शनिबार, १२ साउन २०८१

बाजुराकी सरिताले खेलेको भुटानविरुद्धको खेलमा नेपालको जित

बाजुरा : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । यो खेलबाट बाजुराकी सरिता नाथले ड्यू गरेकी छन् । छनोटमा परेको पहिलो चरणमै सेट ११मा परेर खेल्ने अवसर पाउने सरिता भाग्यमानी खेलाडी हुन् । 

बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानमाथि १–० गोलको जित निकालेको हो। यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ ।

नेपालको जितमा सेनु परियारले गोल गरिन् । उनले खेलको ५४ औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो ।
यसअघि भएको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो। यता भुटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो । 

नेपाल, बङ्गलादेश, भुटान र भारत सहभागी उक्त प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस