आइतबार, ०७ पुष २०८१

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि कोल्टीमा हुने

बाजुरा : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला खेलकुद समितिले गरेको निर्णय अनुसार माघ १५ देखि १८ गतेसम्म चार दिन बुढीनन्दा नगरपालिकाको कोल्टीमा शिल्ड आयोजना गर्ने निर्णय गरेको हो ।

नौ वटै स्थानीय तहले पालिका स्तरीय शिल्ड समापन गरेसँगै खेलकुद समितिले जिल्ला स्तरीय प्रतियोगिताको मिति घोषणा गरेको अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् । अघिल्लो पटक खप्तड छेडेहद गाउँपालिका स्थित दशरथ माविको खेल मैदानमा आयोजना गरिएको शिल्ड यो पटक भने जनप्रकाश मावि कोल्टीमा आयोजना गरिने भएको छ । 

पालिका स्तरीय सिल्डबाट छनोट भएका खेलाडीहरुले मात्रै जिल्ला तहको खेलमा भाग लिन पाउने छन् । नौ वटा पालिका बीच प्रतिस्पर्धा गराइने भएको छ । पालिका स्तरीय छनोटबाट जितेका खेलाडीले जिल्लाको प्रतिनिधीत्व गर्दै प्रदेश स्तरीय शिल्डमा भाग लिन पाउने छन् । 

१८ वर्षमुनिका कक्षा १२ सम्म नियमित अध्ययन गर्ने छात्रछात्रा खेलाडी मात्रै प्रतियोगितामा सहभागि गराईने छ । खेलाडीलाई अनिवार्य १ प्रतिफोटो, जन्मदर्ताको प्रतिलिपी सहीत खेलाडीको फारम अनिवार्य भरिएको हुनुपर्ने, टिम खेलमा एउटा ईभेन्टमा मात्र सहभागि हुने पाउने भनिएको छ ।

एथ्लेष्टिक खेलाडीले १ फिल्ड १ ट्याक, २ फिल्ड २ ट्याक मात्र सहभागि हुन पाउने, मार्सलआर्टको कुनै पनि विधाका प्रशिक्षक विना खेलाडी सहभागि हुन नपाउने, प्रत्येक पालिकाका प्रशिक्षक र खेलाडीहरुको पहिचानको एउटै पोशाक, स्पोर्टस जुक्ता हुनुपर्ने र कबडी खेलाडीलाई निक्याप र राष्ट्रिय झण्डा, पालिकाको व्यानर सहीत सहभागि हुनुपर्ने बाजुरा जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापाले बताएका छन् । 

बुढीनन्दा नगरपालिका कोल्टीमा सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अब तीब्र पारिने भएको छ । ९ वटै स्थानीय तहमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस