आइतबार, ०७ पुष २०८१

ओलीको जन्मदिन बिशेष बाजुरामा विद्यार्थीबीच वक्तृत्वकला

बाजुरा : केपी बा स्पोर्टस् क्लबले केपी शर्मा ओली जन्मदिन बिशेष खुला वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना र सार्थकता’ विषयक खुला वक्तृत्वकला आयोजना गरिएको हो ।

विद्यार्थीको वौद्धिक क्षमता अभिवृद्धि गर्ने उदेश्यले विद्यालय स्तरीय वक्तृत्वकला योजना गरिएको क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । ओलीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय आकांक्षा संवोधन गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विकास अवधारणा सुरु गरेका थिए । 

ओली सपनाको औचित्य र सार्थकतामा विद्यार्थी बीच बहस र वौद्धिक छलफल गराउन  ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना र सार्थकता विषयमा वक्तृत्वकला आयोजना गरिएको हो । चार वटा विद्यालयका १८ जनाले प्रतियोगितामा भाग लिएका थिए । 

१८ जना मध्ये मालिका माविका नवराज उपाध्याय प्रथम भएका छन् । भने क्रियटर जोन ऐकेडेमीका किरण खड्का द्धितीय भएका छन् । मालिका माविकै सरिता थापा तृतीय र महेश नेपाली सान्त्वना स्थान ल्याउन सफल भएका छन् । 

विजेता चारै जनालाई नगद पुरस्कार सहीत प्रमाण पत्र प्रदान गरिएको छ । भने सहभागि सबैलाई प्रमाण सहीत सम्मान गरिएको छ । विद्यार्थी माझ देश विकासमा लागि ओली सपनाको औचित्य र आवश्यकता बारे बहस र छलफल गराउने कार्य नौलो र रचनात्मक भएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । 

बोहराले सहभागि वक्ताहरुको क्षमता र व्यक्तित्वबाट आफू प्रभावित भएको र देश विकासको सपनासँग विद्यार्थीहरु पनि साक्षात्कार भएको देख्दा खुसी लागेको बताएका छन् । मालिका माविको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा हजार बढीको संख्यामा विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरोकारवाला निकाय सहभागि थिए । 

क्लबका अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले बाजुरा अध्यक्ष भरत थापा थिए । धिरबहादुर दानी, कृष्ण ओली र मेनक न्यौपाने मूल्याङ्कन टिममा थिए । प्रेम नेपालीले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य विष्णु कार्कीले गरेका हुन् । 

कार्यक्रम प्रभावकारी र नयाँ सन्देश दिने खालको गरिएकोमा मालिका माविका विव्यस अध्यक्ष काशी विकले धन्यवाद दिएका छन् । विद्यालय स्तरमा हुने क्रियाकलापमा देश प्रेम, विकास र समृद्धि, सुशासन र परिवर्तनको विषयलाई पनि बहस र छलफल समेटिने कुरा जरुरी रहेको भन्दै अध्यक्ष विकले यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिएका छन् । 

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले अध्यक्ष भरत थापाले ओली सपना र योजनामा वर्तमान नेपाली समाज चलिरहेकोले ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपालीको विशाल उदेश्यलाई घरघरबाट कार्यान्वयन गर्न सुझाव दिएका छन् । 

देशी बिदेशी घेरा बन्दी बीच पनि देशको स्वाधिनता र स्वाभीमान उचो राख्ने राज नेतालाई देशका वौद्धिक वर्ग, विद्यार्थी जगत सबैले चिन्नु पर्ने धारणा राख्दै थापाले केपी बा स्पोर्टस् क्लबले जन्मदिन बिशेष आयोजना गरेको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

२०७७ सालमा ओलीकै सम्मान र सम्झनामा स्थापना गरिएको क्लबका गतिविधीले ‘समृद्ध नेपाल, सुखी नेपाली सपनालाई समेत सफल र साकार पार्न भूमिका खेलिरहेको क्लबका संरक्षक कृष्ण ओलीले बताएका छन् । बडीमालिकाका नगर प्रमुख अमर खड्काले क्लबका गतिविधी र कामले ओली सपनाको सफल कार्यान्वयनका लागि सकारात्मक दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

केपी बा स्पोर्टस् क्लबले खेल क्षेत्रको विकास र शिक्षा क्षेत्रको प्रवद्र्धनमा काम गरिरहेको छ । भने विकास निर्माण, सुशासन र युवा दुव्र्यशनी विरुद्धको अभियानलाई समेत अगाडि बढाइरहेको छ । कार्यक्रम प्रति सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आएको छ । 


 

प्रतिक्रिया दिनुहोस