शुक्रबार, ०४ असोज २०८१

पूर्वाधार विकास र सुविधा वितरणले कोल्टो फेर्दै कोल्टी

बुढीनन्दामा आश लाग्दो विकास लहर

बाजुरा : सीमित होटल पसल, अव्यवस्थीत र अस्तव्यस्त बजार क्षेत्र, पुराना घर र फोहरमैलाले भरिएका गल्ली चोकहरु अनि खानेपानी, विजुली जस्ता आधारभूत सुविधा नागरिकले पाउने कुरा त धेरै टाढाका विषय, केही समय पहिलासम्म कोल्टी बजार क्षेत्रको परिचय र बिशेषता यहि थियो । 

२०७४ सालमा स्थानीय तह निर्वाचन भयो । कोल्टी बुढीनन्दा नगरपालिकाको मुकाम बन्यो । हुम्ला, मुगु र कालिकोट जिल्लाका केही भूगोलका नागरिकको व्यापारिक केन्द्र छँदै थियो । विमान स्थल पनि, बजार पनि, पालिकाको केन्द्रपनि केही हुने, फरक हुने आशमा नागरिक थिए । 

तर पाँच वर्ष केही हुन सकेन् । नागरिकले फरकपनको आभाष गर्न पाएनन् । अभाव र समस्याले भरिएकै कोल्टीको परिचयमा कोल्टी चिनिरह्यो । तितो सत्यबोल्दा पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो । पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली । कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए । पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए ।

स्वास्थ्य उपचार सेवाबाट नै वञ्चित हुनु प¥यो । प्राथमिक स्वास्थ्य केन्द्र रहेको कोल्टीमा डाक्टर अपवाद बाहेक बसेनन् । तर केही समय यता कोल्टीको स्वरुप फेरिएको छ । सडक, स्वास्थ्य र सरसफाइ अवस्था निकै भिन्न देखिन्छ । विमानस्थल भएको बजार क्षेत्र जस्तो लाग्न थालेको स्थानीय बताउने गरेका छन् । 

गएको वर्ष २०७९ को स्थानीय तह निर्वाचनमा पालिकामा पनि नयाँ नेतृत्व आएको छ । पाँच वर्ष काम नगरेको जवाफ नागरिकले निर्वाचनबाटै दिए । नागरिकको विश्वास कामबाट प्रमाणित हुन थालेको नागरिक स्वयम बताउँछन् । कोल्टी बजारमा मात्रै होइन्, गाउँका विद्यालय, स्वास्थ्य संस्था, सडक बाटो सबै कुरामा डेढ वर्षकै अवधीमा धेरै काम भएको दाबी नगर प्रमुख जनक कुमार बोहराको छ । 

अस्तव्यस्त अवस्थाबाट लयमा ल्याउनै ६ महिना लाग्यो । आर्थिक भारको भुक्तानी र व्यभार त अझै तिर्न बाँकी छ । रपनि नगरपालिकाले कोल्टी बजार क्षेत्रलाई शहरको झल्को दिने गरि विकास गर्न खोजिएको देखिन्छ । सुविधा, सुरक्षा, संरचना र सरसफाइ सबैमा कोल्टी अब फेरिएको आभाष गर्छन्, व्यापारी सञ्जय रोकाया । 

दशक लामो समय देखि रोकाया कोल्टी बजारमा व्यापार गर्दै आएका छन् । तर दुई वर्ष यताको विकास गति हेर्दा कोल्टी बजार क्षेत्रको सुविधा र संरचनामा व्यापक फेरबदल देखिन्छ । ठूला घर बनेका छन् । प्रशासनीय भवन नै हेर्दा पनि लोभलाग्दो देखिन्छ । 
ढूंगा, टिन र सिलौटले छाएका भवन हराउने अवस्था छ । पाँचौ तलासम्मका घरहरु पनि कोल्टीमै बनेको अवस्था छ । सडक चिटिक्क परेका छन् । बजार क्षेत्रको सडक कालो पत्रे गरिएको छ । बजारमा रात्री कालिन सोलार बत्ति जोडिएका छन् । 

राम्रो चिया खाने होटल थिएनन् । बास बस्न सुविधा थिएन् । अब त्यो पुरानो भइसक्यो । अहिले नेपालगञ्ज धनगढीकै झल्को दिने सुविधा र संरचनाका होटल पसल कोल्टीमा खुलेको भन्नु हुन्छ, ओलिभ इको भेलेजका सञ्चालक जनेश भण्डारी । कोल्टी बजारको संरचना र केही सुविधाले कोल्टो फेर्दै गएकोमा भण्डारीपनि सहमत छन् । 

कोल्टी बाजुरा सदरमुकाम मार्तडी पछिको जिल्लाकै दोस्रो ठूलो बजार । व्यापार, व्यवसाय र मानव आवत जावतले दैनिक जसो चहलपहलले भइरहने गर्छ । बुढीनन्दा नगर पालिकाको केन्द्र र जिल्लाको एकमात्रै विमान स्थल पनि कोल्टीमा नै पर्छ । यही कारण पनि कोल्टी व्यापारी दृष्टीकोणमा बढी महत्व छ । 

बजारमा ८ हजार बढीको संख्यामा बसोबास छ । नजिकै धेरै गाउँ छन् । बजार क्षेत्र भित्रै चार वटा विद्यालय, एक वटा क्याम्पस तीन वटा निजी विद्यालय सञ्चालनमा छन् । खच्चडमा पानी बोकेर खाने समस्या हटेको छ । उजाड जस्तो देखिने बजार हरियाली र वृक्षारोपणले पनि कोल्टी फेरिएको जस्तो लाग्न थालेको छ । 

कुण्डा क्षेत्रको मुटु कोल्टीमा रहेको जनप्रकाश माविको अस्तव्यस्त व्यवस्थापन र बर्षौदेखिको जिर्ण संरचना समेत निर्माण कार्यमा गति लिन थालेको स्थानीय प्रदीपराज जैशीले बताएका छन् । ठेका हुने काम नहुने अवस्था थियो, दुताबासले बताउने रकम दिँदा पनि निर्माण कम्पनीको बेइमानीले निर्माण गति रोकियो, नयाँ नेतृत्व आएसँगै काम सुरु हुने गरि निर्माण प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् । 

स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीले डाक्टर भेटाएनन्, मेडिकलकै महँगो औषधी र ठूलो आर्थिक नोक्सानी बेहोरेर जिल्ला बाहिरकै उपचार गर्न बाध्य भए । तर हाल त्यो समस्या हटेको छ । तीन देखि पाँच जना चिकित्सक स्वास्थ्य केन्द्रमा खाली नै हुदैनन् । लामो समयपछि स्थायी दरबन्दीको डाक्टर कोल्टीमा कार्यरत छन् ।

हातखुट्टा भाँचीएको देखि अन्य बिशषेज्ञ सेवा पनि प्राथमिक स्वास्थ्य केन्द्रमै उपलब्ध हुने गरेको छ । आवश्यक आधुनिक औजार, उपकरण सहीतको मेसिन अभावमा उपचार सेवा अवरोध हुने र बाहिर रिफर गर्नु पर्ने बाध्यता भएपनि पुरानै अवस्थामा स्वास्थ्य संस्था नरहेको पालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले जानकारी दिएका छन् । 

कुण्डा क्षेत्रले बर्षौदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मिक प्रसुती सेवा सञ्चालन गरिएको छ । ‘चिकित्सक सेवा नियमित छ । आकस्मिक प्रसुती सेवा सुरु गरेका छौं, केही सयममै बिशषेज्ञ सेवा पनि सञ्चालनमा ल्याउँछौं’ बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले भने ।

कोल्टी प्राथमिक स्वास्थ्य संस्थामा उपचार सेवा लिनका लागि हुम्ला, मुगु र कालिकोटका विरामी पनि आउने गरेका छन् । कुनै बेला पालिकाको गाउँ धेरै टाढाको कुरा पालिकाको केन्द्रमै पानी र बिजुली, स्वास्थ्य र खाद्यन्न, फोन र इन्टरनेट कुनै सुविधा पाउनेमा आशंकै थियो । नागरिकले आक्रोश पोखिरहे, तर सुनुवाई नै भएन् ।  

पछिल्लो समय त्यसमा व्यापक सुधार भएको छ । खानेपानी सहज उपलब्ध भइरहेको छ । विजुली भरपर्दो नभएपनि नियमित छ । राष्ट्रिय प्रशारण लाइन विस्तारको काम पनि तिब्र गतिमै अघि बढाइएको छ । कोल्टी सहीतका गाउँ बस्तीमै फोर जी इन्टरनेट सुविधा समेत उपलब्ध भइरहेको अवस्था छ । 

बुढीनन्दा नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । एक बहुप्राविधिक शिक्षालय खोल्न आवश्यक थालेको छ । ५० प्रतिशत बजेट नै शिक्षा क्षेत्रमा लगानी गरिएको छ । समाजको मुल संरचना नै बदल्न शिक्षा पहिलो आवश्यकता भएकोले लगानी गरिएको बताएका छन् । 

पालिका भित्रका सबै विद्यालय धुलो मुक्त कक्षा कोठा, सुन्दर फूलवारी सहीत, खेल मैदान सुविधाका विद्यालय बनाउने तयारी पालिकाको छ । शिक्षकको नियमित उपस्थिति र निगरानी गर्ने संयन्त्र नै निर्माण गरिएको छ । शैक्षिक गुणस्तर समेत सुधार भएको छ । यो वर्षको राष्ट्रपति रनिङशिल्ड पनि कोल्टीमै आयोजना हुने छ । 

मुक्त हलिया, खलिया, मुस्लीम, जनजाती र विपन्न परिवारको १।१ जना गरी वार्षिक पाँच जनालाई पालिकाले नै प्राविधिक शिक्षा पढाउने गरी बजेट विनियोजन गरेको छ । पालिका भित्रै लोकसेवा कक्षा, प्रत्येक विद्यालयमा इन्टरनेटको सुविधा जडान थालेको छ ।
कोल्टीमा गेटा आँखा अस्पतालसँगको सहकार्यमा आँखा उपचार समेत समेत सुरु गरिएको छ । बुढीनन्दाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिने भएको छ। कोल्टी क्षेत्रमा समेत राम्रो इन्टरनेट सुविधा नभएको अवस्थाको अन्त्य गर्दै सबै सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान थालिएको छ ।   

खाद्यन्न समस्या, स्वास्थ्य सुधार, खानेपानीको अभाव जस्ता समस्या समाधानमा नगर सरकार प्रतिवद्ध रहेको उपप्रमुख रामबहादुर बोहराले बताएका छन् । पालिकामा जनताका गुनासा सुन्न हेलो मेयर डेक्स समेत राखिएको छ । जस्मा सानादेखि ठूला समस्या फोन सम्पर्क मार्फत जानकारीमा राख्ने र सम्बन्धीत पक्षबाट समाधान गराउने अभ्यास गरिदै आएको छ ।

यता समाज जोड्न सहकर्मी समाज पनि पालिकाभित्र १० वटा वडा छन् । ती वडामा सबैजसो समेटिने गरी टोल सुधार समिति गठन गरिएको छ । एक वडामा ६ वटा टोल समिति छन्। पालिकाभरिका ६० टोल समितिमा ६ हजारको संख्यामा सदस्य आबद्ध छन् । टोल समिति कम्तीमा ६० जना सदस्य संख्याका छन् । टोलमा ‘एक घर एक सदस्य’को अवधारणा छ । त्यसमा पनि महिलालाई प्राथमिकतामा राख्ने गरिएको छ । 

सामाजिक सद्भाव र विकासमा सहकार्य जोड्न नगरपालिकाले थालेको सहकर्मी समाज अभियानले नै राजनीतिक आस्था, सिद्धान्त र विचारमाथि उठेर विकासमा सहकार्य र श्रमदानको अवधारणा विकास गरिएको छ । ढिलो गरि भएपनि बुढीनन्दाको विकास लहरले नागरिकमा आश पलाएको छ । 

प्रतिक्रिया दिनुहोस