शुक्रबार, ०४ असोज २०८१

बाजुरा सहित सुदूरपश्चिमेलीको साँस्कृतिक चाड भुवा पर्व सुरु

बाजुरा : बाजुरा सहीत सुदूरपश्चिमेली बासीको साँस्कृतिक पर्व भुवा सुरु भएको छ । बाजुरा जिल्लाबा स्थानीयले दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व आजबाट विधिवत् रूपमा सुरु भएको छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।  भुवा पर्व पुषे औसीका दिनबाट सुरु हुन्छ ।

पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने चलन रहेको छ । जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ ।  तीनदेखि पाँचदिनसम्म मनाइने पर्व जिल्लाका ९ वटै स्थानीय तहमा मनाईन्छ ।

साविकको बह्मतोला, मार्तडी, आटीचौर, बाह्रबिस, जुगाडा, कुल्देवमाण्डौ लगायतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने प्रचलन रहेको छ । पौराणिक कालमा पाण्डव र कौरव बीच भएको लडाइको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको छ ।

यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ ।

भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रदर्शन गर्ने प्रचलन रहेको छ । भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ ।

पुरुषहरूको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो समयमा महिलाहरूले पनि हातमा तरबार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान्, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ ।

भुवा पर्वका अवसरमा बह्मातोलामा हरिनो पर्व मनाइने भएको छ । हरिनोमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रदर्शनसँगै त्यो अवस्थामा साथ दिने जंगली जनावरका तस्बिरहरू पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ ।

जिल्ला बासीको पहिचान सँग जोडिएको पर्व अवधिभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरा लगायत सुदुरपश्चिमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा पनि मनाउने प्रचलन रहेको छ । भुवा पर्वको अवसरमा आज सुदूरपश्चिम सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस