शनिबार, १२ साउन २०८१

बाजुरामा ७ महिनामा ११ सय ६९ सवारी साधनलाई कारवाही,७ लाख बढी राजश्व संकलन

सडक दुर्घटनामा ८ जनाले गुमाएर ज्यान

बाजुरा : प्रहरीले आर्थिक वर्षको ७ महिनाको अवधीमा ७ लाख बढी राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधन माथी कारबाही गरी ७ महिनाको अवधीमा ७ लाख ३ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको हो ।

यो अवधीमा ११ सय ६९ सवारी साधन माथी कारबाही गरिएको छ । कारबाहीमा पर्ने मध्ये चार पाङ्गे सवारी साधानको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका ट्राफिक प्रहरी हल्वदार डवल बहादुर अधिकारीले जानकारी दिएका छन् ।

यो अवधीमा दुई सय ६२ मोटरसाईकल, ६२ वटा ट्रक, ८१ बस, ५ सय ३१, वटा जीप, १ सय ३२ ट्याक्टर र ९८ वटा अन्य सवारी साधनलाई कारवाही गरिएको छ । विना लाईसेन्स सवारी साधान चलाएको, कागजपत्र नभएको ट्राफिक नियम पालना नगरेको लगायतका कारण सवारी साधनलाई कारवाही गरिएको छ ।

गत आर्थिक बर्ष २०७९÷०८० मा जिल्ला प्रहरी कार्यालय बाजुराले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधन माथी कारबाही गरी रु ९ लाख ८१ हजार राजस्व संकलन गरेको थियो । सो अवधिमा १ हजार ६ सय ९२ वटा सवारी साधन कारबाहीमा परेका थिए ।

ट्राफिक चेकजाँचमा गरिएको कडाईका कारण राजस्व संकलनमा बृद्धी भएको जिल्ला प्रहरी कार्यालय बाजुरा सूचना अधिकारी तथा प्रहरी निरिक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् । यस्तै बाजुरामा ७ महिनाको अवधिमा जिल्लामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ७ पुरुष र १ महिला गरी ८ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् । ७ महिनमको अवधिमा भएका सवारी दुर्घटनामा परी ५ जना गम्भिर घाइते भएका छन् भने ६ जना सामान्य घाइते भएको प्रहरी कार्यालयमा रेकर्ड छ ।

जिल्लामा सबै भन्दा जीप र मोटर साइकल दुर्घटना हुने गरेका छन् । साँफे मार्तडी सडकमा पर्ने थुवाकाध, दवारी बल्दे र मार्तडी गौमुल सडकको खडिगाड, गलपाटा, मार्तडी कोल्टी सडक खण्डको खडुका र बानेपानी क्षेत्रमा बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस