शुक्रबार, ०४ असोज २०८१

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना

धनगढी : नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा डेजि पाण्डेले दुई सय १८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । 

सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।

फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ । 

कैलाली बहुमुखी क्याम्पसको सभापति हुँदै राजनीति गरेका ढुंगाना यस अघि तत्कालिन नेकपा एमाले कैलालीका अध्यक्ष दिर्घ सोडारीसँग पराजित भएका थिए । सोडारीसँग प्रतिस्प्रर्धा गरेको दशक पछि कैलालीको अध्यक्षमा इन्ट्री गरेका छन् । 

दुर्गा ओझा र डेजी पाण्डे समूह अन्तिममा आएर अलग अलग लडेपछि त्यसको फाइदा पनि ढुंगानालाई पुगेको हो । पाँच पदाधिकारीमा दुर्गा प्यानल निल भएको छ । भने पाण्डे र ढुंगाना प्यालनले जित हात पारेका छन् । 
 

प्रतिक्रिया दिनुहोस