शुक्रबार, ०४ असोज २०८१

एमाले बाजुराको जिल्ला अधिवेशन माघ २६ मा नहुने, फागुनमा सार्ने तयारी

बाजुरा : नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन सर्ने निश्चित भएको छ । माघ २६ र २७ गते कोल्टीमा गर्ने गरि तोकिएको मितिमा नहुने निश्चित भएको छ । पार्टी विधान अनुसार अधिवेशन सञ्चालन नभएको विरोधमा उजुरी परेपछि अधिवेशन अनिश्चित जस्तै बनेको हो ।

गएको मंसिर १८ गते बसेको जिल्ला कमिटी बैठकले सर्वसहमतिका साथ निवर्तमान अध्यक्ष कालीबहादुर शाहीकै नेतृत्वमा अधिवेशन सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यो निर्णय पार्टी प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, सचिव रणबहादुर चन्द्र, जिल्ला अध्यक्ष एव प्रदेश उपाध्यक्ष कालीबहादुर शाही सहीत, केन्द्रीय सदस्य लालबहादुर थापा, भैरवबहादुर सिंह, दयालबहादुर शाही सहीतले समर्थन गरेका थिए । 

तर नेकपा एमालेको पार्टी विधान अनुसार माथिल्लो कमिटीमा पद बाहल गरेको वा सपथ ग्रहण गरिसकेको व्यक्तिको तल्लो कमिटीमा रहेको पद स्वतह खारेज हुने व्यजस्था विरुद्धको निर्णय मान्न नसकिने भन्दै पार्टी सचिव भरत थापाले संगठन विभागमा उजुरी दिएपछि विवाद सुरु भएको हो । सुरुमा पार्टी महासचिव शंकर पोखरेलले समेत सहमतिमा अधिवेशन हुँदा पुरानै कमिटीले महिनादिन भित्र गर्न सके राम्रो भन्ने समर्थन दिएको दाबी पनि एक पक्षले गर्दै आएको छ । 

आफूले नै सहमति गरेको निर्णयलाई मान्न नसकिने र विधी विपरित पार्टी सञ्चालन गर्न नहुने अडान सहीत सचिव थापाले दिएको उजुरीको सुनुवाईमा समेत ढिलाई भएको छ । कमजोरी दुबै पक्षबाट भएका होलान्, त्यसो भन्दैमा विधि विपरित अधिवेशन हुनु पर्छ भन्ने उदेश्यले नै उजुरी दिएको सचिव थापाले स्वीकार गरेका छन् । यता अधिवेशनका लागि प्रदेश कमिटीले सचिव संगठन विभागलाई नै विधान अनुसारको राय दिन आग्रह सहीत सुझाव पेश गरिसकेको प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताएका छन् । 

सबै प्रक्रिया र विधीका विषयमा आपसी समझदारी हुन नसकेपछि आठौं अधिवेशनको मिति अन्योल बनेको हो । वर्तमान अध्यक्ष कालीबहादुर शाही प्रदेश उपाध्यक्षमा निर्वाचित भइसकेका छन् । भने उपाध्यक्ष भरतबहादुर बुढा सदस्यमा निर्वाचित भइसकेका छन् । पदाधिकारीमा सचिव भरत थापा मात्रै सिनियर छन् । 

तर पार्टी विधानमा अध्यक्ष र उपाध्यक्ष नभएको हकमा सचिवले नै पार्टीको कार्यबाहक हुने, वा अध्यक्षता गर्ने भन्ने प्रष्ट व्यवस्था भने कतै उल्लेख गरिएको छैन् । अब दुबै पक्षलाई सहज हुने गरी सचिव थापालाई नै संयोजक तोकेर अधिवेशन गर्ने वा अर्को कुनै जेष्ठ वा वरिष्ठ सदस्यलाई तोकेर जाने भन्नेमा समझदारी गरेर अधिवेशन गर्ने आन्तरिक तयारी भइरहेको श्रोतको दाबी छ । 

पार्टी संगठन विभागले पनि विधी विधानलाई ध्यानमा राखेर नाम नै तोकेर पत्र नपठाएर सहमतिका साथ बैठक सञ्चालन गर्न र अधिवेशन सम्पन्न पत्राचारको तयारी गरेको छ । श्रोतका अनुसार फागुन १८ र १९ गतेको मिति तोकेर अधिवेशन गर्ने तयारी थालिएको बुझिनमा आएको छ । 

भरत थापा हाल जिल्लामा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा निकट मानिन्छन् । भने कालीबहादुर शाही केन्द्रीय सदस्य लालबहादुर थापा निकट हुन् । पाँच सदस्यीय पदाधिकारीमा पनि सचिव थापा कर्णबहादुर थापा र उपसचिव जनक कुमार बोहरा र हरिबहादुर रोकाया लालबहादुर थापाको समर्थनमा छन् । 

प्रदेश उपाध्यक्ष कालीबहादुर शाहीले सर्वसम्मत निर्णय हुँदा मात्रै माघ २६ मा अधिवेशन हुने भए मैले नै गर्छु भनेको हो, अर्को व्यक्ति तोकेर नै अधिवेशन गराउन सहजिकरण गर्ने पक्षमा आफू लाग्ने बताएका छन् । उहाँले गुट र समूहको कुरा नभई सहमतिको कुरालाई लिएर निर्णय गरिएको विषय धेरै उचाल्न नहुने समेत बताएका छन् ।

हाल नेकपा एमाले जिल्ला कमिटी १३१ सदस्य रहेकोमा केहीलाई कारवाही र विदाई गरिएको छ । ती मध्ये १२१ बढी सदस्य अझै कमिटीमा छन् । त्यो कमिटीबाट निर्णय गर्दा पनि कालीबहादुर शाही र लालबहादुर थापाको समर्थनमा सारिएको व्यक्तिले नै संयोजक पाउने अवस्था छ । 

एमाले जिल्ला कमिटी भित्र देखिएको समस्यालाई सहज समाधान गर्न नसकिए चरमगुटबन्दी हुने जोखिम देखिन्छ । स्थानीय तहका जनप्रतिनिधीले कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने एमालेले अन्तरपार्टी निर्देशन जारी गरेपछि अध्यक्षका लागि तीन जनाबीचको प्रतिस्पर्धा देखिएको छ । 

अध्यक्षका लागि लालबहादुर ओली र भरत थापा मुलधारमा देखिएपनि रंगमान शाही समेत बीचमा थपिएका छन् । शाही एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत हुन् । सहमतिको खाकामा समेत तीनै जनाले अटाउने र व्याक हुने अवस्था नआए अन्तिममा चुनाव हुने र दुई समूहमा नेता कार्यकर्ता विभाजन हुने अवस्था आउने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस