शुक्रबार, ०४ असोज २०८१

सामाजिक सद्भाव र सुशासनका लागि पत्रकारितालाई थप जिम्मेवार बनाउन सुझाव

प्रेस चौतारी बाजुराले मनायो २६ औं स्थापना दिवस

बाजुरा : सामाजिक सद्भाव र सुशासनका लागि पत्रकारिता जिम्मेवार र मर्यादीत बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा बाजुरा शाखाले आयोजना गरेको कार्यक्रममा शुभकामना दिने वक्ताहरुले मर्यादीत प्रतिको विश्वास घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सद्भाव विना समाजको विकास र समृद्धि कल्पना गर्न नसकिने र समाज विकासले नै समृद्धि हासिल हुने भएकोले पत्रकारिताको धर्म र मर्मलाई नबिर्सिन र विकासमा सहयोगीको भूमिका निर्वाह गर्नपनि आग्रह गरेका छन् । सूचना नै पहिलो आवश्यकता पर्ने युग तर्फ समाज अघि बढीरहेको बेला पत्रकारिता जिम्मेवार र मर्यादीत भएन् भने समाजले क्षति बेहोर्नु पर्ने धारणा नेकपा एमाले कार्यालय सचिव काशी विकले राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पार्टी प्रचार विभाग प्रमुख विकले पत्रकारिता प्रतिको विश्वास र जिम्मेवारी स्वयम पत्रकारले नै बहन गर्नु पर्ने भएकोले युग र प्रविधी अनुसारको योग्यता र क्षमता विकास गर्न पनि सुझाव दिएका छन् । बडीमालिकाका नगर प्रमुख अमर खड्काले विकास पत्रकारितालाई प्राथमिकतामा राख्न र स्थानीय तहलाई सचेत पार्नमा पत्रकारिता केन्द्रीत गर्नु पर्ने सुझाव दिनु भएको छ । 

गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले विकास र सुशासनका पक्षमा सहकार्य गरि सचेत र जिम्मेवार बनाउने भूमिकामा पत्रकारिताले सहयोग गर्नु पर्ने धारणा राखेकी छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुरबहादुर रावतले पत्रकारिताको सूचना पस्कीने र सम्प्रेषण गर्ने शैली नै बदल्न आवश्यक रहेको सुझाव दिएका छन् ।

नेकपा एमालेका नेता तुलाराम जैशीले पत्रकारितामा विश्वास गुम्ने खतरा बढेकोले त्यो चुनौति नआउन दिने गरि जिम्मेवारी सम्बन्धीत पक्षले लिनु पर्ने धारणा राखेका छन् । नेपाली काँग्रेसका नेता गोपाल कार्कीले विचार आस्थालाई विकाउने भन्दा समाजको आवश्यकता र मागलाई संवोधन हुने गरि पत्रकारिता गर्न सुझाव दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बाजुराको बाहिरी हल्ला वास्तविकता नभएकोले पत्रकारिताको माध्यमबाट जिल्लाका सकारात्मक सन्देश र सूचना प्रशारण प्रकाशन गर्न सुझाव दिनु भएको छ । प्रेस चौतारीका केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रदेश अध्यक्ष कृष्ण ओली, प्रेस सेन्टरका केन्द्रीय सचिव निमेन्द्र शाही, पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य धनकृष्ण विक, प्रेस युनियनका अध्यक्ष संगीता तिमिल्सेनाले पत्रकार र पत्रकारिता बीचको सहकार्यलाई थप बलियो बनाएर लैजानु पर्नेमा जोड दिएका छन् ।

सचिव रमित विकले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष शुशिल रोकायाले गरेका हुन् । बडीमालिका नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम समेत आयोजना गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस