शुक्रबार, ०४ असोज २०८१

नेकपा एमाले बाजुराको अधिवेशन तयारीमा ढिलाई, छैन कुनै सुरसार

बाजुरा : नेकपा एमाले बाजुराको अधिवेशन तयारी सुस्त देखिएको छ । चैत्र १६ र १७ गते आठौं जिल्ला अधिवेशनको मिति घोषणा गरिएपनि तयारीको काम भने सुस्त देखिएको छ । अधिवेशन तयारीका लागि कुनै समिति उपसमिति बनाइएको छैन् । भने पदाधिकारीको बैठक समेत बसेको छैन् ।

नेकपा एमालेका तत्कालिन अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि रिक्त पदपूर्ति भने लामो रस्साकस्सी पछि गएको माघ २९ गतेको जिल्ला कमिटीको बैठकले गरेको छ । बैठकले अध्यक्षमा भरत थापा, उपाध्यक्ष जनक बोहरा, सचिव काशी विक र उपसचिव पुरानै जिम्मेवारी प्राप्त हरिबहादुर रोकायालाई पदपूर्ति सहीत जिम्मेवारी तोकेको थियो । 

जिम्मेवारी प्राप्त पछि पत्रकार सम्मेलन गरेर तयारीमा जुट्ने र समयमै अधिवेशन सकाउने प्रतिवद्धता जनाएको नेतृत्वले जिम्मेवारी पाएको दुईसाता बितिसक्दा पनि कुनै सुरसार अघि बढाएका छैनन् । पदाधिकारीबीच आपसी छलफल र तयारी बारे पराशर्म समेत भएको छैन् । 

पदपूर्ति गरिएकोले पार्टी विधान अनुसार जिल्ला कमिटीको निर्णय एक तह माथिबाट अनुमोदन गर्नुपर्ने विधानको व्यवस्था रहेको र सोही अनुसार प्रदेश कमिटीबाट अनुमोदन भएर नआएकोले तयारीका कामकारवाहीलाई गति दिन ढिलाई भएको अध्यक्ष भरत थापाले बताएका छन् । यही प्रकारको तयारीले तोकिएकै मितिमा अधिवेशन हुनेमा आशंका गरिएको छ ।

एसइइ र अन्य प्राविधिक विषयले केही असर गर्न सक्छ भन्ने अनुमान गरिएको छ । त्यस बाहेक कुनै हालतमा पनि अधिवेशन नसर्ने र स्थगीत पनि नहुने अध्यक्ष थापाको दाबी छ । पदाधिकारी बीचको बैठक बसेर तयारी सुरु गरिने र तोकिएकै समयमा अधिवेशन हुने सचिव काशी विकले बताएका छन् ।

संगठीत सदस्यताको वडागत सूची तयारी पार्ने, लोगो र नारा तय गर्ने, प्रचार देखि अन्य व्यवस्थापनका लागि उपसमिति गठन गरि कामका लागि आन्तरिक गृहकार्य भइरहेपनि ठोस निर्णय गरिएको छैन् । चैत्रमा हुने अधिवेशनका लागि बाजुरा एमालेमा दुई जनाको दाबेदारी बलियो देखिएको छ ।

पदपूर्तिबाट अध्यक्ष बनेका भरत थापा र लालबहादुर ओली प्रमुख आकांक्षी देखिएका छन् । एमाले केन्द्रीय प्रतिनिधी परिषद् सदस्य रंगमान शाहीले पनि रुचि देखाएका छन् । तर अन्तिममा चुनाव नै हुने अवस्था आए भरत थापा र लालबहादुर ओली बीच नै हुने देखिएको छ । 

थापा अध्यक्षको जिम्मेवारी पाइसकेपछि अब एक कार्यकाल त्यही पदका लागि निरन्तरता हुनु पर्ने अडानमा हुनेछन् । भने ओली दशक पहिला देखिको अध्यक्षको उम्मेदवारीलाई यो पटक निर्णायक बनाउने मनस्थितिमा छन् । सबैभन्दा कडा प्रतिस्पर्धा अध्यक्षमै हुने देखिएको छ । 

पार्टी जिल्ला अध्यक्षका लागि बाजुरामा हालसम्म चुनाव भएको छैन् । यो पटक सहमतिको संभावना निकै कम देखिएकोले चुनाव हुने तयारीका लागि दुबै जना नेता लागि परेका छन् । दुई टिम बनाएर नै चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस