शनिबार, १२ साउन २०८१

एकताको मनोविज्ञान बनाएर मात्रै एमाले बाजुराको जिल्ला अधिवेशन गरौं : थापा

बाजुरा : नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पार्टी निर्माणमा सबैको समान भूमिका र योगदान आवश्यक रहेको बताएका छन् । नेता देखि कार्यकर्तासम्म सबैको भूमिकाले मात्रै पार्टी बलियो हुने भएकोले सबै ध्यान त्यत्तै तिर केन्द्रीत हुनु पर्ने नेता थापाको धारणा छ । 

बाजुरा जिल्ला पार्टी कार्यालयमा एमालेका नेता कार्यकर्तासँग कुराकानी गर्दै थापाले कोही कसैले व्यक्तिगत लगानीबाट बनाएको जस्तो दम्भ र घमण्ड गर्ने कुनै आधार र कारण नभएको दाबी गरेका छन् । बाजुरा एमाले भित्रको दुईधार र पार्टी भित्रको अन्तर संघर्ष प्रति आक्रामक देखिएका थापाले पार्टी बनाउने काममा ध्यान नदिइ गुट खडा गर्ने कुरा राम्रो नहुने बताएका छन् । 

नेकपा एमाले प्रति जनताको विश्वास र भरोसा बढीरहेको र पार्टी नेतृत्व प्रति देश भित्र र बाहिरबाट भारी समर्थन जुटिरहेको बेला जिल्ला तहबाट सानो सानो विषयलाई लिएर विभाजन हुने र विरोधी मानसिकता बनाउने कुराका पछि नलाग्न थापाले आग्रह गरेका छन् । 

पार्टी जिल्ला कमिटीको यही माघ २७ गते मार्तडीमा हुने बैठक लक्षित बाजुरा आउने भएका थापा केही दिन यता पालिका दौडामा देखिनु भएको छ । त्रिवेणी नगरपालिकाबाट सुरु गरेर, बुढीगंगा, खप्तड छेडेदह, गौमुल हुदै बडीमालिकाको कार्यक्रममा सहभागि थापाले चरम गुटबन्दी गर्ने र कार्यकर्ता बीच विभाजनको मानसिकता बनाउन खोज्ने तत्वहरु नै पार्टी विरोध भएको बताएका छन् । 

पार्टीको विधान विपरित बैठक गरिएको र सोही बैठकबाट मिति तोकिएको कुरा गलत भएकै कारण तोकिएको मितिमा अधिवेशन नभएकोले अब विधामा रही, सर्वसम्मत र समझदारी पूर्वक नेतृत्व आउने खालको वातावरण बनाएर अधिवेशनको मिति तोक्ने र अधिवेशन सम्पन्न गर्नतर्फ सबै लाग्नु पर्ने थापाको भनाई थियो ।

गौमुल र बडीमालिकामा गाउँ कमिटीले कार्यक्रमको आयोजना गर्नै नमानेको, गाउँ र नगर कमिटी अध्यक्ष स्थायी कमिटी आउँदा समेत उपस्थित नभएको विषय गम्भीर र चरम गुटबन्दी भएकोले यसलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । बडीमालिकाको कार्यक्रममा पनि सीमित कार्यकर्ता र नगर कमिटीको अध्यक्ष नआएपछि उपसचिवको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

पार्टीको विधान मिचेको, अनावश्यक बहुमतको दम्भ देखाउने खोजेकै कारण आफूले चासो राख्ने अवस्था आएको संकेत गरेका थापाले गुटबन्दी गर्नेहरुका विरुद्ध सामना गर्न तयार हुनु पर्ने घुमाउरो चेतावनी पनि दिएका छन् ।

आक्रोशपूर्ण शैली र प्रष्टीकरण सहीतको विरोधमै आफ्नो मन्तव्यको समय खर्चिएका थापाले अधिवेशन विधान विपरित निर्णय गरेकै कारण सरेको जिकिर गरेका छन् । सचिव राजेश पायलले सञ्चालन गरेको कार्यक्रममा पूर्व मन्त्री समेत रहेका थापाले अबको अधिवेशन एकताको मनोविज्ञान बनाएर मात्रै गर्नु पर्ने धारणा राखेका छन् । 

कार्यकर्तालाई उत्साहीत बनाएर । सबै नेताहरु एकसाथ भएको मनोविज्ञान बनाएर त्यही सन्देश जाने गरि जिल्लाको अधिवेशन गर्नु पर्ने पक्षमा आफू रहेको बताएका छन् । उहाँले विधान संम्मत सहमति गर्ने र विधान सबैले कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् । 

थापाले मध्यावधी निर्वाचन भएपनि बहुमतको दाबी एमालेले मात्रै गर्ने बताउँदै त्यसका लागि पनि तयारी अवस्थामा बस्नु पर्ने धारणा राखेका छन् । जुटेर जानु पर्ने बेला फुटेर जाने कुरा, आफ्नै माथि प्रहार गर्ने, रंगमल विकको नामै लिएर थापाले कर्मचारी माथि धम्की र आक्रमण गर्ने खालको मानसिकता रोकिनु पर्ने धारणा राखेका छन् । उहाँले जनताको विश्वास जित्न सकेमात्रै पार्टी र पद्दती रहने भएकोले त्यसमा सचेत हुनु पर्ने बताएका छन् ।

पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेताहरु अर्जुन रोकाया, हिक्मत थापा, लालबहादुर कार्की, तुलाराम जैशी, जंग विक, लक्षी विक, परे बडुवाल  सहीत सहभागि थिए । एमाले बाजुराले यही माघ २७ गते बैठक तोकेको छ । त्यही बैठक लक्षित नेताहरुको जिल्ला दौडाद बढेको छ । भने त्यही कारण पनि बैठकलाई बिशेष रुपमा हेरिएको छ । 

अधिवेशनको मिति र संयोजक तोक्ने गरि जिल्ला कमिटीको बैठक बस्न लागेको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पार्टी सचिव भरत थापालाई लिएर गाउँ दौडाह गरिरहँदा अर्को पक्षधर नेताहरु र आगामी अधिवेशनका अध्यक्षका उम्मेदवारहरु भने कतै देखिएका छैनन् । 

प्रतिक्रिया दिनुहोस