शुक्रबार, ०४ असोज २०८१

जगन्नाथका सबै गाउँ बस्तीमा विजुली

विद्यार्थीको पढाई र स्थानीयलाई दैनिक कार्यबोझमा सहज

बाजुरा : भौगोलिक विकटता र भूगोलको असहज अवस्था हेर्दा जगन्नाथ सर्वाधिक विकट र दुर्गममा पर्छ । जिल्ला सदरमुकाम मार्तडी भन्दा दुरीले पनि निकै टाढा । जताततै पहाड, त्यसैमा पनि चट्टान सहीतको कडा पहाडले बनेको भूगोल केही गर्न समेत सहज छैन् । उकालो बाटो, केही गाउँ बाहेक सुख्खा अनि उजाड लाग्ने प्राकृतिक बनावट नै जटिल देखिन्छ । लाग्छ विकास गर्न पनि कठिन नै छ । 

तर त्यही विकटताका बीच पनि विकासका पूर्वाधार निर्माणले जगन्नाथ अरुभन्दा अब्बल सावित हुने लयमा देखिन्छ । गाउँ गाउँमा कच्ची भएपनि बाटो पुगेको छ । प्रत्येक वडा कार्यालय र स्वास्थ्य केन्द्रका पक्की भवन निर्माण भएका छन् । अचम्म लाग्ने कुरा प्रत्येक घरघरमा विजुली पुगेको छ । 

पालिकामा बसोबास गर्ने कुनै परिवार उज्यालो सुविधाबाट वञ्चित छैन् । सबै घरमा विजुली बत्तीको पहुँच पुगेको बाजुराका नौ वटा स्थानीय तह मध्ये जगन्नाथ नै एक्लो पालिका हो । त्यो पनि आफैले पालिका भित्रै विद्युत उत्पादन गरेर घरघरमा उज्यालोको पुहँच पुर्याएको छ । न लोडसेडिङ्गको चिन्ता नत अनियमित हुने डर । 

एक गाउँ र टोलबाट अर्को टोल बस्ती पुग्न मात्रै दिन लाग्ने अवस्था छ । तरपनि पालिका र सम्बन्धी विद्युत आयोजना अनि स्थानीय स्वयमको सक्रियतामा कुनै गाउँ र टोल बाँकी छैनन्, विद्युतको लाइन विस्तार गर्न । कसरी संभव भयो होला, पुग्नेहरुले प्रश्न गर्ने गरेका छन् । तर जगन्नाथमा त्यो सहज गरिएको छ । संभव भएको छ । 

पालिकामा तीन वटा विद्युत आयोजना निर्माण गरिएका छन् । आफ्नो पालिकालाई पुगेर छिमेकी पालिकालाई समेत विद्युत सेवा विस्तार सम्झौता गरेर वितरण गरिएको भन्नु हुन्छ गाउँपालिका अध्यक्ष कालीबहादुर शाही । पालिकामा ४ सय किलोवाट विद्युत उत्पादन भइरहेको छ ।

गाउँपालिकामा हाल १० हजार १ सय ५८ को बसोबास छ । ती मध्ये ९ हजार ९ सय बढीले विद्युत सेवा उपयोग गरिरहेको तथ्याक नै गाउँपालिकासँग छ । गोठ खर्क र अपवादमा गाउँबाट अगल भएर बास बस्ने परिवार बाहेक सबैले विजुली उपयोग गर्न पाएको भन्नु हुन्छ गाउँपालिकाका प्रशासन प्रमुख राजेन्द्र जोशी । सबै घरमा विजुली पुगेको र विजुलीबाटै धेरै कामको सहजता प्राप्त गर्ने दुर्गम क्षेत्रमा पालिका मध्ये जगन्नाथ शिर्ष स्थानमा नै होला भन्नु हुन्छ, प्रमुख जोशी ।

पालिकामा रहेका भुका खोला १ सय किलोवाट क्षमताको छ । र २०७२ सालमै निर्माण गरिएको हो । २ सय किलोवाट क्षमताको जुड्डी विद्युत आयोजना २०७३ र १ सय वाट क्षमताको बड्डी विद्युत आयोजना २०७२ सालमै निर्माण गरिएका हुन् । तर लाइन विस्तार, सबै घरमा विलुजीको पुहँच, विग्रीएपछि मेसिन खरिद, नहर मर्मत देखि सबै कार्यमा गाउँपालिकाले नै खर्च व्यवस्थापनमा सहयोग र सहकार्य गर्ने गरेको छ ।

विद्युत सेवाको पहुँच विस्तारमा जगन्नाथ शिर्ष स्थानमा रहेको नेकपा माओवादी केन्द्रका नेता महेश शाहीले बताए । अपवाद बाहेक सबै घरमा विजुली पुगेको छ । गाउँ गाउँमा कुटानी पीसानी मिल सञ्चालन छन् । विद्यार्थीलाई पढ्न, महिलालाई धान कुट्न, पानी घट्टमा पुगेर पीसानी गर्न सबैप्रकारको समस्याबाट मुक्त भएको अवस्था छ, नयाँ प्रविधी माबाईल सहीतको प्रयोगमा समेत सहज भएको छ, शाहीले थप्नु भयो ।

पालिकाले बचेको विजुली बुढीनन्दा १ र स्वामिकात्र्तिक खापर गाउँपालिका १, २, ३ र ४ लाई विक्री गरेको छ । त्योबाट पनि विद्युत उपभोक्ता समिति मार्फत आम्दानी भएको जुड्डीगाड विद्युत आयोजनाका कर्मचारी सोविन्द्र शाहीले बताए । विद्युत जलाए वापत न्यूनतम सेवा शुल्क १ सय र प्रति युनिट १० रुपैया लिने गरिएको छ ।

२० बढी कुटानी पीसानी मिल सञ्चालन छन् । झरो बाल्नु पर्दैन्, सल्लो सल्काउनु पर्दैन्, मट्टीलेत किनेर टुकी बाल्नु पर्ने अवस्थाको नै अन्त्य भएको भन्नु हुन्छ, जगन्नाथ गाउँपालिका ६ का आजीत कामी । गाडी पुग्लान, विजुली बत्ती जल्ला भन्ने सोचेकै थिएन, सबै आँखैले देख्न पाइयो, ७० नाघेका कामीले दिनरात नै उज्यालो हुने काम भएकोमा खुसी व्यक्त गरे ।  

महिलालाई नियमित घट्टका लागि कर्णालीको छाल पुग्नु पर्ने समस्या हटेको छ । विद्यार्थीलाई पढाइमा सहज भएको छ । कुटानी पीसानी मिलले दैनिक जीवन सञ्चालनमा सहज मात्रै नभई, कार्य बोध कम भएको र रोजगारी पनि सिर्जना भएको भन्नु हुन्छ, कालीबहादुर धराला । धराला स्वयम कुटानी पीसानी मिलका सञ्चालक हुन् ।

तीन वटा विद्युत आयोजनामै २० जना बढीले काम पाएका छन् । २० बढी मिलमा ५० जना बढी युवाहरु काम गर्छन् । धेरै परिवारले रोजगारीको सिर्जना विद्युत सेवा विस्तारसँगै भएको भन्नु हुन्छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाही । गाउँपालिका उपाध्यक्ष मरुकला विष्टले धान कुट्नु पर्ने, घट्ट जानु पर्ने र राती उठेर अँध्यरोमै काम गर्नु पर्ने महिला दिदीबहिनीका दुख घटेको देख्दा निकै खुसी लागेको बताईन् ।

विजुली सुविधा हेर्दा जगन्नाथ शहर भन्दा सुविधायुक्त छ । अधिकांशका घरमा चिसोको समय हिटर बालेको देखिन्छ । घरमा टेलिभिजन जडान गरिएका छन् । पानी तताउने इलोक्ट्रनिक जगहरु नभएका घरहरु छैन् । सहजको जीवन, सुविधाको जीवन अचेल गाउँमै भेटिने गरेको खुसी सुनाइन, सुर्जा विष्टले । 

जमिन मात्रै समथर हो । तराईतिरको । गाडी बढी छन्, घर अग्ला छन्, त्यही फरक हो । ती बाहेक गाउँ पनि विजुली जलेकै छन्, गाडी चलेकै छन्, केही तनाब लाग्दैन्, आजभोली काठमाडौं पढाइ सकाएर गाउँ फर्किएकाहरुले निर्धक्क भन्ने गरेका छन् । मोबाइल चल्दैनन्, की, नेट हुन्नकी, विजुली चार्ज सुविधा छैनन्, की भन्ने तनाब जगन्नाथमा छैन्, यति भए गाउँमा बसेपनि शहरमा बसेपनि केही फरक पर्दैन र तनाब पनि हुदैन भन्छन्, स्थानीय रणबहादुर बमको भनाई छ ।

स्थानीय पनि खुसी छन् । न विद्युत जाने डर । न विद्युतको महशुस नै बढी आउने चिन्ता । विग्रीए आयोजनाले श्रोत व्यवस्थापन गरेकै छन् । त्यो अपुग भए गाउँपालिकाले अनुदान दिने गरेकै छ । विजुली सुविधाले दाउराको खपत समेत कम हुदै गएको अवस्था छ । यो विकास गतिले स्थानीय पनि खुसी देखिन्छन् । 

बाजुराका अझै धेरै स्थानीय तहका गाउँमा विद्युत सेवा पुगेकै छैन् । पालिकाका केन्द्रमा समेत प्रभावकारी विद्युत सेवा छैन् । विद्युत सेवा विस्तार र सहज पहुँच पुर्याउनेमा जगन्नाथ गाउँपालिका भने अरु पालिका भन्दा निकै माथि देखिएको छ । पालिका सहीतका सरकारी कार्यालयमा इहाजिरी, विद्यालयमा कम्प्यूटर कक्षा, गाउँमा फोन र सहज इन्टरनेट सुविधा  विद्युत सेवाकै कारण सहज भएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस