शनिबार, १२ साउन २०८१

एमाले कैलालीमा जुटेन सहमति : अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा, भोलि मतदान हुने

बाजुरा : सहमतिको संभावना सकिएसँगै नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान हुने भएको छ । सहमतिबाट नेतृत्व चयन गर्न नेताहरुबीच सहमति नजुटेपछि अन्तः मतदान हुने भएको हो । चुनावमा तीन टिम बीच प्रतिस्पर्धा हुने देखिएको छ । 

नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले प्यानल सहीत उम्मेदवारी घोषणा गरेसँगै तीनगुट बीच प्रतिस्पर्धा हुने संकेत देखिएको हो । जोशीलाई नेकपा एमाले सचिव लेखराज भट्टको समर्थन रहेको बुझिएको छ । जोशीले पूर्व माओवादी विचारकै वीरबहादुर चौधरी र सचिवमा दानबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएसँगै भट्टको समर्थन जोशीलाई रहेको बुझ्न सजिलो भएको छ । 

यता पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले डेजी पाण्डेलाई समर्थन गरेको श्रोतको दाबी छ । सहमतिबाटै पाण्डेलाई अध्यक्ष बनाउन खोजेपनि थापाको प्रयास असफल भएको छ । पाण्डेलाई थापासँगै नारदमुनी राना र झपड रावलको पनि समर्थन रहेको छ । पाण्डेको टिमबाट उपाध्यक्षमा लोकेन्द्र शाही र सचिवमा ममता चौधरी रहेको बुझिएको छ ।

केन्द्रीय सदस्य दामोदर भण्डारीले यज्ञ ढुंगाना बनाउने लवीङ थालेका छन् । सचिवमा विष्णु चन्द्रलाई समर्थन गर्ने गरि ढुंगानाको टिम पनि बनेको छ । ढुंगानालाई पोलिटव्यूरो सदस्य लीला भण्डारी र केन्द्रीय सदस्य कमला ओलीले साथ दिएको श्रोतको दाबी छ ।
 

निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएसँगै आज २ बजेबाट हुने भनिएको मतदान भोलिसम्मका लागि सरेको हो । मतदान भोलि विहानबाट मात्रै हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा १ अध्यक्ष पदमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, जेडी पाण्डेको उम्मेदवारी परेको हो । कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिइसकेका छन् । 

१ जना उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् । सचिवमा विष्णुकुमार चन्द्र, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी तीन जनाले मात्रै उम्मेदवारी दिएका छन् । 

१ पुरुष उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालले उम्मेदवारी दिएका छन् । भने १ जना महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् । 

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कैलाली जिल्लाको नवौँ अधिवेशनको उद्घाटन गरेका थिए । सोही राती सहमति हुन नसके सोमबार मतदानमा जाने प्रबन्ध मिलाउन समेत निर्देशन जारी गरेका थिए । अधिवेशनको समय लम्बीदै जाँदा करिब ६ सयको हाराहारीका प्रतिनिधीले दुख पाएका छन् । भने आर्थिक रुपमा पनि अधिवेशन खर्चिलो हुदै गएको छ । 

प्रतिक्रिया दिनुहोस