलुले राम्रो काम गरेको र स्वयम उद्यमीले त्यसको सही सदुपयोग गर्न सके आर्थिक श्रोत विकासमा पनि सहयोग पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले बताएका छन् ।

घरेलुले बडीमालिका नगरपालिका ८ मा रहेको पादे बाख्रापालन फर्मका लागि घाँस काट्ने मेसिन, मानाकोटी बर्कु कुटानी पिसानी मिल, स्वामकार्तिक खापर गाउँपालिका १ का लागि कुटानी पिसानी मेसिन, कैलाश फर्निचर उद्योग जगन्नाथ गाउँपालिकाका लागि फर्निचर मेसिन उपलब्ध गराएको हो ।

रौले कुटानी पिसानी तथा पेलानी मिल त्रिवेणी नगरपालिकालाई कुटानी पिसानी तथा पेलानी मेसिन, बुढीनन्दा नगरपालिका २ को रोकाया फर्निचर उद्योग फर्निचर मेसिन, जयमष्टा होटल एण्ड लज छेडेदह गाउँपालिका ५ का लागि आवश्यक प्रविधि र न्यु स्टाईल लक्की टेलर्स बडीमालिका नगरपालिका ९ का लािग लुगा सिलाउने मेसिन हस्तान्त्रण गरिएको छ । 

सामान प्रविधि हस्तान्तरण कार्यान्वयन समितिका सदस्यको रोहबरमा हस्तान्त्रण गरिएको हो । समितिमा संयोजक कार्यालय प्रमुख मान बहादुर चाड, सदस्य सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेना, कोष तथा लेखा नियन्त्रक धन बहादुर थापा, सदस्य सचिव उद्योग प्रर्वद्धन शाखा प्रमुख पदम ऐर, विज्ञ सदस्य कृषि विकास बैक बाजुराका प्रमुख शिवराज भट्ट लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस