शुक्रबार, ०४ असोज २०८१

एमाले नेता ऐन महरको राजीनामा फिर्ता गर्न बालकोटको ग्रिन सिंग्नल

काठमाडौं :  नेकपा एमालेका युवा नेता ऐन महरलाई गरिएको कारबाही फुकूवाको तयारी भैरहेको श्रोतले दाबी गरेको छ । यौन विचलनको आरोप लागेपछि एमालेले महरलाई सचिवालय बैठकबाट कारबाहीस्वरुप पार्टीको केन्द्रिय सदस्य पदबाट हटाएको थियो ।

महरले राजीनामा नदिएरै सचिवालय बैठकले उनको राजीनामा स्वीकृत भएको विज्ञप्ति जारी गरेको थियो । एमालेभित्र युवा जमादको कमान्डर र लोकप्रिय मानिने महरलाई कारबाही गरिएपछि आलोचना पनि भएको थियो। स्रोतका अनुसार उनलाई कारबाही भएको एक महिना नपुग्दै उनको कारबाही फिर्ताको तयारी भईरहेको बुझिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महरलाई पार्टीको नियमित काममा फर्किन निर्देशन दिईसकेको बताइएको छ। अध्यक्षले महरलाई चैतभित्रै कारबाही फुकुवा गर्ने समेत बाचाँ गरेको स्रोतको दाबी छ ।

बझाङबाट एमालेको राष्ट्रिय राजनीतिमा उदाएका युवा नेता महरलाई कारबाही हानेपछि एमालेका बझाङी नेताहरु पटकपटक बालकोट धाईरहेका छन् । शुक्रबारमात्रै अध्यक्ष ओलीको जन्मदिनमा बझाङ एमालेका युवाहरु दलबलसहित बालकोट पुगेका थिए भने नेता महर छोरीसहित त्यहाँ गएका थिए । सोही अवसरमा अध्यक्षले कारबाही फिर्ता गर्ने वचन दिएको बुझिएको छ ।

ओलीले आफूले वास्तविकता बल्ल थाहा पाएको र जिल्लामा प्रतिनिधी सभाको चुनाव पनि अन्तरघातकै कारण पराजय ब्यहोर्नुपरेको कुरा आफूले जानकारी पाएको भन्दै महरलाई केन्द्रीय सदस्यको हैसियतमा पार्टीको काममा फर्किन निर्देशन दिएको बताइएको हो ।

यौन विचलनको गम्भीर आरोप लागेपछि महरलाई यसअघि नै कारबाहीको चर्चा एमालेमा भएको थियो । तर अध्यक्ष ओलीसहित एमाले केन्द्रका नेताहरूको बलियो साथ पाएका महरमाथि कारबाही अघि नबढी राजीनामा स्वीकृति गरिएको थियो । 

राजीनामा फिर्ता गराउने तयारी बारे भने ऐनले कुनै प्रतिक्रिया दिएका छैनन् । विद्यार्थी माझ बलियो पकड र बझागी जनताबीच पनि बढ्दो लोकप्रीयताकै कारण सामान्य विषयलाई लिएर कारवाही गराउनेसम्म खेल चालिएको आरोप महर पक्षको छ । बालकोटको बलियो साथ पाएका महरको राजीनामा चैत्र भित्रै फिर्ता हुने श्रोतको दाबी छ । साभार महेन्द्रनगर पोष्ट 

प्रतिक्रिया दिनुहोस