शनिबार, १२ साउन २०८१

एमाले बाजुराले आन्तरिक एकताको सन्देश दिन अधिवेशन पूर्व पालिका स्तरीय कार्यकर्ता भेला गर्ने

बाजुरा : नेकपा एमाले बाजुराले नौ वटै स्थानीय तहमा पालिका स्तरीय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । जिल्ला अधिवेशन हुन पूर्व नै पालिका स्तरीय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । पार्टीको आठौं जिल्ला अधिवेशन चैत्र १६ र १७ गते गर्ने निर्णय गरिएको छ । 

फागुन भित्र सबै पालिकामा कार्यकर्ता भेला गर्ने निर्णय गरिएको पार्टी अध्यक्ष भरत थापाले जानकारी दिएका छन् । कार्यकर्तालाई पार्टी भित्रको आन्तरिक एकताको सन्देश दिन अधिवेशन पहिला नै भेला आयोजना गर्न लागिएको हो । अगुवा नेता कार्यकर्ता र आम सर्वसाधारणलाई एमाले भित्रको एकता र अन्तर संघर्षको कुनै प्रकारको रंग नदेखिने गरि भेला आयोजना गर्न लागिएको हो ।

जिल्लाका सबै शिर्ष नेताहरु, पार्टी प्रदेश कमिटीका नेताहरु जिल्लाका सिंगो पदाधिकारी पंक्तिहरु एकसाथ पालिका भेलामा सहभागि हुने र आन्तरिक एकताको सन्देश दिने उदेश्य सहीत योजना अघि सारिएको सचिव काशी विकले जानकारी दिएका छन् । पार्टी जिल्ला कमिटीको बैठकले फागुन महिना भित्र अधिवेशनको तयारी र पालिका स्तरीय कार्यकर्ता भेलामै केन्द्रीत भएर काम गर्ने कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि नेतृत्व कस्ले लिने र कस्लाई दिनेमा रस्साकस्सीको अनुमान गरिएको थियो । असोजमा प्रदेश कमिटीको बैठक पछि बसेको एमाले जिल्ला कमिटीको बैठकले वर्तमान अध्यक्ष शाहीकै नेतृत्वमा कोल्टीमा अधिवेशन गर्ने र माघ २६ र २७ गतेको मिति समेत तोकेको थियो ।

पार्टी प्रदेश कमिटी अध्यक्ष सहीत पदाधिकारी, केन्द्रीय सहीत स्वयम भरत थापाले पनि सहमति गरेको निर्णय विरुद्ध सचिव थापाले संगठन विभागमा उजुरी दिएपनि अर्को बैठक बस्नु पर्ने र अधिवेशन तोकिएकै समयमा नहुने अवस्था आयो । अन्तः रिक्त पद सबै पदमा जिम्मेवारी तोकेर अधिवेशन गराउने निर्णयमा पार्टी जिल्ला कमिटी पुगेको छ ।

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा बाजुरा पुगेर सचिव थापा सहीत केही नेता कार्यकर्ता सहीत त्रिवेणी, बुढीगंगा, खप्तड छेडेदह, गौमुल र बडीमालिका नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम समेत गर्न भ्याए । आफ्नो एजेण्डा स्थापित गर्न र एक टिमको रणनीति सहीत सीमित नेता बोकेर गाउँ गएको आरोप समेत लगाएर केही नेता कार्यकर्ताले बहिष्कार गर्नु पर्ने अवस्था समेत आइपुग्यो । केही नेताहरुले त्यो आरोप समेत सहनु पर्यो । 

गौमुल र बडीमालिकामा गाउँ कमिटी अध्यक्ष नै स्थायी कमिटी सदस्य थापा सहभागि कार्यक्रममा सहभागि भएनन् । खप्तड छेडेदह र गौमुलमा वडामा कार्यक्रम गरेर फर्किनु पर्ने अवस्था आइपुग्यो । केन्द्रीय सदस्य लालबहादुर थापा पक्षबाट बहिष्कार गर्न लगाएको समेत आरोप प्रत्यारोप सामाजिक सञ्जालमा छरपस्ट पोखियो । 

बैठक पूर्व शिर्ष नेताहरु बीचको बसाइ र सचिवालय बैठकमा जिल्ला कमिटीका जिम्मेवार व्यक्तिसँगको समन्वय विनै गरिएको कार्यक्रमबारे समीक्षा सहीत नगर्नु पर्ने र आगामी दिनमा यसलाई सिकाइको रुपमा लिने सहीतको आत्मसमीक्षा समेत गरियो । र बडीमालिका नगर कमिटीको कार्यक्रममा कर्णबहादुर थापाको अभिव्यक्तिले अझै तल्लो स्तरमा विभाजनको बीउ पुग्ने अवस्था आयो । 

अन्तिममा आएर नेताहरु ती सबै प्रकारका असहमति र असमझदारीलाई सहज समाधान गर्ने अवस्थामा पुगे । दुबै पक्ष भनिए पनि नेताहरुलले एकता र हार्दिकताका साथ अधिवेशनलाई केन्द्रीत गरेर रिक्त पदमा सिनियरकै आधारमा नेतृत्वको जिम्मेवारी दिन सहमत भए । 

हतार र सल्लाह बेगरका र विधान विपरितका सबै विषयलाई समझदारी गरि सहमतिका साथ जाने नेताहरु बीचको सहमति पछि सहज रुपमा बैठक सम्पन्न भएको छ । एकताको मनोविज्ञान पछि मात्रै अधिवेशन गर्नु पर्ने सहमति पछि सबै पालिका नेताहरुको सिंगो टोली पुर्याउने कार्यक्रम तय गरिएको हो ।

पार्टी जिल्ला कमिटीको बैठकले सूर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ पार्टी नेता कार्यकर्ताले सेवन नगर्ने र अरुलाई समेत नगराउने सहीतको सन्देश दिने गरि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै एमालेले निर्माणको जिम्मा लिएका तर समय पुरा गरेर पनि काम अधुरै रहेका योजनालाई बिशेष निगरानी गर्ने र आवश्यक प्रक्रिया सहीत सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टीको कामलाई सामाजिक सञ्जालमा प्रभावकारी रुपमा परिचालन गर्न सचिव काशी विकको संयोजकत्वमा ५ सय १ सदस्यीय कमिटी गठन गरि काम अघि बढाउने निर्णय गरेको छ । 

यस्तै चेत दीप ऐडीको पीडित परिवारलाई सहयोग गर्न र हत्यामा संलग्नहरुलाई सजाय दिलाउने कार्यमा आवश्यक परामर्श र सहयोग गर्न प्रदेश कमिटी सदस्य गगन रावल, उपाध्यक्ष जनक बोहरा र पार्टी सदस्य तुलाराम जैशी रहेको समिति गठन गरिएको छ । भने हत्यामा संलग्नलाई साधारण तारेखमा छोड्न आदेश दिने सर्वोच्च अदालतका न्यायधिस प्रकाशमान सिंह रावल र अब्दल अजिज मुसलमानले गरेको आदेशको एमाले जिल्ला कमिटीको बैठकले भत्र्सना सहीत विरोध गर्ने निर्णय गरेको छ । 

आफू खुसी मूल्य वृद्धि गर्ने व्यापारी, व्यवसायी, तोकिएको भन्दा बढी भाडा असुली गर्ने व्यवसायीलाई सम्बन्धीत निकायबाट कारवाहीका लागि पहल गर्ने र नागरिकलाई पर्न जाने असुविधा र असुविधाका विरुद्ध एमाले शसक्त भएर लाग्ने निर्णय गरेको छ । 

राष्ट्रसेवक कर्मचारीलाई सहज काम गर्ने वातावरण निर्माण गर्ने र गराउने काममा एमालेले प्रति वद्ध भएर लाग्ने र जनसेवा विरुद्ध हुने कुनै काममा पनि सम्झौता नगर्ने निर्णय गरेको छ । एमालेले चोरी, हत्या, बलात्कार र लुटपाट जस्ता घटनामा प्रभावकारी सुरक्षा कायम गर्न र प्रभावकारी अनुसन्धान गर्न सम्बन्धीत पक्षलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस