बाजुरा : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जस्तै बाजुराका नौ मध्ये जगन्नाथ गाउँपालिका वित्तिय जोखिम मूल्याङ्कनमा पनि पहिलो भएको छ । आठ पालिकालाई पछि पार्दै जगन्नाथ पहिलो भएको हो ।
स्थानीय तह वित्तिय जोखिम मूल्याङ्कन (एफआरए) मा पनि जगन्नाथले सबैभन्दा बढी ७९ अंक ल्याएर पहिलो भएको जिल्ला समन्वय समिति बाजुराले बताएको छ । जगन्नाथ पछि बुढीगंगा नगरपालिकाले ७२.५ अंक ल्याएर दोस्रो स्थान ल्याएको छ । सुशासनका सूचक पुरा गर्नेमा जगन्नाथ र बुढीगंगा अन्य पालिकाको तुलनामा अगाडि देखिएका छन् ।
लिजामा पनि बुढीगंगा नगरपालिका दोस्रो नै बनेको थियो । जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिका लिजाको प्रदेश स्तरीय मूल्याङ्कनमा पनि चौथौ र पाँचौ स्थान ल्याउन सफल भएका थिए । सुदूरपश्चिमका ८८ पालिका मध्ये जगन्नाथ चौथो र बुढीगंगा पाँचौ स्थान ल्याउने पालिका बनेका हुन् ।
वित्तिय जोखिम मूल्याङ्कनमा जगन्नाथ र बुढीगंगा पछि स्वामिकात्र्तिक खापर गाउँपालिकाले ६६ अंक ल्याएर तेस्रो स्थान ल्याएको छ । भने ६५.५ अंक ल्याएर त्रिवेणी नगरपालिका चौथो बन्न सफल भएको छ ।
हिमाली गाउँपालिकाले ६१.५ अंक, खप्तड छेडेदह गाउँपालिका ५८.५ अंक, गौमुल गाउँपालिकाले ५४.५ अंक ल्याएका छन् । बडीमालिका र बुढीनन्दाले भने समान ५०.५ अंक ल्याएका छन् । लिजा र वित्तिय जोखिम मूल्याङ्कन दुबैमा बुढीनन्दा नगरपालिका भने सबैभन्दा अन्तिममा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस