शुक्रबार, ०४ असोज २०८१

‘बुहारी’ लाई सहइन्चार्ज बनाएपछि माओवादी छोड्ने मुडमा खगराज !

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीका पुराना र शीर्ष नेता खगराज भट्टलाई जिम्मेवारी विहिन बनाएपछि रिसाएका छन् । संसदीय दलको नेताको जिम्मेवारी खोसिएको महिनादिन नबित्दै भट्टको पार्टी जिम्मेवारीको पद पनि हात नपरेपछि रिसाएका हुन् । 

भट्ट अहिले न संसदीय दलको नेता छन् न त पार्टी संगठनको कुनै मूल जिम्मेवारीमा नै देखिएका छन् । माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाएर अर्का प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दल नेता बनाएका छन् । 

त्यसको केही महिनापछि भट्ट पार्टीको जिम्मेवारीमा पनि अटेनन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य बिना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिँदा भट्टले आफूलाई दोहोरो अन्याय भएको आभास गरेका छन् ।

सहइन्चार्जको जिम्मेवारी पाएकी बिना मगर प्रचण्डकी बुहारी हुन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति जनाएका छन् । यता भट्टले पनि सामाजिक सञ्जालमा लेखेका छन् । ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्ष को राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ ।’

स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यले सहइन्चार्जको जिम्मेवारी पाउने बेला खगराजले भने केही जिम्मेवारी पाएनन्। त्यसको सवालमा उनले लिखित असहमति नै सार्वजनिक गरेका छन् ।

स्रोतका अनुसार उनले पार्टी नै छोड्ने गरि छलफल गरिरहेका छन् । जबकी प्रदेश सभा सदस्यको चुनाव लड्नु अगाडि मुख्यमन्त्री भनेर प्रचार गरिएका उनी पार्टीले मुख्यमन्त्री नपाउँदै संसदीय दलको नेताबाट पनि हटाइएका थिए ।

तत्कालीन समयमा डडेल्धुराबाट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आशमा प्रदेश सभा सदस्य लडेर निर्वाचित भएका उनी अहिले पार्टी र संसदीय राजनीतिका कारण त्यो रेसबाट पनि आउट भएका छन् । केही माओवादी नेताहरुले भने खगराजले पार्टी छोड्ने तयारी गरेको समेत भन्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस