आइतबार, ०७ पुष २०८१

बाजुरामा समता स्कुलका ६ वर्ष : सस्तो शुल्कमा गुणस्तरीय शिक्षा

भव्य रुपमा मनायो समताले बार्षिक उत्सव

बाजुरा : समता स्कुलले आफ्नो छैटौं बार्षिक उत्सव समारोह आयोजना गरेको छ । बाजुरा सदरमुकाम मार्तडीमा स्थापना भएको ६ वर्ष पुरा भएको अवसर पारी बार्षिक उत्सव समारोह आयोजना गरेको हो । अभिभावक भेला मार्फत भव्य समारोहका बीच कार्यक्रम आयोजना गरिएको समता स्कुलले बताएको छ । 

सस्तो शुल्कमा, अंग्रेजी माध्यम सहीतको शिक्षा दिने उदेश्य सहीत देशव्यापी विस्तार गरिएको समता स्कुलले बाजुरामा पनि अभिभावकको मन जितेको छ । विद्यालय समता एजुकेशन फाउण्डेशनले सञ्चालन गरेको हो । अभिभावक दिवस तथा बार्षिक उत्सव समारोहको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले उद्घाटन गरेका हुन् ।

शैक्षिक सिर्जनात्मक गतिविधी सहीत सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको स्कुलका प्रिन्सीपल दिपेन्द्र रोकायाले जानकारी दिएका छन् । बाजुरामा २०७५ सालमा समता विद्यालय पहिलो पटक सञ्चालन गरिएको हो । सुरुमा बडीमालिका नगरपालिकाले सञ्चालन अनुमति दिन नमानेपछि विवादित समेत बनेको थियो । 

हाल कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा ३ सय ४८ जना विद्यार्थी अध्ययन गरिरहेको स्कुल विकास समिति अध्यक्ष टेकबहादुर थापाले बताएका छन् । संस्थागत विद्यालय पढाउने अभिभावकले समेत समतानै रोज्ने गरेका छन् । सस्तो शुल्कमा अंग्रेजी माध्यममा राम्रो श्क्षिा दिने भएकोले अभिभावकको रोजाई नै समता स्कुल परेको अध्यक्ष थापाले बताएका छन् । 

१३ जना शिक्षक कार्यरत स्कुलमा विद्यार्थीले एक जना वापत मासिक १ सय शुल्क मात्रै तिर्ने गरेका छन् । सस्तो शुल्कमा पनि यति राम्रो व्यवस्थापन र शिक्षण सिकाइ गर्न सफल भएकै कारण समतामा विद्यार्थीको चाप बढेको बडीमालिका नगरप्रमुख अमर खड्काले बताएका छन् ।

खड्काले जुनसुकै नामले विद्यालय वा शैक्षिक संस्था स्थापना गरिएपनि एउटै उदेश्य गुणस्तरीय शिक्षा दिनु र दक्ष नागरिक उत्पादन गर्नु भएकोले उदेश्य अनुरुपका गतिविधी सञ्चालन गर्न शैक्षिक संस्था प्रतिवद्ध हुनु पर्ने धारणा राखेका छन् । शुल्क सस्तो भएर पनि आफ्नै पोशाग, पाठ्यसामाग्री र परिचयका साथ समता स्कुलले पठन पाठन गराउने गरेको समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेलले बताएका छन् ।

संस्थापक संजेल सहीत कार्यकारी निर्देशक सुदर्शन पौडेल लगायत केन्द्रीय पदाधिकारीको टोली पनि बार्षिक उत्सवको अवसर पारी बाजुरा आएको छ । समता स्कुलले बाजुरामा आफ्नो ६ वर्ष अवधी उपलब्धी मुलक र आशलाग्दो गरि बिताएको प्रतिक्रिया अध्यक्ष संजेलले दिएका छन् ।

फाउण्डेशनले कक्षा १२ सम्म माध्यमिक तह पढाउने गरि प्रक्रिया अघि बढाइ सकेको र त्यसका लागि स्थानीय समुदाय, नगर सरकार र अभिभावकहरुले साथ दिनु पर्ने बताएको छ । २ वर्षभित्र ७ सय बढी विद्यार्थी पढाउने लक्ष्य लिएको फाउण्डेशनले भवन नहुँदा भने समस्या भोगिरहेको छ । हाल भाडाको घरमा सञ्चालन भइरहेको विद्यालयमा विद्यार्थीको उच्च चाप देखिएको छ । 

समता स्कुलका प्रिन्सिपल दिपेन्द्र रोकायाको अध्यक्षतामा सुरु भएको छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेलाको प्रमुख अतिथी नगरप्रमुख अमर बहादुर खड्का रहेका थिए । भने समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेल, कार्यकारी निर्देशक सुदर्शन पौडेल, बडीालिका नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत बम बहादुर केशी, बडीमालिका ९ का वडा अध्यक्ष सूर्यकिरण विक सहीत सहभागि थिए । कार्यक्रमको सञ्चालन समता स्कुलका पूर्व प्रिन्सिपल धर्म कार्कीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस