शनिबार, १२ साउन २०८१

बुढीगंगाको बेलीब्रिज दानसाँघु सार्न बाजुराले प्रदेश सरकारसँग बजेट माग गर्ने

बाजुरा : दानसाँघुमा बेलीब्रिज निर्माणका लागि आवश्यक बजेटका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गर्ने जिल्ला विपद व्यपवस्थान समितिले निर्णय गरेको छ । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा बसेको बैठकले बेलीब्रिज सार्न र निर्माण गर्न लाग्ने आवश्यक बजेटका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री कर्णबहादुर थापा सहीत जनप्रतिनिधी सहभागि बैठकले पछि बर्षादको समयमा कुनै समस्या नपार्ने र समयमै काम सकाएर नियमित सञ्चालन हुने गरि बजेटको व्यवस्थापनको माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिएका छन् ।

बडीमालिका नगरपालिका ६ को जडागामा रहेको बेलीब्रिज बुढीनन्दा नगरपालिका ५ र २ को बीचमा पर्ने दानसाँघुमा सार्न जिल्लाका जनप्रतिनिधी यस अघि नै सहमत भइसकेका छन् । कोल्टीमा प्रतिनिधी सभा सदस्य बद्री पाण्डे सहीत समन्वय समिति प्रमुख उपप्रमुख नौ वटै पालिकाका प्रमुख उपप्रमुख बसेर सहमति गरिसकिएको छ ।

बजेटका लागि सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयलाई लगत्तै पत्राचार सहीत अनुरोध गर्ने निणर्य गरिएको छ । यस्तै विपद्का घटना भइरहने तर जिल्ला व्यवस्थापन कोषमा रकम न्यून हुने अवस्था भएकोले जिल्ला विपद व्यवस्थापन समितिलाई थप २० लाख रकम निकासाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग माग गर्ने निर्णय पनि गरेको छ ।

हिमाली गाउँपालिकाको पत्र अनुसार हिमाली ३ स्थित नेती खोलामा झोलुगे पुल नुहँदा नागरिक तथा बिद्यार्थीलाई आवतजावतमा समस्या हुने गरेको भन्दै पुल निर्माणका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने निणर्य गरेको छ ।

कार्तिक १६ गते देखि गएका भुकम्पका पराकम्पका कारण निजी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम माग गर्नेपनि बैठकले निर्णय गरेको छ । यस बर्षको भुकम्प तथा बाढीका कारण हिमालीको कुवाडी लघु जलविद्युत आयोजनामा क्षति भएर विद्युतसेवा बन्द भएकाले संरचना मर्मत तथा पुनः निर्माणका लागि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग बजेट मागको पनि निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दलका नेताहरु, जनप्रतिनिधी सहीत कार्यालय प्रमुख सहभागि थिए । जिल्लाको विपद व्यवस्थापनको पूर्व तयारीमा जिल्ला प्रशासन कार्यालय स्थानीय पालिका सधैं सचेत र जिम्मेवारपूर्वक रहनु पर्ने सहभागिले सुझाव दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस