शुक्रबार, ०४ असोज २०८१

देउवाको ‘आशीर्वाद’ले जितेका खगराजको मुख्यमन्त्री बन्ने ‘च्याप्टर क्लोज, दलको नेतामा धामी

मन्त्री र मन्त्री मण्डल नै फेरिने चर्चा

धनगढी : तीनपटक प्रतिनिधि सभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित नेता हुन्, खगराज भट्टको मुख्य मन्त्री बन्ने सपना पनि अधुरै रहेको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका भट्ट यसपटकको संसदीय निर्वाचनमा डडेल्धुरा प्रदेश सभा ‘क’बाट चुनाव जितेका थिए ।

डडेल्धुरा प्रदेश ‘क’ बाट निर्वाचित भट्टलाई १७ पुस २०७९ मा बसेको सुदूरपश्चिम माओवादी केन्द्रको संसदीय दलको बैठकले दलकोे नेतामा सर्वसम्मत निर्वाचित गरेको थियो ।

खगराज तत्कालीन समयमा माओवादी संसदीय दलको नेता बन्दा पनि विरोध भएको थियो । त्यसबेला उनको विरुद्धमा प्रदेश सभा सदस्य ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामीले दाबी गरेका थिए ।

तर, त्यसबेला रावल र धामीले भट्टलाई समर्थन गरेपछि नेता चयन गर्न सहमति जुटेको थियो । सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सदस्य छन् । त्यो बेला मुख्यमन्त्री बन्न चाहेका भट्ट बन्नै पाएनन् । तर पनि डडेल्धुराबाट निर्वाचित भएसँगै दलको नेता समेत बनेका भट्टको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। देउवाको आश्वासनले पनि उनी मुख्यमन्त्री बन्ने आकलन गरिएको थियो ।

तर, निर्वाचन पश्चात केन्द्रीय सरकार बनाउँदा बाम लोकतान्त्रिक गठबन्धन टुट्यो। र, फलस्वरुप सुदूरपश्चिम एमालेको भागमा पर्यो । त्यति बेला खगराजको मुख्यमन्त्री बन्ने सपना पूरा हुन सकेन् । नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए। तर, आलोपालो सहमतिका कारण रावलपछिको मुख्यमन्त्रीको रूपमा भट्टलाई नै हेरिएको थियो।

केन्द्रमा गठबन्धन फेरिएसँगै राजनीतिक घटनाक्रमले सुदूरपश्चिममा माओवादी–काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेपछि काँग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

तर, पनि माओवादी र काँग्रेसको सहमती अनुसार आधाआधा कार्यकाल सरकार चलाउने भनेपछि भट्टलाई मुख्यमन्त्री हुने अपेक्षा जिवितै थियो। तर अब भने उनको त्यो सपना तुहिएको छ । आज (शुक्रबार) उनलाई माओवादीको दलको नेताबाटै हटाइएको छ । 
केही दिनअघि मात्रै सुदूरपश्चिम प्रदेश सभाकाको माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका थिए ।

टोलीमा सहभागी अन्य माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल, शिवसिंह ओली र लक्ष्मी विकसहितले सुदूरपश्चिम सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

राम्रो काम गर्न नसकेको भन्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्री झपट साउदलाई फिर्ता बोलाउनु पर्ने उनीहरूको माग थियो । बहुमत प्रदेश सभा सदस्यहरूको गुनासो सुनिसकेपछि प्रचण्डले राष्ट्रिय सभा निर्वाचन लगत्तैसरकार हेरफेरको सङ्केत गरेका थिए ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन भएसँगै खगराजको मुख्यमन्त्री बन्ने ‘च्याप्टर क्लोज’ भएको हो ।

आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो । यसअघि दलको नेता रहेका खगराजलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको छ ।

खगराजलाई हटाएर मानबहादुरलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन्। ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एकजना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवीमाल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । आजको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जानकी देवी कुँवर भने उपस्थित भएका थिएनन् ।

धामी यसअघि प्रमुख सचेतक थिए । दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन् । गुट फेरेर नारायणकाजी टिममा गएपछि खगराजलाई निकालिएको बताइन्छ । खगराजले अब पार्टीमा सो विषय समिक्षा गरिने बताएका छन् ।
यो सँगै सुदूरपश्चिममा सरकार तथा मन्त्रीमण्डल फेरबदल हुने पनि चर्चा थालिएको छ । अब सुदूरपश्चिम सरकारका मन्त्रीहरु पनि परिवर्तन हुने र मुख्यमन्त्रीसमेत अप्ठ्यारोमा पर्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस