शुक्रबार, ०४ असोज २०८१

बाजुराका नितेश र अविशेक सहित नौ जनालाई प्रदेश सरकारले एमबीबीएस पढाउने

धनगढी : बाजुराका नितेष कुमार धामी र अविशेक महतरा सहीत नौ जनालाई सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढाउने भएको छ । प्रदेश सरकारले निर्धारण गरेको छात्रवृत्ती कोटामा बाजुराका २ जना सहीत नौ जनालाई प्रदेश सरकारले आफ्नै लगानीमा पढाउन लागेको हो । 

सुदूरपश्चिम प्रदेशबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना विद्यार्थी छनौट सहीत सिफारिस भइसकेका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गर्ने आवेदक मध्ये खुलातर्फ पाँच र समावेशीतर्फ चार जना गरी ९ जना छनौट भएका हुन् । 

एमबीबीएस अध्ययन छात्रवृत्तिमा खुलातर्फ पाँच जना छनौट भएका छन् । छनोट हुनेमा बाजुराका नितेशकुमार धामीले पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । धामी बाजुराको स्वामिकार्तिक खापर–४ वाइका बासीन्दा हुन् । 

यसैगरी बझाङको जयपृथ्वी–३ का अविशेक जोशी, शुर्मा गाउँपालिका–२ कि नविना बोहरा, सायल–२ डोटीका दिप उपाध्याय र भागेश्वर–५ डडेल्धुराका भीमबहादुर बोहरा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि मन्त्रालयबाट छनौट भएका हुन् । 

त्यस्तै महिलातर्फ शुक्लाफाँटा नगरपालिका–३ कञ्चनपुरकी रेखा जोशी एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि छनौट भएकी छन् । दलिततर्फ गौरीगंगा नगरपालिका–६ कैलालीका रावल नेपाली छनौट भएका छन् । 

एमबीबीएस छात्रवृत्तिमा आर्थिक रुपले विपन्न खस आर्यतर्फ स्वामिकार्तिक खापर–५ बाजुराका अविशेक महतरा छनौटमा परेका छन् । थारु राना थारुतर्फबाट गौरीगंगा नगरपालिका–६ कैलालीकी वर्षा चौधरी एमबीबीएस छात्रवृत्ति अध्ययनका लागि छनौटमा परेकी छन् ।

सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखाका शाखा अधिकृत गोपालदत्त जोशीले मन्त्रालयको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका ०७४, चौथो संशोधनले तत्काल रकम दिने व्यवस्था नगरेको बताएका छन् । यसपाली नाम निस्केर पढाइ सुरु गरेकालाई आगामी वर्षदेखि रकम उपलब्ध गराउने व्यवस्था रहेको छ । 

गत वर्षसम्म मन्त्रालयले सम्बन्धित कलेजसँग सम्झौता गरेर रकम उपलब्ध गराउने गरेको थियो । यस वर्षदेखि सम्बन्धित विद्यार्थीलाई नै रकम उपलब्ध गराउने विषयमा छलफल चलेको बुझिएको छ । प्रदेश सरकारले हरेक वर्ष नौ जनालाई एमबीबीएस छात्रवृत्ति दिने गरेको छ । मन्त्रालयको प्रक्रिया झन्झटीलो हुँदा भने विद्यार्थीले प्रक्रियागत समस्या बेहोर्नु परेको छ । 

प्रतिक्रिया दिनुहोस