शनिबार, १२ साउन २०८१

कैलाली अध्यक्षमा दुर्गा जोशीको उम्मेदवारीसँगै सुदूरपश्चिम एमालेमा तीन गुट

सहमति संभव नभएपछि चुनावी प्रक्रिया सुरु

बाजुरा : नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीले उम्मेदवारी घोषणा गरेसँगै तीन गुट देखिएका छन् । जोशीले अर्का उम्मेदवार डेजी पाण्डेलाई समर्थन गर्ने वा जोशीमा नाममा सर्वसम्मत हुने चर्चा चलेपनि अन्तिममा आएर जोशीले टिम सहीत उम्मेदवारी घोषणा गरेका हुन् ।

कैलालीको सुखडमा आइतवारदेखि सुरु भएको एमालेको जिल्ला अधिवेशनमा जोशीले पत्रकार सम्मेलन सहीत सिंगो पदाधिकारी समूहसहित उम्मेदवारी घोषणा गरेका हुन् । जोशी हाल नेकपा एमाले कैलालीका कार्यबहाक अध्यक्ष हुन् ।  

जोशीले आफ्नो टिममा उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीको नाम अघि सारेका हुन् । सुदूरपश्चिममा नेकपा एमालेभित्र गुटबन्दी मौलाएको छ । प्रदेश अधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म आइपुग्दा चरम गुटबन्दी देखिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन गत असोजमा भएको थियो । सुदूरपश्चिम एमालेभित्र यतिबेला स्पष्ट रुपमा तीन खेमा दिएको छ । सुदूरपश्चिम प्रदशेमा एमाले केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा र पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी खेमाबिच शक्ति संघर्ष देखिएको हो ।

सुदूरपश्चिममा जिल्ला अधिवेशन हुँदै गर्दा यी तीनै समूह सक्रिय देखिएका छन् । फागुन ६ गते पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच कैलाली जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । 

कैलाली जिल्लाको नेतृत्वका लागि तीन वटै गुटले आ–आफ्नो उम्मेदवार अघि सारेका छन् । अध्यक्षका आकांक्षी दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि रानाको साथ छ । अर्का आकांक्षी यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको बताइएको छ । 

गुटबन्दीका कारण एमाले कैलाली अधिवेशन लम्बिएको छ । सहमतिको प्रयास भन्दै अधिवेशन लम्ब्याएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा पनि यिनै गुट सक्रिय देखिएका छन् । हालसम्म सुदूरपश्चिम अन्तर्गत दार्चुला जिल्ला अधिवेशन मात्रै सम्पन्न भएको छ । 

पार्टी अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर उनी कार्यक्रमबाट ओझेल हुने बित्तिकै गुटबन्दी उत्कर्षमा पुगेको हो । कैलाली अधिवेशन उदघाटन गर्दै ओलीले सहमतिबाट टुङ्ग्याएको उम्मेदवारलाई आफ्नो समर्थन रहने बताएका थिए । उनले सहमति जुट्न नसके सोमबार बिहानैबाट निर्वाचन अगाडि बढाउन निर्देशन दिएका थिए ।

उनले भनेका थिए, ‘भरसक सहमति गर्नुहोस् । सबैले एउटै उम्मेदवार बनाउनुहोस् । मेरो पनि त्यही हो । मिल्न सक्नु भएन भने विलम्ब नगरीकन, यो दुई दिन चार दिन लगाउने होइन । रातभरिमा मिल्छ भने मिल्छ । मिल्दैन भने भोलि बिहानबाट चुनाव गर्नुहोस् खुरुखुरु ।’ ओलीले दिएको सो निर्देशनलाई प्रदेशस्तरका नेताहरुले बेवास्ता गरेका हुन् ।

जोशीसँग सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगाना अध्यक्ष पदका दाबेदार हुन् । एमालेले पहिलो पटक अधिवेशनअघि नै सहमति खोज्ने प्रयत्नका रूपमा आकाङ्क्षीहरूलाई इच्छापत्र पेस गर्नुपर्ने विधि तय गरेको थियो । इच्छापत्र पेस उनीहरुको बिचमा अधिवेशनमा समेत सहमति हुन सकेको छैन् ।

नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङमा छन् । जोशी केन्द्रीय सचिव भट्टले अघि सारेका नेता हुन् । भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन् । 

त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन् । उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकाङ्क्षी छन् । साँझबाट चुनावी प्रक्रिया अघि बढाइएको छ । नामवली प्रकाशन देखि उम्मेदवारी दर्ताको प्रक्रिया राती नै सकेर भोलि विहानबाट मतदान सुरु गरिने निर्वाचन समितिले जनाएको छ । 

५ पदका लागि ५३ जनाको दाबी

नेकपा एमाले कैलालीको अध्यक्षमा तीन जनासहित कुल पदाधिकारीमा ५३ जनाले इच्छा पत्र दर्ता गराएका छन् । फागुन ४ र ५ गने आकांक्षी बिचमा सहमति खोज्ने भनिएको थियो ।

अध्यक्षमा जोशी, पाण्डे र ढुंगानाले दाबी पेस गरेका छन् भने उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् ।

सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी १२ जनाले दाबी गरेका छन् ।

दुई उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस