शनिबार, १२ साउन २०८१

एमाले बाजुराको बैठक बस्दै, अधिवेशन गराउने गरि जिम्मेवारी तोकिने

बाजुरा : नेकपा एमाले बाजुराको बैठक बस्ने भएको छ । आगामी नवौं अधिवेशनको जिम्मेवारी बाँडफाँड र तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । पार्टी जिल्ला कमिटीले माघ २६ गते मिति तोकेर कोल्टीमा गर्ने भनिएको अधिवेशन जिम्मेवारीका विषयमा कुरा नमिलेपछि स्थगित भएर नयाँ मिति र जिम्मेवारी तोक्न लागिएको हो ।

पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बहादुर बुढा प्रदेश कमिटीमा गएपछि जिल्लामा कस्ले पार्टी जिल्ला अधिवेशन गराउने भन्नेमा मत बाझिएको छ । समझदारीमा अधिवेशन हालकै अध्यक्षको अध्यक्षतामा गर्ने सर्वसम्मत निर्णय विरुद्ध पार्टी सचिव भरत थापाले उजुरी गरेका थिए । 

उजुरीको सुनुवाई पछि त्यो बैठकको निर्णय मान्नय नहुने र अर्को बैठक बसेर जिम्मेवारी तोक्ने विषयमा प्रदेश कमिटीबाट पत्राचार भएको छ । पार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश उपाध्यक्ष र उपाध्यक्ष भरत बहादुर बुढा प्रदेश सदस्यमा निर्वाचित भइसकेका छन् । एमालेको विधान अनुसार माथिल्लो कमिटीको पद बहालपछि तल्लो कमिटीको पद स्वतहः निश्क्रीय हुने प्रावधान छ । 

प्रदेश कमिटीले निवर्तमान अध्यक्ष कालीबहादुर शाहीकै अध्यक्षतामा बैठक बसेर नयाँ संयोजक तोक्ने वा जिम्मेवारी दिने गरि निर्णय गर्न पत्र जिल्ला कमिटीलाई पठाएको छ । सोही पत्रका आधारमा बैठक बसेर थप नयाँ निर्णयमा पुग्ने तयारीमा एमाले नेताहरु देखिएका छन् । 

केहीले पार्टी विधान अनुसार पार्टी अध्यक्ष र उपाध्यक्ष नभएको खण्डमा सचिव नै हुनु पर्ने अनिवार्य प्रावधान नभएकोले जेष्ठ सदस्यलाई संयोजक बनाएर सचिवलाई कार्यक्रम सञ्चालनकै जिम्मेवारी दिएर अघि बढ्नु पर्ने अडान लिएका छन् । भने केही नेताहरुले पार्टी सचिव भइसकेपछि सिनियर पदका हिसाबमा भरत थापाले नै पाउनु पर्ने अडानमा छन् ।

सोही विषयको विवाद सतहमा पुगेपछि नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला इन्चार्ज भैरवबहादुर सिंह जिल्लामा आइसकेका छन् । पार्टीमा रहेका  १२१ जना सदस्य मध्ये पनि अधिकांश मार्तडी आइसकेको श्रोतको दाबी छ । 

दुबै पक्षले आ आफ्नै दाबी र अडानको निर्णयमा पुग्नु पर्ने लबी र छलफल चलाइरहेका छन् । एमाले भित्रको चरम विवादलाई सहतमा पुर्याउँदा राम्रो नहुने र पार्टीले क्षति बेहोर्नु पर्ने टिकाटिप्पोणीपनि केही जिल्ला कमिटीका नेताहरुको छ । उनीहरुले दुबै पक्षको मागलाई संवोधन हुने गरि निर्णय गरिनु पर्नेमा लबी थालेका छन् ।

आगामी अधिवेशन लक्षित बैठक भएकोले पार्टी जीवनमै महत्वपूर्ण बैठकका रुपमा हेरिएको छ । आगामी पार्टी अधिवेशनबाट नयाँ नेतृत्व आउने छ । कस्ले कस्लाई स्थापित गर्ने र कस्लाई बनाउँदा सहज हुनेमा शिर्ष तहका नेताहरु लागि परेका छन् । अध्यक्षको चुनावी दौडमा लालबहादुर ओली, भरत थापा र रंगमान शाही देखिएका छन् । 

समस्याको सहज समाधानका लागि नेताहरु आन्तरिक र बाह्य छलफलमा सक्रिय छन् । नेताहरुले दुबै पक्षलाई बोलाएर छलफल भेटघाट गर्ने र संवाद सहीतको सहमति गराउनु पर्नेमा केही नेताहरुले चासो देखाएका छन् । 

स्थायी कमिटी सदस्य कर्णबहादुर थापा गाउँ केन्द्रीत भएर कार्यकर्ता भेटघाटमा जाँदा केही नेताहरुले बहिष्कार गरेको महशुस गरेका छन् । भने जिल्ला कमिटीका केही पदाधिकारी र सदस्यहरुले पार्टीको विवादका बीच स्थायी कमिटी जस्तो नेताले समाधान नगरि गाउँ जाने कुरा राम्रो नहुने तर्कमा आफ्नो

अडान पेश गरेका छन् । बाजुरामा नेकपा एमाले भित्र कर्णबहादुर थापा र लालबहादुर थापा बीच नै लामो समयलदेखि शक्ति संघर्षकै लडाइ रहेको बिश्लेषण गरिन्छ । 

प्रतिक्रिया दिनुहोस