शुक्रबार, ०४ असोज २०८१

बाजुराका काँडा र जयवागेश्वरीलाई आरक्ष सहीतको अलग पालिका बनाउँदा उपयुक्त हुन्छ: थापा

बाजुरा : नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले काँडा र जयवागेश्वरीलाई आरक्ष सहीतको पालिका बनाउन आवश्यक रहेको बताएका छन् । भूगोल र विकटता दुबै दृष्टीकोणले काँडा र जयवागेश्वरीलाई अलग्गै पालिका बनाउन उपयुक्त हुने धारणा राखेका छन् । 

अगुवा नेता कार्यकर्ता भेटघाटका लागि खप्तड छेडेदह गाउँपालिका १ र २ को काँडा जयवागेश्वरी पुगेका थापाले डोगडी गएर सेवा सुविधा लिन नागरिकलाई असुविधा भएको बताएका छन् । स्थानीयले पहिले देखिकै अलग पालिकाको माग सुनाएपछि थापाले आफू पनि त्यसमा सकारात्मक रहेको धारणा राखेका हुन् ।

पूर्व मन्त्री समेत रहेका थापाले बाजुराको सदरमुमकाबाट निकै टाढा र भूगोलले पनि अलग पालिकाको अस्तित्व हुन लायक क्षेत्र भएकोले अलग्गै पालिका बनाउनु पर्ने स्थानीयको माग न्यायीक भएको बताएका छन् । काँडा र जयवागेश्वरीका स्थानीयले संघिय संरचनामा देश जान थालेदेखि नै अलग पालिकाको माग गर्दै आएका छन् । 

त्यो बेला पनि सडक बन्द देखि, धर्ना, विरोध र ज्ञापन पत्रका कार्यक्रम स्थानीयले गरेका थिए । जनसंख्या अपुगेको कारण देखाएर पालिका नबनाउन दिइएको थियो । साविक काँडा र जयवागेश्वरी गाविस मिलेर अलग पालिकाको माग स्थानीयले गर्दै आएका छन् । उनीहरुले सकेसम्म बुढीगंगा नगरपालिकाको सेलापाखा, बढेदा, जुवापानी सहीतलाई सिंगो भूगोल मिलाउँदा उपयुक्त हुने माग अघि सारेका थिए । 

त्यो बेला स्थानीयले माग गरेपनि राजनीतिक दलले साथ सहयोग गरेका थिएनन् । अहिले छिमेकी साँफेबगर नगरपालिकाले विकट भनिएका ६ वटा वडालाई अगल बनाएर अर्को पालिका बनाउन सिफारि गर्ने कुराका सबै दलहरु र नगर सभाले सर्वसम्मत निर्णय गरेपछि फेरि पालिका टुक्राउने कुरा उठेको हो । 

स्थानीयको मागलाई संवोधन गर्न कर्णबहादुर थापाले तयार रहेको बताएका छन् । स्थानीय महावीर रावल, जनक बहादुर सिंह सहीतका नेता कार्यकर्ताले नेकपा एमालेको प्रभावशाली नेता गाउँपुगे पछि राखेको मागलाई नेता थापाले सबै राजनीतिक दलले भूगोल समस्या र वास्तविकता बुझेर सहमत हुनु पर्नेमा जोड दिएका छन् ।

तर पछिल्लो समय संघियता खर्चिलो भएको, वडा र पालिका थप्नै नसकिने बरु प्रदेश र समन्वय समिति खारेज गरिनु पर्ने विषयमा बहस चलिरहेको बेला पालिका थप्ने विषय बेमौसमी बाजा जस्तै हुने कुरामा पनि आशंका गर्न थालिएको छ । राज्यले नीति लियो, र अन्य जिल्लामा थप्ने कुरा भएको खण्डमा बाजुराको हकमा काँडा जयवागेश्वरी अलग बनाउनु पर्नेमा आफू सकारात्मक रहेको प्रतिवद्धता नेता थापाले गरेका छन् ।

तर २०७४ पछि कुनै पनि जिल्लामा पालिका र वडा थप गरिएको छैन् । सिफारिस गरिएका सर्वसम्मत निर्णय पनि थप गर्न राज्य आर्थिक भार थपिने कुरामा सचेत नै देखिएको छ । काँडामा नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटीका अगुवा कार्यकर्तासँग पार्टी स्थायी कमिटीको छलफल कार्यक्रम आयोजना गरेको छ ।

गाउँ कमिटी अध्यक्ष गोपाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहनु भएको थियो । भने एमाले सचिव भरत थापा सहीतका नेताहरु सहभागि थिए । स्थायी कमिटी सदस्य थापा पछिल्लो तीनदिन देखि त्रिवेणी, बुढीगंगा हुँदै खप्तड छेडेदह गाउँपालिकामा कार्यकर्ता भेटघाटमा व्यस्त देखिनु भएको छ । गाउँ कमिटीले कार्यक्रमलाई २० औं बैठकका रुपमा सञ्चालन गरेको मिनबहादुर सार्कीले जानकारी दिएका छन् । 

May be an image of 6 people

प्रतिक्रिया दिनुहोस