शुक्रबार, ०४ असोज २०८१

बाजुरा गाउँमा जोडिदैं केन्द्रीय प्रशारण लाइन, खप्तड छेडेदह ५ डोगडीको गाउँ नै झिलीमिली

बाजुरा : बाजुराको आधाबढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर छ । नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा त अझै झरो, टुकी बाहेकको विकल्प छैन् । केही आर्थिक पहुँच भएकाहरुले मात्रै सौर्य विद्युतको उपयोग गरिरहेका छन् । विद्युतको पहुँच भएका पालिकामा पनि साना लघुजलविद्यतु आयोजना, केही पोल्ट्रिक सेटको मात्रै सुविधा छ । 

लाइन विस्तार ढिलो गरि मात्रै सुरु हुँदा जिल्लाका १० प्रतिशतको घरमा पनि केन्द्रीय प्रशारणको विद्युत पुगेको छैन् । तर पछिल्लो केही समय यता भने केन्द्रीय प्रशारण लाइन विस्तारको कामले निकै तिब्रता पाएको छ । २०७५ पछि मात्रै बाजुरामा केन्द्रीय प्रशारण लाइन विस्तारको प्रक्रिया सुरुवाद गरिएको थियो । 

२०७७ साल पछि मात्रै औपचारिक कार्यालय राखेर काम थालनी गरिएको हो । सुरुमा बुढीगंगा नगरपालिकाको २ र ३ नम्बर वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत जडान गरिएको हो । लगत्तै खप्तड छेडेदह गाउँपालिका ७ को लम्गाउँ र बुढावाडा टोलमा विद्युत लाइन विस्तार सहीत उज्यालो बाल्न थालियो । 

मार्तडीको ठुलीसाँघमा कार्यालय राखियो र बाजुरा सदरमुकाम मार्तडीमा त्रिवेणी साना जलविद्युत केन्द्रको सम्झौता फिर्ता गराएर केन्द्रीय प्रशारण लाइन विस्तार गरिएको थियो । त्यसलगत्तै भने बाजुरामा केन्द्रीय प्रशारण लाइन विस्तारले गति लिएको देखिन्छ । कर्णाली करिडोरको बाटो भएर जगन्नाथm बुढीनन्दा, स्वामिकात्र्तिक खापर गाउँपालिकासम्म लाइन विस्तारको काम अघि बढेको बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले जानकारी दिएका छन् ।

कार्यालय प्रमुख झाका अनुसार २ वर्षभित्र कम्तीमा बाजुराका २० हजार परिवारले केन्द्रीय प्रशारण लाइनको विद्युत उपयोग गर्न पाउने गरि काम भइरहेको बताएका छन् । सोही क्रममा माघ २१ गते मात्रै खप्तड छेडेदह गाउँपालिकाको ५ नम्बर वडा डोगडीमा लाइन विस्तारको औपचारिक उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दिलबहादुर रावत र कार्यालय प्रमुख राजेश कुमार झाले पालिकाको कार्यालयमा बत्ति बालेर उद्घाटन गरेका हुन् । 

डोगडीमा विद्युत विस्तारसँगै स्थानीय ७ सय ६० बढी परिवारले उज्यालो पाएका छन् । गाउँमा ४ र ६ किलोवाट क्षमताको पोल्ट्रिक सेट र १४ किलोवाट क्षमताको विद्युत आयोजना ७० को दशकमै निर्माण गरेर जलाउन थालिएको थियो । तर त्यो क्षमताले नामको मात्रै उज्यालो थियो, केन्द्रीय प्रशारण लाइन जडानसँगै सिंगो डोगडी झिलिमिली भएको वडा अध्यक्ष जीतबहादुर रावतले बताएका छन् । छोटो समयमै लाइन विस्तार, विद्युत जडान र मिटर वितरण सहीत उज्यालो बाल्न पाएकोमा रावतले खुसी व्यक्त गरे । 

बाजुरा वितरण कार्यालय मार्तडीमा ११ केभी लाइन जडान गरि, बडीमालिका, बुढीनन्दा, खप्तड छेडेदह, गौमुल सहीतका पालिकामा विद्युत विस्तार गर्ने योजना अघि सारेको छ । बाजुराबाट सरुवा हुनु पूर्व छप्तड छेडेदह गाउँपालिकाका ७ वटै वडाका सबै बस्ती र परिवारलाई विद्युत पुर्याउने कार्यालय प्रमुख झाले प्रतिवद्धता जनाएका छन् । 

डोगडीमा केन्द्रीय प्रशारण लाइन पुगेसँगै गाउँपालिकाको कामकाजमा समेत सहज हुने भएको छ । हालसम्म सोलारको भरमै कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहेको थियो । अब कार्यालय सञ्चालनसँगै साना उद्यम र उद्योग सञ्चालनमा समेत सहज हुने गाउँपालिका अध्यक्ष दिबहादुर रावतले विश्वास व्यक्त गरेका छन् । अध्यक्ष रावतले सबै वडामा उज्यालो पुर्याउनु पहिलो लक्ष्य भएकोले त्यसमा वितरण केन्द्रको सहयोग र सहकार्य रहनु पर्नेमा जोड दिएका छन् ।

गाउँमा झिलीमिली विजुली जलेपछि डोगडीबासी खुसी भएका छन् । मोबाइल समेत चार्ज गर्न समस्या थियो । गाउँको विद्युतको भर नै थिएन्, विद्युत आउने समस्या भइरहन्थ्यो, सबैसँगै सोलार सुविधा थिएन्, अब त्यो अवस्थाबाट मुक्त हुने अवस्था आएको स्थानीय अमरजन रावतले बताएका छन् । लाइन विस्तार हुने हो, विद्युत जल्ने हो होइन्, विश्वास नै थिएन्, ६ महिनाको अवधीमै विद्युतको उज्यालो पाउँदा खुसी लागेको भन्छन्, स्थानीय माघी नेपाली । 

केही दिनमै खप्तड छेडेदह ७ को ओलीगाउँ र दानीगाउँका २ सय बढी घरमा पनि केन्द्रीय प्रशारण लाइन जडान हुने वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । लम्गाउँ र बुढाबाडामा पहिले नै जडान भइसकेको र बाँकी दुई बस्तीमा जडानसँगै सिंगो बस्ती केन्द्रीय विद्युतको पहुँचमा पुग्ने र उद्यम सञ्चालनमा समेत सहज हुने रावतको विश्वास छ । 

विद्युतका पोल गाड्ने, लाइन तान्ने काम हिमाली बाहेक सबैतिर भइरहेको निर्माण कार्यमा सक्रिय ठेकेदार पदम बहादुर साउँदले बताएका छन् । पोल हराउने, वर्षौसम्म लाइन विस्तारमै समय बित्ने अवस्थाको आरोपबाट मुक्त हुने काम आफूबाट भइरहेको र केही समय भित्र बुढीनन्दाको पाण्डुसैन क्षेत्र, कोल्टी सहीतका बस्तीमा पनि विद्युत विस्तार भइसक्ने साउँदले जानकारी दिएका छन् । 

दुर्गम गाउँमा केन्द्रीय प्रशारण लाइन जडानपछि झरो युगको अन्त्य हुने भएको छ । भने शहरको विद्युत विकासले गाउँसम्म सम्पर्क बढाउने अवस्था आउने देखिन्छ । शहरको उद्यम र उज्यालोको विकासले गाउँलाई समेत जोड्ने विश्वास बाजुरा वितरण कार्यालयको छ । स्थानीयले निर्माण गरेका आयोजना पुराना हुँदै मर्मतमै हैरानी बेहार्नु पर्ने र भनेको समयमा विद्युत सेवा लिन नपाउने, क्षमता पनि निकै कम हुने, नामको उज्यालोबाट मुक्ती मिलेकोमा स्थानीय खुसी देखिन्छ । 

विद्युत दैनिक जीवन निवार्हका लागि अनिवार्य छ । तर अझै विकट बस्तीहरु विद्युतीकरण हुन सकेका छैनन् । धेरै गाउँ बस्तीमा विजुली पुगेको छैन् । झरो र मट्टीतेलकै भरमा रात काट्नु पर्ने बाध्यता हट्न बाँकी नै छ । बाजुरामा अझै ३० प्रतिशत बढी उज्यालोको पहुँच भन्दा बाहिर छन् । भने उज्यालो पाएका मध्ये पनि २० प्रतिशत बढीले नामको विद्युत मात्रै उपयोग गरिरहेका छन् । 

त्यही बाध्यता हटाउने अभियानलाई सार्थक बनाउन र सबै नेपालीलाई उज्यालो दिन विद्युतको पहुँच बाहिर रहेका गाउँ बस्तीमा उज्यालो पुर्याउने अभियानमा नेपाल विद्युत प्राधिकरण लागि परेको छ । त्यसको प्राथमिकता बाजुरालाई पनि राखिएको पछिल्लो लाइन विस्तार र विद्युत जडानका कामले देखाउने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस